शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : रुपन्देहीमा देउवा पक्षबाटै दुई गुट

देउवा पक्षमा देखिएको फाटोबाट पौडेल पक्षले फाइदा लिँदै
शुक्रबार, ०८ असोज २०७८, २२ : ११
शुक्रबार, ०८ असोज २०७८


नेपाली काँग्रेसले ६४ जिल्लाका पालिकामा असोज ९ गते अर्थात् शनिबार १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन गर्दैछ । रुपन्देहीमा पनि पालिका अधिवेशनको तयारी सम्पन्न भएको छ भने नेतृत्वका आकांक्षीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

रुपन्देहीमा मुख्यगरी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि यहाँ देउवा पक्षमै फाटो देखिएको छ । जिल्लाका दुई प्रभावशाली नेता बालकृष्ण खाँण र भरत शाह केन्द्रमा देउवा पक्षका खम्बा मानिन्छन् । तर रुपन्देहीमा यी दुवै नेताले आ–आफ्नो गुट सक्रिय बनाएपछि पौडेल पक्षले त्यसको फाइदा लिने रणनीति तयार पारेको छ ।

बुटवलमा पाण्डे र केसीबीच प्रतिस्पर्धा

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको ५ हजार ५७० क्रियाशील सदस्य छन् । यो नगरका १९ वडाबाट ५ सय ८४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

विगतमा पौडेल समूहको बलियो उपस्थिति रहेको बुटवलमा अहिले सो पक्ष केही कमजोर देखिएको छ । यहाँ पौडेल पक्षबाट वर्तमान सभापति खेलराज पाण्डे नै पुनः दोहोरिने दाउमा छन् । उनले नगर सभापतिभन्दा माथि जानका लागि अनुकुल अवस्था नरहेको भन्दै पुनः सोही पदमा आफूलाई दोहो¥याउने घोषणा गरेका हुन् । उनको प्यानलबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छायाँ पोखरेल र गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, देउवा समूहबाट रिता केसी क्षेत्रीले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छन् । केसी प्यानलबाट उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बाँस्कोटा र गणेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

गृहमन्त्रीको गृहनगरमा पाण्डे र पौडेल मैदानमा

काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा पनि देउवा र पौडेल पक्षले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । तिलोत्तमा नगरका १७ वटा वडाबाट पहिलो चरणमा ३९२ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

तिलोत्तमाको नगर समितिमा देउवा समूहबाट हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिवमा प्रदिप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

पौडेल समूहबाट नगर सभापतिमा नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनको प्यानलमा उपसभापति अशोककुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय उम्मेदवार बनेका छन् ।

सैनामैनामा देउवा पक्षबाटै दुई प्यानल घोषणा

सैनामैना नगरपालिका काँग्रेस नेता भरत शाहको क्षेत्र हो । यहाँ पनि काँग्रेसका दुवै पक्षले प्यानल घोषणा गरेका छन् ।

नगर सभापतिमा देउवा पक्षबाट कृष्णप्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति नीलप्रसाद थापा र मिना श्रेष्ठ, सचिवमा कृष्णप्रसाद कँडेल र सुभाष पौडेल, सहसचिवमा श्यामप्रसाद अधिकारी र सुरेश परियारले उम्मेदवारी घोषणा गरेका छन् ।

यहाँ देउवा समूहमै रहेका नेता भरत शाह पक्षबाटै सभापति रणबहादुर खनालको नेतृत्वमा उपसभापतिमा लोकमणि भट्टराई र लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुणामणि घिमिरे र अर्जुन पौडेल, सहसचिवमा मनु काउचा र शारदा रौतारले उम्मेदवारी घोषणा गर्दै प्रचार सुरु गरेका छन् ।

सिद्धार्थनगरमा देउवा पक्ष र पौडेल पक्ष मैदानमा

रुपदेन्हीको सिद्धार्थनगर नगरपालिकामा काँग्रेस सभापतिका लागि देउवा पक्ष र पौडेल पक्ष प्यानलसहित मैदानमा उत्रिएका छन् । देउवा पक्षबाट सभापतिमा कोशिस खड्का र पौडेल पक्षबाट संजीव रेग्मीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सिद्धार्थनगरका १३ वडाबाट २४० क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

देवदहमा भुर्तेल र पाण्डेको प्रतिस्पर्धा

देवदह नगरपालिकामा पनि देउवा पक्ष र पौडेल पक्ष नै प्रतिस्पर्धामा उत्रिएका छन् । देउवा पक्षबाट सभापतिमा गुणाखर भुर्तेल र पौडेल पक्षबाट झविन्द्रप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । तर, उनीहरु दुवैले प्यानल भने घोषणा गरेका छैनन् ।

यहाँ सभापतिमा गुटगत प्रतिस्पर्धा हुने तर अन्य पदमा भने व्यक्तिगत उम्मेदवारी घोषणा गरेर आकांक्षीहरु चुनावी मैदानमा होमिएका छन् । देवदह नगरका १२ वडाबाट करिब १८० जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सर्वसम्मत बनाउने प्रयास

भरत शाहको बलियो पकड भएको लुम्बिनी सांस्कृतिक नगरपालिकामा हालका सभापति मोहम्द सईत खाँले सभापतिमा दोहोरिने आकांक्षा राखेका छन् । यो नगरमा सर्वसम्मत नेतृत्व चुन्ने प्रयास भइरहेको छ ।

सभापतिमा अन्यको चर्चा अहिलेसम्म नआएको प्रदेशसभा सदस्य फखरुदिन खानले बताए । उनले सभापतिमा सर्वसम्मत गराउने प्रयास भइरहेको जानकारी दिए ।

खाँण र शाह केन्द्रमा एउटै पक्षमा, जिल्लामा आ–आफ्नो गुट

केन्द्रमा देउवा पक्षमै रहेका गृहमन्त्री बालकृष्ण खाँण र सार्वजनिक लेखा समितिका सभापति भरत शाहबीच उम्मेदवार छनोटको विषयमा एक मत नभएको नेपाली काँग्रेसका स्थानीय नेताहरु बताउँछन् । सोही अनुसार केन्द्रका दुवै नेता देउवा पक्षमै भए पनि उनीहरुले जिल्लामा आ–आफ्नो गुटका उम्मेदवारलाई मैदानमा उतारेका छन् ।

जिल्लाको अन्य स्थानीय तहको तुलनामा बुटवलमा खाँणको प्रभाव कमजोर छ । उनकै गुटबाट बुटवल उपमहानगरमा सभापति पदको उम्मेदवार बनेकी रिता केसीले तेस्रो धारका मुक्ति पौडेल लगायतलाई विश्वासमा लिएर उम्मेदवारी दिएकी छन् ।

यस्तै तिलोत्तमा नगरपालिकामा भरत शाहाले पौडेल लाइनका नारायण न्यौपानलाई समर्थन गरेको काँग्रेस नेताहरु बताउँछन् । त्यहाँ खाँणले अहिलेका सभापति हरिलाल पाण्डेयलाई समर्थन गरेका छन् ।

सैनमौनमा पनि खाँण र शाहले आ–आफ्नो गुटबाट उम्मेदवार खडा गरेका छन् । अन्य स्थानीय तहमा पनि जिल्लाका प्रभावशाली दुई नेताले यसैगरी उम्मेदवार खडा गरेको काँग्रेसका एक स्थानीय नेताले रातोपाटीलाई बताए ।

रुपन्देही क्षेत्र नम्बर ५ मा भरत शाहको राम्रो प्रभाव छ । अन्य क्षेत्रमा पनि खाँणबाट पेलिएको महसुस गरेका कार्यकर्तालाई शाहले नेतृत्व दिएका छन् । त्यसले गर्दा पनि केन्द्रमा एउटै गुटमा रहेका दुई नेता जिल्लामा भने आ–आफ्नो गुट बनाएर प्रतिस्पर्धामा होमिएका छन् । एउटै गुटका यी दुई नेताबीचको व्यक्तित्वको टकरावका कारण पौडेल पक्षले विभिन्न पालिकामा यिनै दुईमध्ये आफ्नो अनुकुल हुनेगरी कुनै एक गुटको साथ लिएर बाजी मार्ने रणनीति बनाएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप