शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले विभाजनपछि बढ्यो ओलीको सक्रियता

बुधबार, ०६ असोज २०७८, १६ : १५
बुधबार, ०६ असोज २०७८

नेकपा एमाले विभाजनपछि सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहा तीव्र बनेको छ । गत भदौ ९ गते नेकपा एमाले औपचारिक रुपमा विभाजन भएर नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए यता अध्यक्ष ओली काठमाडौं बाहिर र भित्र एक दर्जन बढी कार्यक्रममा सहभागी बनिसकेका छन् ।

यसअघि झण्डै साढे तीन वर्ष सरकारमा रहँदा बालुवाटारबाट सिंहदरबारसमेत बिरलै पुग्ने गरेका ओली सरकारबाट बहिर्गमन र एमाले विभाजनपछि सक्रियता बढाउँदै दैनिकजसो कुनै न कुनै कार्यक्रममा सहभागी हुने गरेका छन् । कुनै दिन त ओलीले दुईतीन वटा कार्यक्रमलाई समेत सम्बोधन गर्न भ्याउने गरेका छन् ।

विगत झण्डै एक महिनाको अवधिमा ओलीले प्रदेश १ को विराटनगर र झापा हुँदै लुम्बिनीको रुपन्देही, बाँके, बर्दिया र गण्डकीको कास्की पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गरेका छन् । उपत्यका बाहिर कार्यक्रममा सहभागी नभएका बेलासमेत ओली काठमाडौं, ललितपुर र भक्तपुरका स–साना कार्यक्रमसमेत छुटाउँदैनन् । अध्यक्ष ओलीले बुधबारमात्रै बाँके र बर्दियाका दुई आमसभालाई सम्बोधन गर्न भ्याएका छन् ।

एमाले विभाजनको घाउ पुर्ने प्रयास

२०७४ सालमा भएको निर्वाचनमा मुलुकको सबैभन्दा ठुलो दल बनेको नेकपा एमाले आन्तरिक व्यवस्थापन गर्न नसक्दा माधव नेपालसहितका नेताहरुले अलग पार्टी गठन गरे । अहिले पार्टी विभाजनको असर एमालेले भोगिरहेको छ । केन्द्रदेखि प्रदेश सरकारबाट धमाधम एमाले बाहिरिनुपरेको छ । गण्डकी र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको एमाले निकट भविष्यमै बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ ।

माधव नेपाल समूह पार्टीबाट बाहिरिँदा ५ प्रतिशतमात्रै क्षति भएको आन्तरिक मूल्यांकन गरेको एमालेले त्यसको परिपूर्ति गर्न संगठन विस्तार गर्दै आफ्ना गतिविधि तीव्र बनाउने लक्ष्य लिएको छ । सोही अनुसार अध्यक्ष ओली विभिन्न जिल्लामा आयोजना हुने पार्टी कार्यक्रममा  दौडधुप बढाएका छन् ।

‘संगठन विस्तार र पार्टी कमिटीहरुलाई चलायमान बनाउने एमालेको योजना छ । सोही योजनाअनुसार अध्यक्ष लगायत केन्द्रीय कमिटीका सबैजसो नेताहरु संगठन विस्तारमा जुट्नुभएको हो’, एमाले केन्द्रीय कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले भने, ‘सोही अनुसार अध्यक्ष ओलीको सक्रियता बढेको हो ।’

सचिव तामाङले एमाले विभाजनको घाउ पुर्ने योजना हुनु स्वाभाविक भएको भन्दै त्यो असरको क्षतिपूर्ति गर्न धेरै समय नलाग्ने बताए । ‘खासमा त्यसले हामीलाई धेरै प्रभाव त परेको छैन, तर परेको भए पनि त्यसको पूर्ति गर्न धेरै समय लाग्दैन’, उनले भने ।

उनले निर्वाचनसम्म माधव नेपालको पक्षमा लागेका नेता कार्यकर्ता समेत एमालेमै फर्कने दाबी गरे । ‘पार्टीका नेता कार्यकर्तासँग अन्तरक्रिया गरौं, तलसम्म विभाजनको असर नपरोस् भन्ने पनि एउटा अभियान हो’, तामाङले रातोपाटीसँग भने, ‘हिजोको पूर्व माओवादीतर्फको ठुलो हिस्सा अहिले एमालेमै छ, त्यसो भएकाले माधव कमरेडहरु जाँदा भएको असरको क्षतिपूर्ति त त्यसैबाट पनि पूरा हुन्छ, त्यसकारण धेरै समय लाग्दैन भन्ने हाम्रो बुझाइ छ ।’

अध्यक्ष ओलीले विभिन्न जिल्ला र स्थानमा भएका कार्यक्रममा एमाले विभाजन भए पनि सबैभन्दा ठुलो दल एमाले नै रहेको र आगामी निर्वाचनमा पुनः पहिलो शक्तिका रुपमा राज्य सञ्चालनको नेतृत्व गर्ने घोषणा गर्दै आएका छन् । त्यसका लागि पनि उनी कार्यकर्ता र जनसमक्ष सत्तारुढ गठबन्धनको भण्डाफोर गर्ने र आफ्नो पार्टीको पक्षमा माहोल बनाउनका लागि देश दौडाहामा व्यस्त हुन थालेको बुझ्न कठिन छैन ।

ओलीले आफ्ना अधिकांश कार्यक्रममा माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रसहित विपक्षी गठबन्धनलाई निशाना बनाउँदै आएका छन् । उनले वर्तमान सरकारको पनि चर्को आलोचना गर्दै आएका छन् ।   

महाधिवेशन लक्षित सक्रियता

नेकपा एमालेको आगामी असोज १५–१७ मा विधान महाधिवेशन हुँदैछ । त्यससँगै एमालेले पार्टी सदस्यता नवीकरणको काम पनि अघि बढाएको छ । विधान महाधिवेशनलगत्तै मंसिरमा राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ ।

‘माओवादी केन्द्र र एमालेको एकीकरणपछि पार्टी राम्रो र सुदृढ हुन्छ भन्ने हाम्रो मान्यता थियो । तर त्यो मान्यताले फेल खायो । संगठनका गतिविधि पनि सबै ठप्प भए’, केन्द्रीय सदस्य तामाङले विगतमा नेकपा एक रहन नसक्नु र एमालेसमेत विभाजन भएपछिको अवस्थालाई मूल्याङ्कन गर्दै भने, ‘त्यसबेला हामी पार्टी एकीकृत बनाएर जानुको साटो अनेक लफडामा फस्यौँ र पार्टी पनि एक रहिरहन सकेन ।’

नेकपा एमाले एक्लै हुँदा देशभर संगठन रहेको र यसअघिको निर्वाचनबाट समेत त्यो प्रमाणित भइसकेको उनले बताए । ‘यस्तो पार्टी विगतमा एकता भएपछि यसको संगठनात्मक संरचना भत्कन पुगेको थियो’, उनले भने, ‘विगतमा भत्केको एमालेको पार्टी संरचना पुनर्जीवित गर्ने प्रयासमा अध्यक्ष लगायत सवै नेता देशभर परिचालन भइरहनु भएको छ ।’

अहिलेको फरक परिस्थितिमा पार्टीलाई पुनर्जीवित गर्ने सन्दर्भमा अध्यक्ष ओलीले आफ्नो सहभागिता, सक्रियता र नेतृत्व प्रदान गरिरहेको उनको भनाइ छ । ‘उहाँको क्रियाशीलता र गतिशीलताले कार्यकर्तामा उत्साह भरिएको छ । एमालेप्रति जनताको दृष्टिकोण पनि सकारात्मक रहेको उनीहरुका कुरा सुन्दा पाइने गरेको छ,’ उनले भने, ‘देशभर पार्टीका बैठक, भेला पनि भइरहेका छन् । विधान महाधिवेशन पश्चात हामी मंसिरसम्ममा पार्टीका सबै कमिटीलाई अपडेट गरिसक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप