संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने ?

person explore access_timeअसोज ९, २०७८ chat_bubble_outline0

विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई  जोडतोडका साथ उठाउने गर्दछन् ।   प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् ।  यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ।  

कोरोना महामारीको लामो सङ्कटबाट गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट  यस्ता  अभिव्यक्त विचारहरूले अखबारका पानाहरू रङ्गाएका छन् र नयाँ विचारलाई पस्केका छन् । यस्ता केही प्रतिनिधि विचारहरूलाई यहाँ प्रस्तुत गरिएको छ। 

महासभालाई सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाएकी छन् । उनले भनिन्, ‘आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरुमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरूमध्ये धेरैलाई जागिर गुमाउनुपरेको छ,  तलब कटौतीको समस्या बेहोर्नुपरेको छ, स्वास्थ्य र अन्य सामाजिक सेवाहरुमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन्।”

त्यसैगरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिकामाथि पर्ने असरलाई विशेषरूपले उठाएका छन्।  ‘द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ जसका कारण हामी हजारौं बच्चाहरूलाई असफलताको बाटोमा डोराइरहेका छौँ। हामी उनीहरूलाई हिंसा, क्रुरता, हानी र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौं। हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौँ ।’

जर्जियाका प्रधानमन्त्री  इराक्ली गरिबाशभिल्लीले विश्वभरमा प्रजातन्त्र संकटमा पर्दै गएको विषयलाई उठाएका छन् । उनले भने, ‘अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्र संघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यसमै व्यस्त छन् ।’

लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी छ । उनका अनुसार यदि हामीसँग आशा र विश्वास छैन भने  जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन् । त्यसैगरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भनेका छन्, ‘हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न  यस हलमा कदापि नफर्कौं ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।