कथा : प्रेम र ध्यान

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline0

-सानु घिमिरे ‘जोत्सना’

बिहानको योगा सकेर करेसाबारीबाट टिपेर ल्याएको ताजा जडीबुटीको चिया बनाएर पिउँदै थिएँ । बार्दलीको पल्लो पट्टिको घना जङ्गलमा चराहरू चिरबिर गरेर बिहानीलाई बोलाउँदै थिएँ । ब्लु माउन्टेनलाई अँगालो मार्दै गेरु रङ्गको सूर्य विस्तारै गाढा सुनौलो रङ्गमा परिवर्तन हुँदै थियो । लाग्थ्यो, प्रकृतिले एकाबिहानै एउटा विशाल क्यानभासमा सबैले आ–आफ्नै अर्थ लगाउन मिल्नेखालको अमूर्त पेन्टिङ बनाउँदै थिइन् । म आफैँभित्र मग्न थिएँ ।

यहाँ फोनको रिसेप्सन छैन । तर, स्याटलाइटबाट जोडेको ल्यान्डलाइन र इन्टरनेट छ । ल्यान्डलाइन फोनको कर्कश आवाज मेरो कानमा ठोक्कियो । आजकल, काम नपरी मान्छेहरू मलाई फोन गर्दैनन् । कामकै फोन होला भनेर उठाएँ, डाक्टर सुधाको फोन रहिछ । उनले भनिन्– ‘मैले सुल्झाउन नसकेको एउटा केस छ, तिमी मलाई सहयोग गर ।’

सिड्नीको नेपाली समुदायमा सुविख्यात मानसिक रोग विशेषज्ञ डा. सुधा राई । २० वर्षदेखि निरन्तर मनोरोगीहरूलाई निको पारिरहेकी उनले पनि सुल्झाउन नसकेको केस भनेपछि भारी हुने नै भयो ।

‘दुई वर्षदेखि लगातार डिप्रेशनमा रहेकी लुनाले तीनपल्ट सुसाइड गर्ने प्रयास गरिसकेकी छ । आधुनिक चिकित्साको कुनै थेरापीले उसलाई छोएको छैन । एक पल्ट तिमी अध्यात्मको शक्तिले कोसिस गरी हेर । तिमी आफैँ डाक्टर हौ, म तिमीलाई विश्वास गर्छु । ”

मैले एकछिन सोचेर भने, “ग्यारेन्टी दिन सक्दिनँ, तर म प्रयास गर्नेछु । नेक्स्ट अफ किनलाई कन्सेन्ट फर्म साइन गर्न लगाईवरि एक महिनाका लागि पठाइदेऊ । मसँग जर्मन ग्रुप छ, एक जनालाई ‘बडी’ बनाएर म एक्सपेरिमेन्ट गर्नेछु । ”

कलिलो बिहान यति भारी भएर आउला भनेर मैले सोचेको थिइनँ । फोन राखेँ ।

ज्याकले हाम्रो बारीमा एक फन्को लगाइवरि एउटा रातो गुराँस र केही सुन्तला टिपेर ल्याएको रहेछ । मेरो हातमा गुराँस दिँदै उसले ओठमा एउटा गहिरो चुम्बन गरेर भन्यो– “गुड मर्निङ स्विट हार्ट । ’ मैले उसलाई लुनाको बारेमा बताएँ ।

ग्र्यानी फ्ल्याटमा तीन जना जर्मन केटा र दुई जना जर्मन केटी एक हप्तादेखि बसिरहेका छन्, उठेर कल्यङमल्याङ गर्दैछन् । हामी बसेको घरमा एउटा जापानिज केटी साकुरा र नेपाली भाइ बद्री बस्छन्, उनीहरूको चालचुल केही पनि सुनिएको छैन ।

केही बेरपछि ब्रेकफास्ट टेबलमा बस्दै मैले अङ्ग्रेजीमा भने– “आज लुना आउनेछिन्, गहिरो डिप्रेसनमा छिन्, हामी सबैले उनलाई सहयोग गर्नु पर्छ । एलिना ! तिमी उसलाई आफ्नो बडी बनाएर हरदम आफ्नो साथ राख र सबै जना मिलेर उसलाई प्रेम र ध्यान सिकाउँदै जाऊ । सबैले स्विकारोक्तिमा एस भने । एक दुईवटा जोक र हिजो रातिको ध्यानको अनुभव साटासाट गर्दै हामीले ब्रेकफास्ट सिध्यायौँ ।

बिहानको ध्यान सकेर हामी सबैजनाले बारीमा काम गर्यौँ, कसैले तरकारी टिप्यौँ, कसैले फलफूलका रुख गोड्यौँ, कसैले फूलमा पानी हाल्यौँ त कसैले तबलामा गएर घोडाको स्याहार गर्यौँ ।

बद्रीले आएर भन्यो– “आज होर्स राइडिङका लागि आठ जनाले बुकिङ गरेको छन् । ’ हाम्रो १५० एकडको प्रोपर्टीमा होर्स राइडिङ आयआर्जनको प्रमुख स्रोत बनेको छ । कसैले झरनानेर पिकनिक खानका लागि बुकिङ गर्छन् त कोहीकोही क्यम्पिङ गर्ने भनेर पनि आउँछन् । आध्यात्मिक केन्द्र भएकाले म र ज्याक ध्यान गर्ने मान्छेलाई विशेष प्राथमिकता दिन्छौँ ।

ठीक दुई बजे कारको आवाज सुनियो । लुना र उसको पति कारबाट निस्किए । एलिनाले उनीहरूलाई स्वागत गरी । औपचारिकताका केही कागजहरू साइन गराई । लुनाको देब्रे हातको नाडीमा एउटा ब्यान्डेज थियो । ऊ आफ्नो सर्टको बाहुलाले त्यसलाई छोप्ने असफल प्रयास गरिरहेकी थिई । मैले झ्यालबाट यी सबै कुरा नियालिरहेकी थिएँ ।

लुना भित्र आई, उसको श्रीमान फर्कियो ।

चार बजेको ध्यानमा लुना, एलिना, अन्य जर्मनहरू, साकुरा, बद्री र ज्याक सबै जना उपस्थित थिए । कुण्डलिनी ध्यान सुरु गर्नु अगाडि मैले लुनालाई सोधेँ– तिम्रो हातमा ब्यान्डेज किन छ ?

लुनाले डराएको आवाजमा भनी– “एक हप्ताअगाडि मलाई एकदमै मर्न मन थियो, किचेनको चक्कुले हात काटे, गल्ती गरेछु,” त्यति भनेर रोई ।

एकछिनपछि मैले लुनाका लागि कुण्डलिनी ध्यानको विधि भने र हामी सबैले झुमीझुमी कुण्डलिनी ध्यान गयांै । कुण्डलिनी ध्यानमा लुना त्यति खुल्न सकिन ।

साँझमा म लुनाको हात सम्झिँदै थिएँ र पूर्वजन्मको झझल्को जस्तो लाग्ने गरी म आफ्नै विगतमा एक पटक पुगिहालेँ ।

महाराजगञ्ज क्याम्पसमा म एमबीबीएस पढ्दै थिएँ । धनकुटामा हार्डवेयर पसल खोलेर बसेका मेरा व्यापारी बाबालाई छोरीलाई डाक्टर बनाउने ठूलो रहर थियो । म एक्ली सन्तान, त्यहाँमाथि छोरी । छोरा पाइन भनेर बाबालाई घरबाट अर्काे विवाह गर्न धेरै दबाब दिइएको थियो । बाबाले भन्नुहुन्थ्यो अरे “यो मेरो छोरा पनि हो, छोरी पनि हो” ।

बाबाको इच्छा र स्वाभिमानलाई मैले एमबीबीएसमा पहिलो स्थानमा नाम निकालेर उचो बनाएकी थिएँ । त्यसपछि म छोरी भएर जन्मिएकोमा कसैलाई कुनै पश्चाताप थिएन ।

मेरो एकदमै सफल जिन्दगीमा प्रेमजस्तो लाग्ने कुराले एकाएक भुइँचालो ल्याइदिएको थियो । मभन्दा एक ब्याच सिनियर अविनाशसँग प्रेममा परेपछि मलाई पढ्न मन लाग्न छोडेको थियो । प्रेमिका हुनुको हैसियतमा मैले जति समय र भाउ खोज्थेँ, अविनाशले मलाई त्यति नै इन्कार गर्दै गइरहेको थियो । मेरो फोन उसले उठाएन भने, मेरो मेसेजको रिप्लाई गरेन भने म बहुलाइहाल्थेँ । उसलाई नानाथरि गाली गर्न थाल्थेँ । मैले अविनाशको अफेयर निलिमासँग छ भन्ने गाइँगुइँ हल्ला पनि सुनेकी थिएँ । असुरक्षाको भावले म जलिरहेकी थिएँ ।

त्यो दिनभरि उसले मेरो फोन उठाएको थिएन । मैले होस्टेलको कोठामा एउटा चक्कुले आफ्नो देब्रे हातको नाडी काटेँ । रगत चुहुन थाल्यो । त्यसको फोटो मोबाइलले खिचेर अविनाशलाई पठाएँ । अहँ ! अविनाशको फोन अथवा म्यासेज केही पनि आएन । हातलाई अझ गहिरो काट्छु भनेर दोस्रो पल्ट चक्कु उठाउँदा मलाई त्यो पापीका लागि म किन मर्नु ? बरु म त्यसलाई गएर गाली गर्छु र ब्रेकअप दिन्छु भन्ने लाग्यो ।

त्यसपछि मैले हातमा ब्यान्डेज लगाएँ र कोठाबाट निस्किए । महाराजगन्जबाट बानेश्वर जाने गाडी चढे । जति कोसिस गरे पनि मेरो आँखाको आँसु रोकिएको थिएन । कति बेला अविनाशलाई भेटेर सबै आँसु त्यही पोखेर शान्त हुनु जस्तो भएको थियो ।

चाबेलमा पुगेपछि मभन्दा उमेरले अलिक जेठी देखिने केटी मेरो छेउको सिटमा आएर बसिन् । उनको अनुहार चन्द्रमा जस्तै धपक्क बलेको थियो । मलाई उनको अनुहारको चमक देखेर इर्स्या पनि भयो । यो संसारमा मबाहेक सबै सुखी छन् जस्तो लाग्यो । पशुपतिनाथ मन्दिरको गजुर देखेपछि मैले दुई हात उठाएर नमस्कार गरेँ, छेउको केटीले मेरो अनुहार र हात हेर्दै भनिन्– आर यू ओके ?’

एक्कासि मलाई मेरो आफ्नो मान्छे कसैले सोधे जस्तै लाग्यो । अनि भने– “आई एम नट ओके दिदी, आई एम इन ट्रभल । ”

उनले मेरो हात तानिन्– “के भयो, नाडी काटेकी ?”

मैले मुन्टो हल्लाएँ ।

“बोइ फ्रेन्डले धोका दियो ?”

मैले फेरि मुन्टो हल्लाएँ ।

उनले ब्यागबाट आफ्नो परिचयपत्र निकालेर देखाउँदै भनिन्– “मेरो नाम चाँदनी खनाल हो । म नर्सिङ क्याम्पसमा पढाउँछु । बेलुका साथीहरूसँग मिलेर ओशोको किताब बेच्छु । आज तेल नपाएर स्कुटर चलाउन सकिनँ, त्यही भएर गाडी चढेकी हुँ । हिँड म तिमीलाई हस्पिटल लान्छु । ”

मैले भनेँ– “पर्दैन दिदी, अहिले रगत रोकिसकेको छ । अलिकति काट्ने बित्तिकै दुखिहाल्यो, अनि धेरै काटिनँ । यो ब्यान्डेजले काम गरेको छ । बरु हजुरले सक्नुहुन्छ भने मेरो बोइफ्रेन्ड त्यही एभरेस्ट नर्सिङ होममा काम गर्छ, त्यसलाई मसँग गएर बेस्सरी गाली गरिदिनु न । ”

चाँदनी दिदीले के सोच्नु भयो कुन्नि, हुन्छ हिँड भन्नुभयो ।

रिसेप्सनमा पुगेर अविनाशलाई बोलाऊ भन्नुभयो । अविनाश आएपछि दिदीले मलाई देखाउँदै उसलाई चिन्छौ भनेर सोध्नुभयो ।

अविनाशले टाउको हल्लायो ।

“अर्काको छोरी चेलीलाईलाई प्रेमको नाटक गरेर इमोसनल अत्याचार गर्न तिमीलाई लाज लाग्दैन ? प्रेम नगर्नु गरेपछि जिम्मेवारीपूर्वक गर्नू । यसले आज हात काटी, हात काटेर मरेकी भए, तिमीलाई म ज्यानमुद्दा लगाउने थिएँ । के सोचेको छौ तिमीले ? प्रेम भनेको खेल हो ?”

अविनाशले चकित हुँदै भन्यो– “हु आर यु ?”

चाँदनी दिदीले भन्नुभयो– “आई एम हर सिस्टर ” । अनि चोर औँला उठाउँदै भन्नुभयो– “आइन्दा मेरो बहिनीको पछि लाग्यौ भने तिमीलाई म जेल कोच्छु” ।

त्यसपछि मेरो हात समातेर दिदी बाहिर निस्किनु भयो ।

मोबाइलमा एउटा मेसेज पठाएर भन्नु भयो– “आज हाम्रोमा हिँड, हाम्रो कोठा यहीँ छ । मेरी बहिनी प्रज्ञा र दाजु रवि हामी तीन जना बस्छौँ । ”

त्यसपछि बुद्धनगरको एउटा फ्ल्याटमा हामी पुग्यौँ । हामीलाई देख्नेबित्तिकै चाँदनी दिदीकै अनुहार परेकी अर्की केटी ढोकामा निस्किएर भनिन्– “ओ मासा, आऊ भित्र आऊ” त्यसपछि उनले मलाई हग गरिन् ।

बेलुकाको खाना खाएपछि चाँदनी दिदी सुत्नुभयो । राति निकैबेर मैले प्रज्ञा दिदीलाई मेरो असफल प्रेम कहानी सुनाइराखेँ । उहाँले सबै कुरा सुनेर भन्नुभयो– “तिम्रो मात्र होइन यहाँ धेरैको प्रेम असफल भएको छ,” आफ्नो पनि असफल प्रेम कहानी सुनाएर प्रज्ञा दिदीले सम्झाउनुभयो– “प्रेम असफल हुनुभनेको एकदमै साधारण फेनोमेना हो ।”

त्यो कोठाको एनर्जी राम्रो थियो कि वा अविनाशलाई गाली गरेकाले म सन्तुष्ट थिएँ मलाई थाह छैन तर धेरै दिनपछि त्यो रात म गहिरो निन्द्रा सुतेँ । बिहान उठ्दा खाना पाकिसकेको थियो । प्रज्ञा दिदीले मलाई लुगाको एउटा ब्याग दिएर भन्नुभयो– “यो तिम्रा लागि हो” । चाँदनी दिदीले मेरो हातमा पाँच हजार रुपियाँ दिँदै भन्नुभयो– “जाउ तपोवनमा गएर एक हप्ता बस, सबै कुरा ठिक हुन्छ, हामीलाई फोन गर्दै गर्नु, ध्यानले तिमीलाई दह्रो बनाउनेछ । ”

अकस्मात् भेटिएका दिदीहरूको प्रेम देखेर म नतमस्तक भएँ । म अविनाशबिना नै खुसी हुन चाहन्थे, बाँच्न चाहन्थेँ । त्यसका लागि म जे गर्न पनि तयार थिएँ । बालाजु बाइपासमा पुगेर ककनी जाने थोत्रो गाडीभित्र ग्राबेलको बाटोमा हल्लिँदै हल्लिँदै म तपोवनको गेटमा ओर्लिएँ ।

यताउता हेर्दै थिएँ, गेटमै स्वागत गर्न आइपुगी– आभा । तिमी चाँदनीकी बहिनी होइनौ ? मैले मुस्काउन खोज्दै टाउको हल्लाएँ । “आउ ! तिमीलाई स्वागत छ । ” खानाको भौचर र कोठाको चाबी दिएर आभाले मलाई मेरो कोठामा लगी ।

नुहाएर बस, आधा घण्टामा लन्च खान जाने । मैले भात खाइवरि आएकी थिएँ, तपोवनमा एक बजे खाना खाने चलन रहेछ । तातो पानीले नुहाएपछि शरीरको मयल निस्कियो । मसँग लुगा थिएन । प्रज्ञा दिदीले दिएको ब्याग खोलेर हेरेँ, आभाले लगाएको जस्तो रातो दुईवटा गाउन, सेतो दुईवटा गाउन, एउटा रातो सल र अर्काे सेतो सल थियो ।

खुसी र कृतज्ञता व्यक्त गर्न मसँग शब्द थिएन । मेरो आँखा भरियो । यति बिघ्न गर्ने दिदीहरू भेटेको छु, अब मनको मयल निकाल्नुछ भन्ने सोचेँ । आश्रमको भिरालो जग्गामा केही खुड्किलाहरू तल झर्दै गर्दा बाटोको दायाँ बायाँ गणेशको, राधा कृष्णको, शिवको मूर्तिहरू देखेँ । रातो लुगा लगाएका सन्यासीहरू नाच्दै नाच्दै हिँडिरहेका थिए । नेपाली मात्र होइन, इन्डियन, जापानिज, रसियन, जर्मन, अमेरिकन, अस्ट्रेलियन सबै देशका मानिस भेला भएका त्यो ठाउँ अनुपम थियो । म स्वप्न लोकमा आइपुगेँछु जस्तो भयो ।

किचेनमा लाइन लागेर मैले पनि खाना लिएँ । विभिन्नथरिका साकाहारी भोजन हरेक गाँसमा अमृत सेवन गरेजस्तो लागिरहेको थियो । टेबलको वरिपरि विभिन्न हल्काफुल्का कुरा गरेर गलल्ल हाँसिरहेका तन्नेरी सन्यासीहरू, पुरातन सन्यासी जस्ता एक प्रतिशत पनि लाग्दैन थिए । उनीहरूको कुराको प्रसङ्ग र उनीहरूले गर्ने साकाहारी र मांसाहारी जोक्स सबै सबै मेरा लागि अनौठा थिए ।

जसले देखे पनि मलाई भन्ने एउटै कुरा थियो– ए ! तिमी चाँदनीकी बहिनी होइनौ ? चाँदनी दिदी यहाँ निकै लोकप्रिय हुनुहुँदो रहेछ भन्ने कुरा मैले बुझेँ ।

साँझको ध्यानमा सेतो गाउन लगाएर म पनि हलमा पुगेँ । शिव लिङ्गको आकारमा बनेको हलमा देवलोकबाट आएजस्तै कान्तिमय र करुणामय स्वरूपका स्वामीजी अगाडिपट्टि बसेर प्रवचन दिँदै हुनुहुन्थ्यो । स्वामीजीको दर्शनपछि म साँच्चै अब खुसी र सुखी हुनेछु भन्ने लाग्यो ।

आभाले भनी– “स्वामी जीलाई प्रणाम गर । ” म स्वामीजीको छेउमा गए र बिस्तारै शिर झुकाएर हात जोडेँ । स्वामीजीले टाउकोमा हात राखेर भन्नुभयो– “सदैव गुरुकृपा वर्षिरहोस् । तिम्रो जिन्दगी आनन्दमय बनोस् । ” त्यसपछि सोध्नुभयो– “तिमी चाँदनीको बहिनी होइन ?”

भोलिपल्टदेखि बिहान उठ्यो, योग गर्याे, ध्यान गर्याे, ब्रेकफास्ट गर्याे, फेरि ध्यान गर्याे, लन्च खायो, ध्यान गर्याे, चिया खायो, ध्यान गर्याे, डिनर खायो, अनि रात्रिको अन्तिम ध्यान गर्याे, अनि सुत्न गयो । मेरो दिनचर्या रमाइलो हुन थाल्यो ।

ध्यान हलमा बसेर ध्यान चलाउने आचार्यले मलाई अर्काे दिन भने– “तिमीलाई नो माइन्डको जरुरत छ” । के होला भनेर निकै खसखस लागेको थियो । नो माइन्ड ध्यानमा आधा घण्टा बेस्सरी रोएपछि मेरो मन ९० प्रतिशत हलुका भएजस्तो भयो ।

शुक्रबार साँझमा चाँदनी दिदी र प्रज्ञा दिदी आउने भनेपछि बिहानदेखि नै म एकदमै खुसी थिएँ । मेरा आफ्नै दिदीहरू मलाई भेट्न आउँदैछन् जस्तै भएको थियो । आश्रमका मेरा सबै नयाँ साथीहरू भन्दै थिए– “आज त मासा बलेकी छे” । मलाई चाहिँ भुवाजस्तै हलुका महसुस भइरहेको थियो ।

करिब छ बजे स्कुटरमा चाँदनी दिदी र प्रज्ञा दिदी आइपुग्नु भयो, यति व्यग्र प्रतीक्षा मैले सायद पहिले कहिले कसैको गरेको थिइनँ । कुद्दै गएर अँगालो मारेँ ।

“तीन दिनमै कस्तरी बदलिछे ?” प्रज्ञा दिदीले भन्नुभयो ।

“तिमीलाई केही गाह्रो त भएन नि, ध्यानमा रमाउन थाल्यौ ?” चाँदनी दिदीले सोध्नुभयो ।

साँझमा हामीले सँगै खाना खायौँ, राति सँगै ध्यान गर्याै, बेलुका धेरैबेर कुरा गर्यौं र शनिबार बिहान सँगै ध्यान गर्न गयौँ ।

ब्रेकफास्ट खाने बेलामा मैले त्यहाँ नेपालका निक्कै नाम चलेका पत्रकार, नेता, साहित्यकार, व्यापारी र कलाकारहरू देखेँ ।

प्रज्ञा दिदीले मेरो भाव बुझेर भन्नुभयो “जति पैसा र पद भए पनि ध्यानबिना मान्छे सधैँभरि रित्तो नै हुन्छन् ।”

आभाले भनिन्– “त्यति कुरा जान्नेले सन्यास चाहिँ किन लिन्नस् नि ?”

“मलाई देखावटी गर्न आउँदैन । जुन दिन पूरा भाव आउँछ त्यही दिन सन्यास लिन्छु,” प्रज्ञा दिदीको उत्तर थियो ।

“कहाँ छ तेरो भाव ? आरोग्यले ठट्टा गर्दै भन्यो,” म फोन गरेर बोलाऊँ कि निम्तो कार्ड पठाऊ ?”

त्यसपछि सबै जना हाँसे । एक जना पाको सन्यासी जसलाई सबैले शर्मा स्वामीजी भन्थे– उहाँले प्रज्ञा दिदीलाई हेर्दै भन्नुभयो– “यहाँ आइज छोरी “प्रज्ञा दिदीलाई काखैमा बसाएर भन्नुभयो– “जुन दिन तँलाई ओशो मेरो गुरु हो भन्ने लाग्छ त्यही दिन माला लिनू । जति प्रश्न छ सबै सोध्नू, खोज्नू, जाँच्नू, मन ढुक्क भएपछि र भाव आएपछि मात्र सन्यास लिनू । यिनीहरूले भनेको कहिल्यै नसुन्, तँजस्तो मान्छे एक पल्ट सन्यासी भएपछि कहिल्यै पनि बहकिँदैन ।”

“सुन्यौ ?” प्रज्ञा दिदीले ठूलो स्वरमा रवाफसँग भनिन्– “ओए ! तिमीहरूले सुन्यौ ! शर्मा स्वामीले के भन्नु भयो ?”

आरोग्यले भन्यो– “सुनिम सुनिम, तँ विद्वान् होस्, तेरो दिमाग धेरै चल्छ ।”

टेबलमा बसेका सबैजना फेरि हाँसे ।

छेउमा एउटा लामो कपाल भएको केटाले गितार बजाउँदै थियो– सरगमले भनी– ए जगल्टे स्वामीजी ! चौबिस घण्टा गीतार कति बजाउँछौ ! तिम्रो औँलामा अझै प्वाल परेको छैन ?”

उसले चोर औँला देखाउँदै भन्यो– “म एक दिन यो देशको महान् कलाकार हुनेछु, त्यसपछि तिमीहरूसँग बोल्ने पर्दैन, ढुक्क हुन्छ ।”

यो कस्तो वार्ता थियो ? म जिल्ल परिरहेकी थिएँ । सबै जना बातैपिच्छे पञ्चलाइनमा हाँसे जस्तै गरी हाँसिरहेका थिए । जसले जसलाई जे भने पनि हुने, कसैले कसैले भनेको कुनै शब्दले दुख्दै नदुख्ने । म एक्ली हाँस्न सकेकी थिइनँ । ध्यान चलाउने आचार्यले भने– “मासा ! यो नन्सिरियस कन्भर्सेसन हो, बानी पर्दै जान्छ्यौ ।”

एक हप्ता तपोवन बसेर फ्रेस भएर म निस्किएँ । त्यसपछि मन लगाएर पढ्न थालेँ । शुक्रबार तपोवन गयो, आइतबार बिहान फर्कियो । अविनाशको धेरै याद आयो भने प्रज्ञा दिदीलाई फोन गर्याे, भेट्यो, घुम्यो, यसरी नै मेरा दिनहरू बित्दै थिए । करिब छ महिनापछि एउटा सात दिनको ध्यान शिविरमा हामी तीनैजना दिदीबहिनीहरू सँगै थियौं ।

पाँचौँ दिन प्रज्ञा दिदीले भनिन्– “म आज सन्यास लिन्छु” । उनको मुखबाट बोली झर्ने बित्तिकै पूरा तपोवनभरि हल्ला भयो । बाटोमा भेट्ने सबैले भन्न थाले– “दुई वर्ष ध्यान गरेपछि तेरो घैँटोमा घाम लाग्यो होइन ?” पाका उमेरका सन्यासीहरूले भने– “तिमी जन्मी सन्यासी हौ, आज फेरि तिम्रो पुनर्जन्म हुने भयो ।”

 मैले पनि भावमा आएर भने– “आज म पनि सन्यास लिन्छु ।” चाँदनी दिदीले मलाई बोकेर फनन घुमाएर भन्नुभयो– “मलाई थाहा थियो, तिमीलाई गुरुले बोलाएर नै मसँग त्यसरी भेट भएको थियो ।”

रिसेप्सनमा उभिएर सन्यासको फर्म भर्दै थिएँ । रसियन सन्यासी सङ्गीत मेरो छेउमा उभिएको थियो । जन्म मिति लेख्दै गर्दा सङ्गीतले मेरो फर्ममा घाँटी तन्काएर हेरेको थियो । रिसेप्सनको पसलमा सन्यास लिँदा लगाउने गाउन हेर्दै एउटा रोजेँ, पैसा तिर्ने बेलामा आभाले भनी– “तेरो गाउनको पैसा सङ्गीतले दिन्छ अरे ।”

म त त्यहाँको मान्छेहरूको कुरा, आनीबानी त्यति बुझ्न सकिरहेकी थिइनँ, छक्क परेँ । आभाले भनी– “सङ्गीतको बहिनी र तेरो जन्म दिन एकै दिन रहेछ । उसको बहिनी क्यान्सरले दुई वर्ष अगाडि मरेकी थिई । त्यसपछि ऊ निराश भएको थियो । त्यही बेला ऊ ध्यानमा जोडियो । अहिले ऊ निकै खुसी छ । तँलाई देख्दा उसको बहिनीको याद आयो रे, गाउन लिएर तल झर्दै थिएँ, बाटो छेउको बेन्चमा रुन्चे अनुहार लाएर सङ्गीत बसिरहेको रहेछ । म उसको छेउमा बसेँ, उसले रसियन भाषामा केके भन्यो र मेरो गाला र टाउकोमा स्नेहपूर्वक सुम्सुम्यायो । मैले हग गरेँ, ऊ पनि रोयो म पनि रोएँ ।

प्रज्ञा दिदी र मैले एकै दिन सन्यास लियौँ । दिदीको नाम ध्यान प्रज्ञा भयो मेरो नाम प्रेम मस्तानी भयो । मैले अध्यात्मको जगतमा गुरु र स्वामीजी मात्र पाइनँ, दिदीहरू र रसियन दाइ पनि पाएँ ।

बाबा मम्मीलाई मैले अविनाशको कुरा सुनाएको थिएँ र त्यहीसँगै मेरा नयाँ दिदीहरूको कुरा सुनाएको थिएँ । मैले सन्यास लिएको थाहा पाएपछि बाबा मम्मीले भन्नु भयो– “तेरो खुसी नै हाम्रो खुसी हो, तँ ध्यान गर्दा खुसी हुन्छेस् भने ठीक छ ।”

मेरो जिन्दगीले अर्काे मोड त लिएको थियो तर कर्मबन्धन भन्ने कुराबाट छुटकारा पाएकी रहेनछु । म ध्यानमा डुब्दै थिएँ तर प्रेमको मामिलामा सुक्खा थिएँ । कृष्णको जस्तो अलौकिक प्रेम गर्न मैले जानेकी थिइनँ । न त सीताको जस्तो बेसर्त प्रेम गर्न मलाई आउँथ्यो ।

एमबीबीएस सकेपछि अस्ट्रेलियामा बस्ने एकजना व्यापारीसँग मेरो बिहे भयो । दस वर्षको कचकच, झगडा र असमझदारीबीच नै मैले एउटी छोरी पाएँ र हुर्काएँ । दस वर्षपछि एउटा बिहान मैले ऊसँग बस्दिनँ भनेर निर्णय गरेँ ।

केही समयपछि ज्याकसँग मेरो हरे कृष्ण हरे राम रेस्टुरेन्टमा भेट भयो । मेरो गलाको ओशोको माला देखेर ज्याक मसँग बोल्न आयो । ऊ रमण महर्षिको भक्त रहेछ । ज्याकले नै मलाई लिभिङ टुगेदरमा बसेर अध्यात्मिक आश्रम खोलौँ भन्ने प्रस्ताव राखेको थियो ।

तीन वर्षअगाडि हामी दुई जनाले नै एक सय पचास एकडको जग्गा ब्लु माउन्टेनमा लिएर यो आश्रम खोलेका थियौँ ।

लुनाको आगमनसँगै विगत फेरि पल्टियो । विगत सम्झिँदा म सधैँ प्रज्ञा दिदीसँग कुरा गर्छु । घडी हेरेँ, लन्डनमा दिउँसो भएको छ ।

मेरो फोन देख्ने बित्तिकै प्रज्ञा दिदीको आवाज आयो– “अहिलेसम्म सुतेकी छैनौ ? आश्रममा गेस्टहरू छैनन् ?”

मैले लुनाको बारेमा सुनाएँ ।

“एक जना मान्छेको जीवन परिवर्तन भयो भने पनि गुरुको ऋण तिरिन्छ । तिमीले यति राम्रो सौभाग्य पायौ ।’’ प्रज्ञा दिदीको सधैँको जस्तै उत्साहजनक आवाज ।

चाँदनी दिदीलाई पनि सुनाउन मन थियो, उहाँ कैलाश ध्यान गर्न जानुभएको रहेछ ।

बिस्तारै लुना उज्यालिँदै गई । बिहानदेखि बेलुकासम्मको सेसनहरू नछुटाई ऊ ध्यान दिएर ध्यान गरिरहेकी थिई । आश्रमका काममा पनि ऊ निकै सक्रिय देखिन्थी । थेरापी ध्यानले उसलाई सहयोग पुर्याएको थियो भने ओशोको डाइनामिक, कुण्डलिनी र नो माइन्ड ध्यानले उसको ऊर्जालाई परिवर्तन गरिरहेको थियो ।

एक दिन, बिहानको ध्यान सकेर ब्रेकफास्ट टेबलमा बस्दा लुनाले भनी– “माँ जी ! आज म घर जाने दिन । जान पटक्कै मन छैन । नेपाल छोडेर अस्ट्रेलिया आउँदा जस्तै गरी आँसु झरिरहेको छ । फेरि फेरि पनि आउँछु है !”

कति चाँडै एक महिना भइसकेछ । यो एक महिनामा लुना हाम्रै छोरी जस्तै गरी नजिकिएकी छ । ऊ फर्किने कुराले मनमा च्वास्स बिझाएर आयो ।

आश्रमका सबै सदस्यहरू भेला भएर लुनालाई बिदा गरेँ । लुनाले मलाई हग गरी । आँखाभरि आँसु पारेर थ्याङ्क यु भनी । मलाई पहिलो भेटमा स्वामीजीले दिनुभएको ओशोको किताब थियो– “लब एण्ड मेडिटेसन” अर्थात् प्रेम र ध्यान ।

लुनाको हातमा राखिदिँदै भने– “म पनि कुनै दिन हात काटेर मर्छु भन्ने अवस्थामा पुगेको थिएँ । तपोवन गएँ र ध्यान गर्न थालेपछि फेरि बाँचे । त्यसपछि कहिल्यै डिप्रेसनको सिकार भइनँ । तिमीलाई मनमा नराम्रो विचार उत्पन्न भयो भने यो किताब पढ्नु, न्यास्रो लाग्यो भने यहाँ आउनू । महिनामा एकपल्ट आएर ध्यान गर्याै भने कहिल्यै निरास हुने छैनौ । तिमीलाई भगवानको र हाम्रो सधैँ आशीर्वाद छ ।’’

ज्याकले अङ्ग्रेजीमा भन्यो– “यति राम्री छोरीलाई जन्मदिने बाबुआमा कति भाग्यमानी होलान्, उनीहरूलाई पनि धन्यवाद । तिम्रो बुबा आमाको नाम के हो ? ’’

लुनाले भनी– डा. अविनाश भट्टराई र डा. निलिमा भट्टराई ।

अविनाश र निलिमाको नाम सुनेर म फत्रक्क परेँ । लुनाले मेरो गालामा चुम्बन गरी अनि आँखा मिच्दै हिँडी । ज्याकलाई अविनाश र मेरो कहानी थाहा थियो, उसले मेरो हात बेस्सरी समात्यो ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।