शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्राइम पेट्रोल’ मार्फत सानो पर्दामा फर्किँदै दीपक

आइतबार, १० असोज २०७८, १५ : ३३
आइतबार, १० असोज २०७८

चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नामक टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् ।

दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । गिरी यसमा होष्टको रुपमा देखिनेछन् ।

‘क्राइम पेट्रोल नेपाल’ मा मेरो जिम्मेवारी होष्टको मात्र हो’ गिरीले भने, ‘कलाकारको रुपमा भने म देखिनेछैन ।’ गिरी ‘क्राइम पेट्रोल नेपाल’ मा ‘ग्यालेक्सी फोरके’ टेलिभिजनको उद्घाटन समयदेखि जोडिएका हुन् । उक्त समय गिरीले केही फरक काम गरौँ भन्ने उद्देश्यले होस्टको जिम्मेवारी निर्वाह गर्न लागेको बताएका थिए ।

‘क्राइम पेट्रोल नेपाल ’होष्टसहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ । जसको संयोजकमा सम्पदा मल्ल रहेकी छन् भने श्रृंखलाको निर्देशनमा विशाल भण्डारी, अस्कर कलेजका विद्यार्थीहरु लगायत रहेका छन् । श्रृंखलाकाअनुसार निर्देशक परिवर्तन देख्न सकिनेछ ।

‘क्राइम पेट्रोल नेपाल’ मा प्रसारण हुने श्रृंखलाका कथा प्रहरीले अनुसन्धान गरेर सफलता हात पारेको कथा बन्ने छन् । पछिल्लो समय सुपरहिट फिल्म ‘छ माया छपक्कै’ निर्माण गरेका गिरी नयाँ फिल्मको तयारीमा पछि छन् । फिल्मको लेखन कार्य भइरहेको छ । उनी फिल्म निर्माण टिमसँग मिलेर बानेश्वरमा एक चलचित्र घर समेत निर्माण गरिरहेका छन्  । टेलिभिजन हुँदै ठुलो पर्दामा समेत राज गर्न सफल गिरीको अभिनय करियरमा रफ्तार ल्याउने काम भने उनकै निर्माण, निर्देशन र अभिनय रहेको सानो पर्दाको हास्यश्रृंखला ‘तितो सत्य’ ले गरेको थियो ।


‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ समेत लेखेकी थिइन् । ‘क्राइम पेट्रोल’ को लेखनको अलवा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्मेवारी समेत निर्वाह गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप