शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यादेश र मन्त्रीबारे छलफल गर्न बालुवाटारमा बैठक

आइतबार, १० असोज २०७८, १० : १३
आइतबार, १० असोज २०७८

मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ ।

आइतबार बिहान १० बजेको समय तोकेर बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।

आजको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल हुने जसपा अध्यक्ष उपेन्द्र यादवले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीजीले गठबन्धनको बैठक बोलाउनुभएको छ । अब दुई–चार दिनमै मन्त्रिपरिषद विस्तार हुन्छ ।’

योबीचमा अध्यादेश खारेजी र मन्त्रालयको भागबण्डा टुंगिने यादवको भनाइ छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर मन्त्रिपरिषद विस्तारका लागि सजिलो पारिदिएको यादवले बताए ।

नेकपा (एकीकृत समाजवादी) को वैधानिकतामाथि प्रश्न उठाउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलगायतलाई  विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उक्त रिट निवेदन किनारा लागे भएपछि अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान रहँदै आएको थियो ।

तर, अध्यादेशविरुद्ध अन्तरिम आदेश माग गर्दै परेको अर्को एउटा रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अब मन्त्रिपरिषद विस्तारको बाटो खेलेको यादवको तर्क छ ।

जसपा अध्यक्ष यादव केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न पाउने अध्यादेश खारेज नगरी मन्त्रिपरिषद विस्तार गर्न नहुने पक्षमा छन् । उता माधव नेपाल अध्यादेश खारेज हुँदा आफूलाई अप्ठ्यारो पर्ने त्रासमा छन् । र, यही कारणले गर्दा सरकार बनेको ७५ दिनसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

असार २९ गते काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा चार जना मन्त्री पनि नियुक्त गरिएको थियो । काँग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्र कार्की कानुन र माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री बनेका थिए ।

प्रधानमन्त्री देउवाले साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । त्यसको करिब दुई महिनापछि असोज ५ गते डा. नारायण खड्कालाई देउवाले परराष्ट्रमन्त्री बनाएका छन् ।

त्यसपछि फेरि मन्त्रिपरिषद विस्तारमा ब्रेक लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप