शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गड्डाचौकी नाकालाई  सहज बनाउन माग

सोमबार, ११ असोज २०७८, १० : ४३
सोमबार, ११ असोज २०७८

कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् । 

नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।

“माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पिसिआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ ।” उनले भने, “ पूर्णरुपमा अझै सहज भइसकेको छैन ।” उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताउनुभयो । यहाँ भारतीय महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्नका साथै धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । “नाकालाई स्थानीय बजारलाई निर्वाधरुपमा खुलाउनुपर्छ ।” उनले भने, “स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन ।” पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच÷छ सय नेपाली घर फर्किरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप