मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा गुणस्तरहीन, अस्पतालमा आएका बिरामीलाई अन्यत्र रिफर

सोमबार, ११ असोज २०७८, ०६ : ५५
सोमबार, ११ असोज २०७८

नेपाल मेडिकल काउन्सिलको टोलीले अध्ययन गरेर तयार पारेको रिपोर्टले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा गुणस्तरहीन भएको देखाएको छ । अस्पतालका विशेषज्ञहरूले बिरामी नहर्ने र रेजिडेन्ट डाक्टरहरूले मात्रै बिरामी हेर्ने गरेको अध्ययनमा पाइएको हो । 

अस्पतालको व्यवस्थापन कमजोरी हुँदा बिरामीले सेवा पाउन निकै सकस भएको रिपोर्टमा उल्लेख गरिएको छ । अस्पतालको रेडियोलोजी तथा ल्याबको सेवाको अवस्था निकै तल्लो स्तरमा पुगेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ । असोज २ गतेदेखि ५ गतेसम्म  काउन्सिलले निरीक्षण गरेको थियो । त्यस अवधिमा गरिएको अध्ययनमा अस्पतालको हाताभित्र फार्मेसी सेवा नभएकाले सेवाग्राहीलाई निकै सकस  भएको पाइएको समेत पाइएको छ । यस्तै, सो अस्पतालबाट प्रत्येक दिन २० जना बिरामी बाहिर उपचारका लागि समेत रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा जनशक्ति पुग्दो मात्रा हुँदा पनि  आकस्मिक कक्षमा भिड हुने तथा व्यवस्थापकीय पक्ष कमजोर रहेको रिपोर्टले देखाएको छ ।   

यस्तो छ रिपोर्टमा

–अस्पतालमा आईसीयू बेडको कमी हुँदा आकस्मिक कक्षमा उपचारका लागि आएका नाजुक अवस्थाका बिरामीहरू अन्य अस्पतालमा रिफर गर्ने पाइयो ।

–प्रयोगशाला जाँचहरू तथा रेडियोलोजी विभागमा शीघ्र सेवा नहुँदा अन्य अस्पतालमा जान बाध्य भएको पाइयो ।

–६०–७० प्रतिशत बिरामी सिटी स्क्यान गर्न बाहिर जान बाध्य 

ओपीडी सेवाको अवस्था

–पर्याप्त जनशक्ति भए पनि ओपिडीमा आएका बिरामीलाई व्यवस्थापन तथा भौतिक संरचनाको अत्यावश्यक पुग्दो सेवा दिन नसकेको,

– ओपीडीमा बिरामीहरूको गर्नुपर्ने जाँचहरूको रिपोर्ट ढिलो आउने, कतिपय परीक्षणहरू त्यहाँभित्र नहुने, 

–अस्पतालमा हुने परीक्षणहरूका लागि धेरै समय पर्खनुपर्ने 

–परीक्षणमा ढिलाइ हुँदा बिरामीहरू प्रतिष्ठानको ढोका बाहिरको प्रयोगशालामा र अन्य अस्पतालमा जानुपर्ने   ।

रेडियोलोजी सेवाको अवस्था

–जनशक्ति भए पनि उपकरणहरूको अभावमा सेवा अत्यन्तै नाजुक अवस्था पाइयो । विभागमा तीन वटा एक्स-रे भए पनि बिग्रिरहने  मेसिनलाई नबनाउने अनि बाहिर जानुपर्ने अवस्था,

प्रयोगशाला सेवाको अवस्था

–पर्याप्त जनशक्ति भए पनि उपकरण रिएजन्ट किट जस्ता कुरा नहुँदा आधाभन्दा बढी जाँच परीक्षण प्रतिष्ठानभित्र नहुने र बाहिर  रिफर गर्ने गरेको पाइयो,

–जाँच परीक्षणका लागि समय पाउन पनि दिनहुँ कुर्नुपर्ने देखियो,

–भएका जाँच परीक्षणको रिपोर्ट धेरै ढिला गरी आउने,

–प्रयोगशालाको रिपोर्ट ठिक नआउने डाक्टरहरूको गुनासो,

 डेन्टल सेवाको अवस्था

–नेपालको सबैभन्दा पुरानो दन्त सेवा प्रदान गर्ने डेन्टल कलेजको सेवाको स्तर खस्किएको पाइयो,

–आधुनिकीकरण र नयाँ उपकरण जडान गर्नुपर्ने स्थितिमा भएका पुराना ओपिजी मेसिन पटक–पटक बिग्रिने गरेको,

–बाङ्गोटिङ्गो दाँत मिलाउन नभई नहुने लेटरल सिफालोग्रम एक्स-रे दुई वर्षदेखि थन्किएकाले सेवाग्राही इटहरी, विराटनगर जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको पाइयो,

 –डेन्टल अस्पतालका ९० प्रतिशत डेन्टल कुर्सी काम नगर्ने स्थितिमा रहेको,

–विशेषज्ञ चिकित्सकहरू सेवा प्रवाहमा समयमा विभागीय सेवा अनुपस्थित रहेको गुनासा पाइयो,

फार्मेसी सेवाको अवस्था

 –अस्पतालभित्र फार्मेसी  सेवा नभएकाले सेवाग्राहीलाई ठूलो समस्या रहेको

–अस्पतालको मूल ढोका अगाडि आवधिक रूपमा फार्मेसी रहेको पाइयो  

अस्पतालजन्य फोहोर मैला व्यवस्थापन

–फोहोर मैला व्यवस्थापन अत्यन्तै नाजुक रहेको देखियो,

–अस्पतालको खाली ठाउँमा यत्रतत्र फोहोर फालिएको पाइयो,

–सरसफाइमा ध्यान नदिएको पाइयो,

मेडिकल रेकर्ड शाखा

–अस्पतालको मेडिकल रेकर्डहरू जथाभावी राखिएको पाइयो,

–काउन्सिलको मापदण्ड अनुसार व्यवस्थित नराखिएको,  

सुझावहरू

–प्रतिष्ठानभित्रका कर्मचारी, प्रशासन, व्यवस्थापन समिति, सञ्चालक समिति बीचको समन्वयमा कमीकमजोरी देखिन्छ । प्रतिष्ठानबाट प्रदान हुने स्वास्थ्य सेवालाई अत्यन्तै प्रभावकारी बनाउन एक आपसमा समन्वयात्मक व्यवस्थापनको अत्यन्तै आवश्यक देखिन्छ ।

– स्वास्थ्योपचारका लागि अति आवश्यक उपकरणहरूको समेत अभाव भएको देखियो । बिग्रेका उपकरण नबनाउने, उपकरणहरूको समेत हिफाजत हुन नसकेको भन्ने देखियो ।  

–स्वास्थ्य उपचारका लागि आवश्यक उपकरणको समेत अभाव भएको देखियो ।

–फ्याकेल्टीहरुको योग्यता, सीप, अनुभव तथा सक्रियताको विषयमा चिकित्सा सेवा आयोगबाट समय–समयमा नियमन, नियन्त्रण  र निर्देशन हुन जरुरत देखियो ।

–प्रतिष्ठानलाई उठाउन प्रतिष्ठानको सेवाको सबै तहमा व्यवस्थित संरचना गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप