शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले युनाइटेड रोजेर सही गरे : फिगो

शनिबार, ०९ असोज २०७८, ०८ : ३३
शनिबार, ०९ असोज २०७८

पोर्चुगलका पूर्व कप्तान लुईस फिगोले म्यानचेस्टर युनाइटेड फर्कने रोनाल्डोको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड फर्किएयता निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले तीन खेलमा चार गोल गरिसके । 

तर, उनी युभेन्टस्बाट म्यानचेस्टर सिटी जाने चर्चा पनि चलेको थियो । पोर्चुगलका पूर्व कप्तान फिगोले यस निर्णयलाई आफ्नो विगतसँग दाँजेर प्रतिक्रिया दिएका हुन् । ५ वर्ष बार्सिलोनामा बिताएर समर्थकमाझ लोकप्रिय भएपछि फिगोले सन् २००० मा रियल म्याड्रिडको यात्रा गरेका थिए । रियलमा उनले २००५ सम्म खेले । तर यस अवधिमा बार्सिलोना समर्थकहरुले उनलाई खलनायकका रुपमा चित्रण गरेका थिए । 

‘यदी रोनाल्डो सिटीमा गएको भए युनाइटेड समर्थकहरु उनको निर्णयबाट स्तब्ध हुने थिए । रोनाल्डोले सही निर्णय गरेका छन्,’ फिगोले भने,‘यो उनले चिनेको ठाउँ हो । यस क्लबमा उनले पहिल्यै इतिहास बनाइसकेका छन् र समर्थकहरुले उनलाई निकै मन पराउँछन् ।’ ​फिगोले थपे,‘यदी तपाई प्रतिस्पर्धी क्लबमा जानुभयो भने त्यहाँ समर्थकको चिन्ताका कारण थप समस्या हुन्छ । त्यसैले समस्या कम गर्न र क्लबका लागि निरन्तर इतिहास बनाउन रोनाल्डोको यो रोजाई उत्कृष्ट छ ।’ 

रोनाल्डो किशोरावस्थामै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । पहिलो कार्यकालअन्तर्गत २००३ देखि २००९ सम्म युनाइटेडबाट खेल्ने क्रममा उनले तीनपटक प्रिमियर लिग र एकपटक च्याम्पियन्स लिग जिते । सन् २००९ देखि २०१८ सम्म रोनाल्डोले रियल म्याड्रिडबाट खेले । उनले पछिल्ला तीन सिजन युभेन्टस्मा बिताएका थिए । र, यसै सिजन रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किएका हुन् । 

https://www.marca.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप