शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : रुपन्देहीका ६ नगर कार्यसमितिमध्ये ४ वटामा देउवा पक्ष हावी

आइतबार, १० असोज २०७८, १३ : ४०
आइतबार, १० असोज २०७८

बुटवल । नेपाली काँग्रेसको नगर अधिवेशन अन्तर्गत रुपन्देहीका नगरपालिकामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष हावी भएको छ । जिल्लाका ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा रामचन्द्र पौडेल पक्षले नेतृत्व हासिल गर्दा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैना नगरपालिकामा देउवा पक्षले नेतृत्व पाएको छ ।

सिद्धार्थनगर नगरपालिकामा पौडेल पक्षको पकड मानिन्थ्यो । तर नगर अधिवेशनमा सो नगरपालिकाबाट देउवा पक्षले नेतृत्व हासिल गरेको छ । यसअघि कृष्णप्रसाद सिटौला पक्षको नेतृत्व रहेको सैनामैना नगरपालिकामा पनि देउवा पक्षले आफ्नो उपस्थिति देखाएको छ । देउवा पक्षकै लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान दोस्रो पटक निर्विरोध सभापति बन्न सफल भए ।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयले देउवा पक्षकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पौडेल पक्षले देवदहमा पनि आफ्नो वर्चश्व कायम गरेको छ । देवदहमा पौडेल पक्षका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा पक्षका झविन्द्र भण्डारीलाई पराजित गरेका छन्

तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे विजयी भएका छन् । तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृह नगर पनि हो । १७४ मत ल्याएर सभापतिमा पाण्डे विजयी हुँदा पौडेल पक्षका नारायण न्यौपानेले १७२ मत प्राप्त गरे । सभापति पदका अर्का प्रत्यासी हरि तिवारीले ३० मत प्राप्त गरे ।

सैनामैना नगरपालिकाको सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । देउवा पक्षका उनी रुपन्देही–५ का संघीय सांसद भरत शाह निकट मानिन्छन् । शाह निकट नै मानिने मोहम्मद सइद खान लुम्बिनी सांस्कृतिक नगरपालिका सभापतिमा निर्वाचित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा लामो समयदेखि पौडेल पक्षको पकड थियो । तर यो अधिवेशनमा देउवा पक्षका कोशिस खड्काले पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरे ।

गाउँपालिकामा भने दुई पक्षबीच मिश्रित परिणाम आएको छ । जिल्लाका १० गाउँपालिकामध्ये ४ वटामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको छ भने ६ वटामा मतदान भएको थियो ।

नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार जिल्लाको गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाइको सभापतिमा अवधराम यादव, ओमसतीयाको सभापतिमा भगवानप्रसाद चौधरी र मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, कञ्चन गाउँपालिका सभापतिमा देवीराम, रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी, मायादेवी गाउँपालिकामा पदम भण्डारी, सियारीमा गोपाल पाण्डे, शुद्धोधनमा दामोदर पौड्याल, सम्मरीमाईमा रमेश यादव सभापतिमा विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप