बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लिभिङ टुगेदर : सम्बन्धमा दरार आएपछि प्रेमीले प्रेमिका नै चिन्दैनन्

३ वर्षमा एकै महिलाको ८ पटक गर्भपतन
आइतबार, १० असोज २०७८, १५ : १८
आइतबार, १० असोज २०७८

डेढ वर्षसम्मको प्रेम सम्बन्धपछि विशाल पौडेल र रिना मगर (नाम परिवर्तन) ‘लिभिङ टुगेदर’ बस्न थाले । विगत दुई वर्षदेखि उनीहरु लिभिङ टुगेदर बस्दै आएका थिए । पारिवारिक सहमतिबिनै लिभिङ टुगेदर बसेका उनीहरुबीच यतिबेला सम्बन्धमा दरार आएको छ, र, यो विवाद महिला आयोगसम्म आइपुगेको छ ।

लामो समय परिवार र समाजको आँखा छलेर बसिसकेपछि रिनाले यो सम्बन्धलाई विवाहमा परिणत गर्न आग्रह गरेपछि विशालले असहमति जनाए । त्यही असहमति बढ्दै गएपछि उनीहरुको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।  विवाहपछि मात्रै बच्चा जन्माउने योजना दुवैले बनाएकाले असावधानिवश बसेको गर्भलाई पनि रिनाले पतन गराइन् । पूर्व योजना अनुसार पढाइ सकेर राम्रो जागिर सुरु गरेपछि पारिवारिक अनुमतिमा वैवाहिक जीवनमा बाँधिने कुरालाई व्यवहारमा लागू गर्न कुनैपनि हालतमा विशाल तयार भएनन् । बरु उल्टै रिनालाई शारीरिक  र मानसिक तनाव दिन थाले ।

यसरी अवैधानिक रुपमा सम्बन्ध गाँसिदा हिंसा भोग्न बाध्य भएकी रिना एक्लै होइनन् । राजधानीको नाम चलेको निजी संस्थामा कार्यरत शर्मिला विक र भुवन पाण्डे (परिवर्तित नाम) तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । तत्काल पारिवारिक सहमतिबाट विवाह हुन नसक्ने भन्दै दुवैजना लिभिङ टुगेदरमा बस्न थाले । दुई वर्षसम्म सँगै बसेका भुवन घरबाट विवाहको दबाव भएको भन्दै पटक पटक शर्मिलालाई सुनाइरहन्थे । परिवारलाई सम्झाएर जसरीपनि विवाह गर्ने भन्दै भविष्यका योजना समेत रिनालाई पटकपटक सुनाइरहन्थे ।

यता शर्मिलाले भने घरमा भएकी एक्ली बुढी आमाले विवाहको लागि दबाव दिँदा आफूले विवाह गरेर बसको र अन्तरजातीय विवाह भएकाले तत्काल कसैलाई पनि थाहा नदिने भनेर आमालाई सुनाएकी थिइन् । आमालाई उपचारका क्रममा काठमाडौं ल्याउँदा तीन महिनासम्म बस्नुपर्यो जहाँ भुवन पनि सँगै थिए । र, कोठामा बस्दा भुवनलाई ज्वाइँ भनेर समेत चिनाएकी थिइन् ।

तर गएको ६ महिनादेखि यी दुईको सम्बन्धमा पनि दरार आउन थाल्यो । भुवन ६ महिनाअघि आमा बिरामी हुनुभएको भन्दै घर गएका थिए । तर आमा बिरामी भन्दै घर गएका भुवन विवाहका लागि गएका रहेछन् । भुवनको विवाह भएको कुरा शर्मिलाले एक सातापछि सामाजिक सञ्जालमार्फत थाहा पाइन् । यही विषयमा

भुवनसँग कुरा गर्दा सम्बन्ध बाहिर ल्याए नराम्रो परिणाम आउने भन्दै धम्की दिन थाले । त्यसपछि न्याय खोज्दै रिना विभिन्न ठाउँ धाउन थालेकी छिन् ।  यसरी लिभिङ टुगेदरमा रहँदा र बस्न छाडिसकेपछि हिंसामा परी न्यायका निम्ती ढोका ढक्ढकाउने महिलाको संख्या दिनानुदिन बढिरहेको छ । राष्ट्रिय महिला आयोगका अनुसार लिभिङ टुगेदर बस्दा शारीरिक र मानसिक रुपमा समस्या भोग्नुपरहेको भन्दै आयोगमा मासिक औसतमा ७ वटा उजुरी पर्ने गरेको छ । आधुनिकताका नाममा विवाह नगरिकनै सँगै बस्दा हिंसा भोग्ने महिला पछिल्लो समय प्रहरी चौकीमा समेत पुग्ने गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुवँरले बताए ।

पल्छिलो समय लिभिङ टुगेदरमा विवाहित समेत बस्ने गरेको पाइएको छ । श्रीमान श्रीमती छुट्टाछुट्टै शहरमा बस्ने तर शहरमा लिभिङ टुगेदरमा बस्ने गरेको घटनाहरु आयोगमा दर्ता पुग्ने गरेका छन् । यता आयोगका पूर्व सदस्य मनु हुमागाईले लिभिङ टुगेदर बस्ने मध्ये धेरै घर अनि समाजको आँखा छलेर बस्ने भएकाले चरम हिंसामा परेपनि बाहिर ल्याउने आँट महिलाले नगर्ने भएकाले भएजति घटना बाहिर नआएको हुमागाईको भनाइ छ ।

न्याय पाउन मुस्किल 

लिभिङ टुगेदरमा बसेर समस्या पर्ने पुरुषभन्दा महिला बढी रहेको नेपाल प्रहरीका प्रवक्ता कुँवर बताउँछन् । यसरी विवाह नगरिकनै अगाडि बढाइने सम्बन्धमा दुई जनामध्ये महिलाले यस सम्बन्धलाई विवाह नै मानेर आगाडि बढाएको पाइएको छ । अपवादमा बाहेक धेरै पुरुषहरूले यो सम्बन्धमा धोका र क्षणिक सहजताका लागि मात्रै बुझ्ने गरेको पाइएको राष्ट्रिय महिला आयोगका मुद्दा व्यवस्थापक तथा अधिवक्ता बिमला खड्काले बताइन् । सँगै बस्दा र बस्न छाडिसकेपछि हिंसामा परेर आयोगमा पुगेपनि पीडित पक्षलाई न्याय दिलाउन सकस परेको अधिवक्तासमेत रहेकी खड्काको भनाइ छ ।

लिभिङ टुगेदरमा बसिरहँदा पूर्व योजना अनुसार विवाह गरौँ भनेर एक पक्षले भनिरहँदा अर्को पक्ष अर्थात् केटाले विवाहको मिति पछिपछि सार्ने, धोका दिन उद्धेश्यले भएका प्रमाणहरु मेटाइदिने, समुदाय तथा साथीभाइलाई नचिनाउने गरेको पाइएको उनले बताइन् ।

हुन त गर्भपतन गराउनका लागि विवाह हुनैपर्ने बाध्यकारी अवस्था छैन । ८ हप्तासम्मको गर्भपतन गराउन जाँदा महिला एक्लै गएर गर्भपतन गराउन पनि सकिन्छ । तर लिभिङ टुगेदरमा बस्दा प्रेमीले गर्भनिरोधका अस्थायी साधन प्रयोग नगर्ने तर प्रेमिकालाई जवरजस्ती गर्भनिरोधका लागि आकस्मिक गर्भनिरोधक चक्की (७२ घण्टे चक्की) खुवाउने गरेको पाइएको आयोगको भनाई छ । त्यसैगरी यदि गर्भ बस्न गएको खण्डमा पनि मान्यताप्राप्त स्थानमा नजाने, मान्यताप्राप्त स्थानमा पुगिहालेमा पनि नाम, मोबाइल नम्बर आदि सत्य नबताउने गरेको पाइएको छ ।

३ वर्षकै बीचमा ८ पटकसम्म गर्भपतन !

राष्ट्रिय महिला आयोगका अनुसार ३ वर्षको अवधिमा ८ पटकसम्म गर्भपतन गराएको तर लिभिङ टुगेदरमा बसेका प्रेमीले धोका दिएको वा विवाह गर्न नमानेको भन्दै आयोगमा उजुरी लिएर आउनेको चाप बढिरहेको छ । आयोगकी मुद्दा व्यवस्थापक बिमला खड्काले रातोपाटीसँग भनिन्, ‘सँगै बस्न थालेको तीन–चार वर्ष भयो, विवाह गर्न मान्दैनन् । ५ पटकसम्म गर्भपतन गराइसके तर अहिले आएर जात मिल्दैन, घरकाले स्वीकार्दैनन् भन्दै न्यायका लागि उजुरी लिएर आउने महिलाको सङ्ख्या धेरै छ । दुबै जनाको सम्बन्धबारे कसैलाई भनिस् भने राम्रो हुँदैन भन्दै धम्की दिने गरेको र त्यही कारणले महिला मानसिक रुपमा कमजोर भई आत्महत्या गर्ने सोच मात्रै आयो भन्दै किशोरी तथा महिलाहरु न्याय खोज्दै आउनु हुन्छ ।’

आयोग पुग्दा प्रेमीले प्रेमिका नै चिन्दैनन्

उजुरीका आधारमा दुवै पक्षलाई छलफल गराउँदा धेरै जसो पुरुषले महिलालाई नचिनेको भन्दै उल्टै वादविवाद गर्ने गरेको आयोगको भनाइ छ । पीडित महिलालाई चिनेको छु भनेपनि सम्बन्धमा बसेको स्वीकार्न प्रेमी तयार नै हुँदैनन् । एउटा पक्षले सम्बन्धमा बसेको वर्षौँ भयो भनिरहँदा सत्यता देखिन्छ, तर प्रमाण अभावमा न्याय दिलाउन गाह्रो परिरहेको खड्काले बताइन् ।

उजुरीकर्ता हिंसा भयो भनेर उजुरी गर्न आउँदा उनीहरु साँच्चिकै पीडित भएपनि कानुनले प्रमाण खोज्ने हुँदा प्रमाण नष्ट भइसकेको हुँदा न्याय दिलाउन कठिन हुने खड्काको भनाई छ । उनले भनिन्, ‘कानुनी रुपमा प्रमाण जुटाउन फोटो, भिडियो वा अन्य केही प्रमाण हुँदैन । उल्टै केटाहरू म उनीसँग सम्बन्धमा बसेकै छैन, के आधारमा मलाई भन्नुहुन्छ भनेर आउँछन्, जबकि प्रमाण उनीहरुले पहिले नै मेटाइसकेका हुन्छन् ।’

आयोगमै छलफल गराउँदा पनि प्रेमीले असत्य बोलेको अवस्थामा लिभिङ टुगेदर बसेको स्थानमै गएर वरिपरिका मानिसहरुलाई सोधेर प्रमाण जुटाउने गरेको आयोगको भनाई छ । उनीहरु लिभिङ टुगेदरमा बस्दा हामी श्रीमान–श्रीमती भनेर बस्ने गरेको र त्यसैलाई आधार मानेर कारवाही प्रक्रियालाई अगाडि बढाउने गरेको आयोगको भनाइ छ । 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुँवरका अनुसार सहमतिमा दुवैजना सम्बन्धमा बस्ने तर वैवाहिक सम्बन्धमा जोडिन नचाहेपछि विभिन्न माध्यमबाट महिलालाई तनाव दिने गरेको पाइएको छ । लिभिङ टुगेदर वैधानिक तथा कानुनी सम्बन्ध नभएकाले दुवैपक्षबीच मेलमिलाप हुन नसकेको खण्डमा जवरजस्ती करणीसम्बन्धी हिंसाको आधारमा मुद्दा चलाइने गरिएको कुवँरले बताए । लिभिङ टुगेदरपछि पनि सम्बन्धमा दरार आएपछि सामाजिक सञ्जालमार्फत र प्रत्यक्ष भेटेर चरित्र हत्या गर्नेलाई कारवाही गर्ने गरिएको कुँवरको भनाइ छ ।

महिलाका लागि असुरक्षित बन्दै ‘लिभिङ टुगेदर’

विवाह नगरिकनै लिभिङ टुगेदर सम्बन्धमा बस्नु महिलाका लागि सुरक्षित नभएको महिला आयोगका मुद्दा व्यवस्थापक बिमला खड्काले बताइन् । उनले भनिन्, ‘लिभिङ टुगेदरमा बस्ने महिलाले कानुनी र व्यवहारिक रुपमा भविष्यमा यस्ता समस्या आउन सक्छन् भन्ने आंकलन गरेर मात्रै बस्नुपर्यो, नत्र भने अहिलेकै अवस्थामा लिभिङ टुगेदरमा बस्दा महिला सुरक्षित छैनन्, भएनन् ।’

विवाह नगरि पारिवारिक सहमतिमा राम्रो सम्बन्ध बनाएर बस्ने कमै छन् । नेपाली समाजमा विवाह नगरिकनै शारीरिक सम्बन्धसँगै लिभिङ टुगेदरमा बस्दा परिवार र समाजले स्वीकार गर्ने अवस्था नरहेको आयोगकी पूर्व सदस्य मनु हुमागाईले बताइन् । उनले भनिन्, ‘लिभिङ टुगेदर बसेर योजनाअनुसार विवाह गरेर दिगो सम्बन्ध बनाउने औँलामा गन्न मिल्ने मात्रै छन् । तर लिभिङ टुगेदर बस्दा झन् महिला हिंसाको शिकार बन्ने भए, हिंसाको शिकार बनेपनि विविध कारणले उक्त कुरा बाहिर ल्याउन सक्दैनन्, बाहिर ल्याउने आँट गर्दैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप