शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा ढुवानीग्राम सञ्चालनमा आउँदै

शनिबार, ०९ असोज २०७८, १८ : १३
शनिबार, ०९ असोज २०७८

बुटवल उपमहानगरपालिकाको वडा नं.१२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण अन्तिम चरणमा पुगेको छ । बुटवलको व्यस्त सहरी क्षेत्रमा हेवी लोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा निर्माण गरेको हो । 

बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको ३ बिगाहा क्षेत्रफलमा सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संरचना निर्माणका काम लगभग अन्तिम चरणमा पुगेका बताए ।

प्रमुख सुवेदीले व्यस्त र भिडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिबद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको बताए ।

हेवी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुने अपेक्षा गरिएको  छ। ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँच मार्ग, ढल तथा नाली निर्माण गरेको इन्जिनियर रुक्माङ्गत अर्यालले बताए । यस्तै थप बाइपास सडक निर्माण गरेर दानव नदी कोरिडोरमा जोड्ने तयारी भइरहेको छ ।

उक्त ढुवानी ग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचार कक्षसम्म निर्माण हुनेछन् । बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानी ग्राम निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भएका छन् । उपमहानगरको साझेदारी गरेको रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरु, स्टोर कक्षहरू, कार्यालय, बिद्युत्, खानेपानी, स्नानघर, शौचालय, विश्राम कक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षा गार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप