बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट सुनचाँदी व्यवसायी अपहरण, ४ जना पक्राउ

आइतबार, १० असोज २०७८, २० : ३१
आइतबार, १० असोज २०७८

हेटौंडा–११ का जितेन्द्र विश्वकर्मा आज बिहान अपहरणमा परे । सुनचाँदी व्यवसायी विश्वकर्मा घरबाट पसल खोल्न जाने क्रममा हेटौंडा–१० बासुदेव मार्गबाट अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ विश्वकर्माको अपहरणको सूचना र अपहरणमा प्रयोग गरिएको सवारीको मद्दतबाट प्रहरीले खोजीकार्य सुरु गर्याे । उनी बिहान करिब ९ बजेको समयमा हेटौंडा बजार क्षेत्रबाट अपहरणमा परेको प्रहरीले जनाएको छ ।

घरबाट पसल निस्केका जे.एस. सुनचाँदी पसलका सञ्चालक वर्ष ४० का विश्वकर्मालाई पसल अगाडिबाट ४÷५ जनाको समूहमा आएका युवाहरुले अपहरण गरेको प्रहरीको भनाई छ ।  बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित युवाहरुको समूहले विश्वकर्मालाई अपहरण गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ घर भएका विश्वकर्मा वडा नम्बर–१० बजार क्षेत्रको बासुदेवमार्ग स्थित सडकबाट अपहरणमा परेको प्रहरीको भनाई छ ।

अपहरणको सूचना र घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजीकार्य सुरु गर्यो ।  प्रहरीले अपहरण गरी लैजाने व्यक्तिहरु र कार मध्यान्ह १ बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित मकवानपुर रिकभरिङ्ग समूहको कार्यालय अगाडि फेला पार्न सफल भयो । 

त्यसलगत्तै अपहरण गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।  पक्राउ पर्नेमा हेटौडा–१० बस्ने वर्ष ३९ का विनोदलाल श्रेष्ठ, वर्ष ३० का अनिल लामा, हेटौंडा–५ बस्ने वर्ष ३२ का बुद्ध लामा र हेटौंडा–२ बस्ने वर्ष २७ का आदेश लामालाई पक्राउ गरिएको उनले बताए ।

प्रहरीले अपहरित विश्वकर्मालाई मकवानपुर रिकभरिङ्ग समूहको कार्यालय परिसरभित्र फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । विश्वकर्मालाई अपहरण मुक्त गरी सकुशल उद्धार गरिएको र पक्राउ परेका माथि थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप