बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा होमियो राप्रपा : यसरी छानिँदैछन् प्रतिनिधि

अध्यक्षको दौडमा कमल थापादेखि पशुपति शमशेर राणासम्म
आइतबार, १० असोज २०७८, १६ : ३०
आइतबार, १० असोज २०७८

पूर्वपञ्चहरुको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको राप्रपाले सोहीअनुसार अहिले धमाधम जिल्ला अधिवेशनहरू गरिरहेको छ ।

अधिवेशनका लागि नेताहरुको देशव्यापी सक्रियता बढेको छ भने तोकिएको समयमा जिल्ला अधिवेशन सकिएपछि महाधिवेशन प्रतिनिधिको जोडघटाऊ गरेर औपचाचरिक रुपमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने तयारीमा नेताहरु रहेका छन् ।

महाधिवेशनबाट नेतृत्वका लागि हालका तीन अध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाका साथै युवा पुस्ताबाट राजेन्द्र लिङदेन र डा. धवलशमशेर राणा दौडमा रहेका छन् ।

यद्यपि युवापुस्ताको नेतृत्व गर्ने राणा र लिङदेनमध्ये सल्लाहमा एक जना उम्मेदवार बन्ने गरी छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ । राणाले केही महिनाअघि नै आफू अध्यक्षमा लड्ने रातोपाटीमार्फत घोषणा गरेका थिए ।

अन्य आकांक्षीले भने अहिलेसम्म औपचारिकरुपमा चुनाव लड्ने घोषणा नगरे पनि नेतृत्वका लागि आफूलाई अघि सार्दै सोहीअनुसार माहोल बनाउने प्रयास गर्दै आएका छन् ।

राप्रपाले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सक्ने गरी यसअघि कार्यतालिका सार्वजनिक गरेको भए पनि तोकिएको समयमा अधिवेशन सम्पन्न हुन नसक्ने देखिएपछि असोज २० सम्म समय थप गरेको छ । यस्तै सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्म थप गरिएको छ ।

राप्रपा नेता मोहन श्रेष्ठले महाधिवेशनका लागि हालसम्म ३७ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिए । उनले असोज २० गतेभित्र सबै जिल्लाको अधिवेशन सकिने विश्वास व्यक्त गरे ।

राप्रपाको संशोधित विधानअनुसार प्रतिनिधि चयनका साथै संगठनात्मक संरचना फरक खालको भएकाले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सकेर अहिले जिल्ला अधिवेशन भइरहेको बताउँदै श्रेष्ठले सबै नेता कार्यकर्ता महाधिवेशनका लागि उत्साहित रहेको बताए । कोरोना लगायतका कारणले जिल्ला अधिवेशन लगायतका पार्टीका अधिवेशन गर्नमा समस्या भएको उनको भनाइ छ ।

राप्रपा एकीकरणपछि पार्टीमा तीन अध्यक्षको व्यवस्था रहेकामा अब विधानअनुसार एक जनामात्रै अध्यक्ष निर्वाचित हुने भएकाले चुनावी प्रतिस्पर्धा रोचक हुने निश्चित छ । सोहीअनुसार अध्यक्षका आकांक्षीहरूले अधिवेशनसँगै आफूनिकटको भेला, छलफल र बैठकहरुलाई पनि निरन्तरता दिइरहेका छन् ।

राप्रपा अध्यक्ष डा. लोहनीले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै पार्टीले नयाँ गति लिने विश्वास व्यक्त गरे । आफ्नो उम्मेदवारीको विषयमा साथीहरुबीच छलफल जारी रहेको भन्दै उपयुक्त समयमा आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।

यस्तै अध्यक्ष थापाले पनि निकटस्थहरुसँग आफू अध्यक्ष बन्ने र माहोल पनि आफ्नो पक्षमा रहेको भन्दै पार्टीलाई चुनावपछि सशक्त ढंगले अघि बढाउने बताउँदै आएका छन् भने राणा चाहिँ अहिलेसम्म मौनजस्तै छन् । उनी जिल्ला तहको अधिवेशन सकिएसँगै प्रतिनिधि आफ्नो पक्षमा के कति आउँछन् त्यसको आधारमा अघि बढ्ने मनस्थितिमा रहेको एक नेताले बताए ।

राप्रपामा कसरी चुनिन्छन् प्रतिनिधि ?

राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सकृय सदस्यताको आधारमा छनोट हुनेछ । महाधिवेशनमा गाउँपालिका, नगर, प्रदेश सभा क्षेत्र, संघीय क्षेत्र र जिल्ला अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेगरी विधानमा व्यवस्था गरिएको छ ।

विगतमा महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन हुँदै आएकोमा यस पटकदेखि राप्रपाले सक्रिय सदस्यमार्फत नेतृत्व चयन गर्ने भएको हो । जसअनुसार राप्रपाले देशभरिका सक्रिय सदस्यमार्फत ४५ सय हाराहारीका महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गर्नेछ ।

निर्वाचन आयोगको सूचीअनुसार कुल मतदाता जनसंख्याको तराईमा ०.५ प्रतिशत, पहाडमा ०.४ प्रतिशत र हिमालमा ०.३५ प्रतिशत सक्रिय कार्यकर्ता बनाउनैपर्ने नियम राप्रपाले लागू गरेको छ । सोही सक्रिय सदस्यताका आधारमा पार्टीका गाउँदेखि जिल्ला तहबाट प्रतिनिधि चयन गरिन्छ ।

नेता श्रेष्ठले रातोपाटीसँग भने, ‘पहिला संसदीय क्षेत्रबाट प्रतिनिधि चयन हुन्थ्यो । अहिलेचाहिँ एउटा प्रदेशलाई एउटा क्षेत्र मानेर समानुपातिक समावेशिताका आधारमा ९ जनालाई प्रतिनिधि चुन्छौं । जस्तो–गोरखामा दुईवटा क्षेत्र छन्, दुई क्षेत्रमा ४ वटा प्रदेश क्षेत्रहरु छन्, त्यहाँबाट ९–९ जना गरी ३६ जना प्रतिनिधि आउँछन् ।’

त्यस्तै, संसदीय निर्वाचन क्षेत्रका अध्यक्ष, जिल्ला कमिटीका अध्यक्ष, गाउँ र नगर कमिटीका अध्यक्षहरु पनि स्वतः प्रतिनिधि चुनिन्छन् । प्रतिनिधिमा महिला, जनजाति, उत्पीडित, थारु र पिछडिएको वर्गको सहभागिता सुनिश्चित पनि राप्रपाले जनाएको छ । जसलाई सक्रिय सदस्यले चुन्छन् ।

महाधिवेशन प्रतिनिधि बन्नका लागि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्यूनतम सकृय सदस्य संख्या निर्धारण राप्रपाले गरेको थियो । तर, तोकिएको सदस्य संख्याभन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने नीति तय भएको राप्रपा नेताहरु बताउँछन् ।

राप्रपा हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी हो । प्रतिनिधिसभामा यो पार्टीको एक सिट प्रतिनिधित्व छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप