एमालेको अध्यक्ष बन्ने ईश्वर पोखरेलको आकांक्षामा ओली बाधक !

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline2

नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई पार्टीको भावी अध्यक्षको दाबेदारका रुपमा हेरिँदै आएको छ । केपी ओलीसँग प्रतिस्पर्धा नगरी सहमतिकै आधारमा नेतृत्व हस्तान्तर हुने पोखरेलको अपेक्षा देखिन्छ । तथापि आगामी महाधिवेशनमा केपी ओली आफैं अध्यक्ष बन्ने सम्भावना सकिएको छैन ।

नेकपा एमालेमा कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हदका कारण महासचिव ईश्वर पोखरेललाई धक्का लाग्ने देखिएको छ । आगामी महाधिवेशनमा ओली नै दोहोरिए भने पोखरेल कहिल्यै एमालेको अध्यक्ष बन्न पाउने छैनन् ।

किनभने, ६८ वर्षीय महासचिव पोखरेल ११ औं महाधिवेशनमा पुग्दा ७० वर्षे उमेर हदका कारण पार्टीको कार्यकारी भूमिकाका लागि अयोग्य भइसक्नेछन् ।  

एमालेमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्तावित विधान पारित भएमा महासचिव पोखरेलका लागि पार्टीको नेतृत्वमा पुग्न १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ । त्यसैले ७० वर्षे विधानको प्रावधान लागू भएमा पोखरेलले कार्यकारी भूमिका पाउन १० औं महाधिवेशनलाई नै अन्तिम अवसरका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।

तर, अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पनि अध्यक्ष पदमा दाबी गरेको अवस्थामा भने पोखरेलले पार्टीको नेतृत्वमा पुग्ने सपना त्याग्नुपर्ने देखिन्छ । अध्यक्ष ओली आगामी फागुनमा मात्र ७१ वर्ष लाग्ने भएकाले १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएको अवस्थामा समेत उनलाई प्रमुख कार्यकारी पदमा पुग्ने बाटो छेकिँदैन ।

१० औं महाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएर ओलीले नै पुनः नेतृत्वका लागि दाबी गरेको अवस्थामा भने पोखरेलसहित सुवास नेम्वाङ, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतका नेताहरु प्रमुख कार्यकारी पदमा पुग्ने बाटो सदाका लागि छेकिन्छ ।

१० औं महाधिवेशनबाट ओली नै अध्यक्ष बनेको अवस्थामा ७० वर्षे उमेर हदका कारण ११ औं महाधिवेशनदेखि प्रमुख कार्यकारी पदमा पुग्ने बाटो छेकिने नेताहरुमध्ये पोखरेल नै पार्टी नेतृत्वको प्रबल दाबेदार मानिँदै आएका छन् । पार्टीको महासचिव भइसकेका, सरकारमा उपप्रधानमन्त्री रहिसकेका उनी एमालेको अध्यक्ष र एमालेबाट प्रधानमन्त्री पदका लागि आकांक्षा राख्ने प्रमुख नेता हुन् ।

विगतमा उनले निर्वाह गरेका भूमिका र पार्टीमा उनको ‘पोजिसन’का आधारमा पनि अन्य प्रतिस्पर्धीको तुलनामा पार्टी अध्यक्षका लागि उनी उपयुक्त विकल्पका रुपमा स्थापित हुँदै आएका थिए । तर, १० औं महाधिवेशनबाट ओलीले नै पार्टी नेतृत्व लिएको अवस्थामा पोखरेलको सक्रिय राजनीति प्रमुख कार्यकारी पदमा नपुगी अन्त्य हुने देखिन्छ ।

त्यसो त, अध्यक्ष ओलीले आफू युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने पक्षमा रहेको बताउँदै आएका छन् । तर हालै पार्टी विभाजन भएको र देशमै एक्लो विपक्षी बनेर सत्तारुढ गठबन्धनलाई चुनौती दिइरहेको अवस्थामा कार्यकर्तापंक्तिले फेरि पनि ओलीकै नेतृत्व खोज्नेमा कुनै शंका छैन ।

यस्तो अवस्थामा ओलीले आफू अब नेतृत्वमा दाबी नगर्ने भनेर १० औं महाधिवेशनबाटै दोस्रो तहका नेताका लागि बाटो खोलिदिनुपर्ने वा अर्को विकल्पका रुपमा दोस्रो तहका नेताले ओलीसँग नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा १० औं महाधिवेशनमा यी दुवै विकल्पको सम्भावना निकै कम देखिन्छ ।

लामो समय ओलीको निकट रहेर भूमिका निर्वाह गर्दै आएका पोखरेलले १० औं महाधिवेशनमा ओलीलाई नेतृत्वका लागि चुनौती दिन्छन् भनेर एमाले पंक्तिमा कसैले पनि विश्वास गर्न सकेको छैन । त्यसैले ओलीकै सहयोगीका रुपमा रहँदै आएका पोखरेलले १० औं महाधिवेशनमा पनि ओलीलाई नै अध्यक्ष बनाउन सहयोगी भूमिका निर्वाह गर्दै पार्टीको प्रमुख कार्यकारी पदमा पुग्ने आफ्नो अवसर त्याग्नबाहेक अर्को विकल्प नरहने जानकारहरु बताउँछन् ।

अध्यक्ष ओलीले १० औं महाधिवेशनबाट पनि पार्टीको नेतृत्व लिएको अवस्थामा पोखरेल, नेम्वाङ, रावल, शाक्य लगायतका दोस्रो तहका नेताहरु प्रमुख कार्यकारी हुने दौडबाट स्वतः बाहिरिएको अवस्थामा ११ औं महाधिवेशनमा भने युवा पुस्ताका लागि नेतृत्वको अवसर खुल्ने छ ।

११ औं महाधिवेशनका लागि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु अध्यक्षका लागि प्रतिस्पर्धामा आउन सक्छन् ।

कमेन्ट

  1. Sept. 23, 2021, 7:41 a.m. Tej Singh Bista
    प्रजातन्त्रमा संविधान अनुसार एवं सम्बन्धित पाटीको विधान अनुसार प्रतिस्पर्धा गर्न सबै स्वतन्त्र छन। कतिसम्म उखान टुक्का सुनेर बस्ने? बिकासको लागी परिवर्तन अवश्यक माथि उल्लेखित अध्यक्ष पदको लागि सम्भाव्य मरेडहरू सबैमा चेतना छदैछ।
  2.  0 Reply
  3. Sept. 23, 2021, 5:08 a.m. Tej Singh Bista
    यो प्रजातान्त्रिक अभ्यास हो। अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टी बिधान ले रोक्दैन होला। प्रजातन्त्रले विकल्प खोज्दछ डिक्टेटरशिप होइन। तर ओलीज्यु पाटीभित्र ठूलोस्वरगरी हप्काउनु हुन्छ अनि कसैले हिम्मत गदैॅनन। नत्र यस लेखकले माथि उल्लेख गरेका बरिष्ट नेताहरू ईश्वर पोखरेल, भीम रावल, सुवास नेवार, युवराज ज्ञवाली, अष्टलक्ष्मी अध्यक्ष पदका उपयुक्त दाबेदार हुन। हिम्मत गर्नुपर्छ। अब उखान टुक्का पाटी/ देश चल्दैन। नेताहरुमा चेतना भया।
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।