शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरमा देखिने ‘सिस्ट’ के हो ? यो कति जोखिमपूर्ण हुन्छ ? (भिडियो)

आइतबार, १० असोज २०७८, १३ : ४२
आइतबार, १० असोज २०७८

पाठेघरको ‘सिस्ट’ सामान्यतया महिलामा आम समस्याको रुपमा देखिएको छ । सामान्य ‘सिस्ट’लाई चिकित्सकहरुले समस्याको रुपमा नलिए पनि केही जोखिमयुक्त हुने हुँदा समयमै सचेत हुन जरुरी हुन्छ । समयमै उपचार गर्ने हो भने यो समस्या पूर्ण रुपमा निको हुने चिकित्सकहरु बताउँछन् ।

सामान्यतया अण्डा उत्पादनको क्रममा कुनै बेला ‘सिस्ट’ हुन सक्छ । यो बेलामा आत्तिनुपर्ने कारण छैन । धेरैमा साना ‘सिस्ट’हरु पलाउँछ, जुन आफैँ फुटेर जान्छ पनि । तर, ठूला ‘सिस्ट’ भएमा समस्या उत्पन्न हुन सक्छ । यदि ‘सिस्ट’ भएको थाहा भएमा चिकित्सकको परामर्शमा रहँदा समस्या बढ्न पाउँदैन ।

के हो ‘सिस्ट’ ? यस्ता छन् ‘सिस्ट’का प्रकार

पाठेघरमा हुने दुईवटा नली जसलाई हामी डिम्बाशय भन्छौं । डिम्बाशयमा धेरै प्रकारका फोका अर्थात् ‘सिस्ट’ हुन सक्छन् । ‘सिस्ट’ एक प्रकारको झिल्लीदार थैली हो जसमा तरल पदार्थ, हावा वा अन्य पदार्थ हुन्छ ।

सामान्यतया महिलाको पाठेघरमा महिनामा एउटा अन्डा ठूलो हुने क्रममा फुट्छ । कहिलेकाहीँ त्यो अण्डा नफुटी फोकाको रुपमा बसिदिन सक्छ । त्यस्तोलाई ‘फलिकुलर सिस्ट’ अर्थात् सामान्य ‘सिस्ट’ भनिन्छ ।

‘फलिकुलर सिस्ट’ सानो छ भने यसबाट डराउनु पर्दैन । यो आफै हराएर जान्छ । तर यदि यो ‘सिस्ट’ ६ सेन्टीमिटरभन्दा ठूलो छ भनेचाहिँ यसले समस्या निम्त्याउन सक्छ । त्यसैले यसको समयमै उपचार गराउनु पर्छ । साना आकारका ‘सिस्ट’लाई चिकित्सकहरुले पिल्स खान दिएर निको पार्न सक्छन् । यो आफै निको पनि हुन्छ ।

‘सिस्ट’ फोकामात्रै नभएर रगतको डल्लाजस्तो भएर बसेको पनि हुन सक्छ । यस्तो अवस्थामा चाहिँ त्यसलाई उपचार गराउनुपर्छ । यस्तो ‘सिस्ट’लाई ‘फिजियोलोजिक सिस्ट’ भनिन्छ र, यी असामान्य हुन्छन् । यस्ता असामान्य ‘सिस्ट’, जस्तोः प्याथोलोजिकल सिस्ट, डर्मोइड सिस्ट, इन्डोमेट्रियोटिक सिस्ट भएको अवस्थामा शल्यक्रियाबाट निकाल्नुपर्ने हुन्छ ।

‘प्याथोलोजिकल सिस्ट’लाई बढ्न नदिन उपचार गराउनुपर्छ र बढेको छ वा छैन भन्नेबारे समय समयमा अल्ट्रासाउन्ड गराउने र बढेको पाइएमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।

त्यसैगरी ‘डर्मोइड सिस्ट’ मानिसको शरीर जस्तो हुन्छ । शरीरमा टाउकोदेखि खुट्टासम्मको भाग, बोसो, कपाल पनि यसमा देखिन्छ । यो अलि अनौठो खालको हुन्छ । यो ‘सिस्ट’को विकास भएको छ भने यसले रगतका नलीहरु बन्द गरिदिएर अन्य समस्या निम्त्याउन सक्छ । यस्तो ‘सिस्ट’ अलि जोखिमयुक्त हुने भएकाले समयमै शल्यक्रिया गरी फाल्नुपर्छ ।

‘इन्डोमेट्रियोसिस सिस्ट’ पाठेघरमा हुने तीन तहमध्ये सबैभन्दा भित्री तह हो । ‘इन्डोमेट्रियोसिस’ महिनावारीको समयमा झर्छ, जसबाट रगत निस्कन्छ । यो ‘इन्डोमेट्रियोसिस’  झर्ने क्रममा डिम्बाशयमा गएर बसिदिन वा टासिन सक्छ । हरेक समय महिनावारी हुँदा डिम्बाशयको भित्ताबाटसमेत रगत बग्छ । यो क्रममा डिम्बाशयमा टासिएको ‘टिस्यु’ त्यही रगतवाहिनी क्षेत्रमा टासिएर बस्दा फोका पलाउँछ । यो हरेक महिना ठूलो हुँदै जान्छ । त्यसैलाई ‘इन्डोमेट्रियोसिस सिस्ट’ भनिन्छ । यस्तो ‘सिस्ट’ भएको खण्डमा अण्डा उत्पादनमा समस्या हुने र उक्त क्षेत्र विषाक्त हुँदै जाने भएकाले गर्भाधानमा पनि समस्या आउँछ । कहिलेकाहीँ पाठेघरको वरिपरि यो टासिन सक्ने भएकाले आन्द्रामा पनि समस्या देखिन्छ ।

अर्को हुन्छ ‘पोलिसिस्टिक ओभरीयन’ । हरेक महिना डिम्बाशयबाट एउटा अण्डा ठूलो भएर निस्किनुपर्ने हुन्छ तर कतिपयमा भने धेरै अण्डा एकैपटक ठूलो हुने कोशिस गर्छ । यस्तो ‘सिस्ट’ धेरै देखिए पनि जोखिमयुक्त मानिँदैन तर यसको अर्को पाटो भनेको महिनावारी गडबडी र गर्भ रहन अवरोध खडा गरिदिन्छ । ‘पोलिसिस्टिक ओभरियन’लाई सामान्य भनिए पनि यसले बच्चा हुन नदिने र महिनावारी पनि अनियमित गराइदिन्छ ।   

‘सिस्ट’बाट हुने जोखिम

कतिपय ‘सिस्ट’ केही समयपछि आफै हराएर जान्छन् भने केही बढ्दै गएर जटिल समस्या निम्त्याउन सक्छन् । समयमै उपचार नगर्दा ‘सिस्ट’ वृद्धि भएर शल्यक्रिया गर्नुपर्ने हुन्छ । महिलाको पाठेघरमा देखिने ‘सिस्ट’ले बाँझोपनको जोखिम पनि बढाउँछ । समयमा उपचार नहुँदा ‘सिस्ट’ वृद्धि भई तल्लो पेट दुख्ने, यौनसम्पर्कका बेला पीडा हुने, ‘सिस्ट’ अन्यत्र पुगेमा दिसापिसाबको नलीबाट रगत बग्नेजस्ता लक्षण पनि देखिन्छ । ‘सिस्ट’ क्यान्सरको ट्युमर नभएकाले यसको जोखिम अन्य ट्युमरको तुलनामा कम हुन्छ । चिकित्सकको परामर्शमा उपचार गराउँदा निको हुन्छ ।

लक्षण तथा उपचार

‘सिस्ट’ भएमा पेट फुल्ने, तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने, महिनावारी गडबडी हुने, खान रुची नहुनेजस्ता लक्षण देखिन्छ । ‘सिस्ट’ साना उमेरका बालिकामा पनि देखिन सक्छ । सानै उमेरमा पेट दुख्ने, पेट फुल्ने, खान रुची नहुने समस्या देखिएमा ‘सिस्ट’को कारण पनि हुन सक्नेतर्फ सचेत हुनुपर्छ । साथै महिनावारी सुकिसकेका महिलामा पनि ‘सिस्ट’को समस्या हुनसक्छ । त्यसैले पेट दुख्यो वा माथिका जस्ता समस्या देखिएको छ भने एकपटक भिडियो एक्स–रे गरेर हेर्दा राम्रो हुन्छ । कहिलेकाहीँ पेट दुखेको भन्दै यतिकै बस्दा क्यान्सर भइसकेको पाइन्छ । त्यसैले यस्ता केही लक्षण देखिएका छन् भने समयमै उपचार गराउनुपर्छ ।

‘सिस्ट’को प्रकृति अनुसार यसको उपचार गरिन्छ । यदि ‘सिस्ट’ सानो र सामान्य खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफै फुटेर जान्छ वा सामान्य गर्भ निरोधक औषधि खान दिएर पनि निको पार्न सकिन्छ । सामान्य भए पनि इन्फेक्सन भएको छ वा छैन भनी परीक्षण भने गराइराख्नुपर्छ । तर, ‘सिस्ट’ धेरै ठूलो छ भने यसले डिम्बाशयमा धेरै अवरोध वा इन्फेक्सन हुन सक्ने भएकाले चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्छ । यदि धेरै ठूलो छ र असामान्य अवस्थाको छ भने समयमै शल्यक्रिया गरी निकाल्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप