शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँ–तिहारकै मुखमा बजारमा गाडी अभाव

नाडा भन्छ– ९५ प्रतिशतले आयात वृद्धि भएको छ
सोमबार, ११ असोज २०७८, १२ : २३
सोमबार, ११ असोज २०७८

दसैँ–तिहारका लागि भन्दै बजारमा विभिन्न कम्पनीले आफ्ना ब्राण्डका गाडी भित्र्याउने गर्दछन् । गाडी व्यापारका लागि दसैँ–तिहारलाई मुख्य सिजन पनि मानिन्छ । तर, दसैँकै मुखमा अहिले नेपाली बजारमा गाडीको अभाव देखिएको छ । वर्ष दिनभरि कुल खपतको झण्डै ४० प्रतिशत अटो खपत हुने यही दसैँ–तिहारको मुखमा बजारमा गाडीको अभाव देखिएको हो ।

बजारमा दसैँ–तिहारको अवसरमा गाडी किन्न चाहनेहरुको लर्को लागेको छ । शोरुमहरुमा बुकिङको चाङ लागेको छ, तर गाडी छैन । पछिल्लो समय कोभिडका कारण विश्व बजारमै गाडीको उत्पादन कम हुँदा बजारमा गाडीको अभाव देखिएको व्यवसायीहरुको भनाइ छ । कोभिड संक्रमणको जोखिम, लकडाउन लगायतका कारण उपभोग्य बस्तुको समेत अभाव देखिएपछि कम्पनीहरुले गाडी उत्पादन कम गरे । तर, अहिले गाडीको माग ह्वात्तै बढेको छ । यसको प्रभाव अहिले नेपाली बजारमा समेत परेको छ ।

दसैँ–तिहारको मुखमै बजारमा गाडीको अभाव भएकाले सोचे अनुरुपको व्यापार गर्न नसकिएको टाटा मोटर्सका प्यासेन्जर सेग्मेन्टका उप–महाप्रवन्धक शावन्त जङ्ग सिजापती बताउँछन् ।‘बजारमा गाडीको माग ह्वात्तै बढेको छ, तर आपूर्ति छैन । बल्लबल्ल दुई वर्षपछि फर्किएको बजारमा पनि माग अनुसार गाडी उपलब्ध गराउन नपाउँदा दुःख लागेको छ,’ उनले भने, ‘तथापि, बुकिङ भइसकेका गाडी दसैँ–तिहारपछि उपलब्ध गराउने प्रतिवद्धता ग्राहकसँग जाहेर गरेका छौं ।’

सिजापतीका अनुसार पछिल्लो समय बढेको माग अनुसार टाटाको कमर्सियल सेग्मेन्टमा त्यति समस्या नपरे पनि प्यासेन्जर सेग्मेन्टमा भने ठूलो दबाब परेको छ । अझ बढी दबाब ई–भी (ईलेक्ट्रिक भेहिकल) को उपलब्धतामा परेको उनको भनाइ छ ।

‘दसैँ–तिहारकै मुखमा टाटा नेक्सन ई–भीको मात्र बुकिङ ६०० माथि पुगेको छ । अन्य गाडीहरुको पनि माग उस्तै छ । तर माग अनुसारको आपूर्ति छैन,’ सिजापतीले रातोपाटीसँग भने ।

यस्तो समस्या टाटामा मात्र होइन, अन्य ब्राण्डमा पनि देखा परेकोे छ । प्रायः नेपालमा भारतीय बजारबाट आयात हुने अधिकांश ब्राण्डमा ४० देखि ६० प्रतिशतसम्म आपूर्तिको समस्या महसुस भएको व्यवसायीहरु बताउँछन् ।

‘कोभिड–१९ पछि पहिलो पटक अटो बजार लयमा फर्किएको छ, ग्राहकले गाडीको किन्न चाहिरहेका छन् तर आपूर्ति छैन । त्यसो त भारतीय बजारमै गाडीको अपुग भइरहेको अवस्थामा नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो,’ सुजुकी गाडीका लागि नेपालको आधिकारिक वितरक सिजी होल्डिङ्सका बजार प्रवन्धक करुण शाक्यले भने ।

शाक्यका अनुसार पछिल्लो समय दसैँ–तिहारको अवसरमा ह्वात्तै बढेको बजार मागलाई व्यवस्थित गर्न कम्पनीले दसैँ–तिहारपछि डेलिभरी दिनेगरी बुकिङ लिने व्यवस्था मिलाएको छ ।

यस्तै समस्या प्रसिद्ध मोटर्स ब्राण्ड निसान र ड्याट्सनले पनि भोगिरहेको छ । निसान र ड्याट्सनका लागि नेपालको आधिकारिक वितरक पायोनियस् मोटोकर्पका प्रवन्ध निर्देशक ज्ञानेन्द्र चन्दले पछिल्लो समयको गाडी आपूर्तिको समस्याले बजारको माग धान्न धौधौ परेको बताए । गत वर्ष कम्पनीले ३५० देखि ४५० युनिटसम्म गाडी बेचेकोमा यो वर्ष माग बढेर दसैँ अघिनै ६०० माथि पुगिसकेको तर आपूर्ति नहुँदा डेलिभरीमा समस्या परेको उनको भनाइ छ । यद्यपि, कम्पनीले उपलब्ध गाडी बेचिरहेको छ ।

‘धन्न बेलैमा तयारी गरिएछ’

यता फक्सवागनका लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनलले भने गाडी आपूर्तिको अभावकाबीच पनि आफूहरुले समस्या झेल्नु नपरेको बताएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक विशाल घिमिरेले रातोपाटीसँग भने, ‘धन्न बेलैमा तयारी गरिएछ । अभावका बीच पनि अहिले कम्पनीले समस्या फेस गर्नु परेको छैन । दसैँ–तिहारकै लागि भनेर कम्पनीले तीन महिना अघिदेखि नै तयारी गरिरहेको थियो ।’ जसको प्रतिफल अहिले कम्पनीले ग्राहकलाई मागेको गाडी सहज डेलिभरीमा गरिरहेको उनले बताए ।

दसैँ–तिहारकै लागि भनेर कम्पनीले केही दिनभित्रै बहुप्रतीक्षित फक्सवागनको टाइगुन एसयूभी समेत नेपाल भित्र्याउँदै छ । यो भारतीय बजारमा केहीदिन अघिमात्र सार्वजनिक भएको गाडी हो ।

किन हुँदैछ गाडीको अभाव ?

कोभिड–१९ का कारण विश्व प्रभावित छ । लगभग दुई÷साढे दुई वर्ष पूर्णतः प्रभावित बजारमा वस्तु उत्पादन घट्यो । कोभिडकालमा अधिकांश उद्योगले आफ्नो उत्पादन नै रोके । अधिकांश गाडी, मेसेनरी सामान उत्पादन गर्ने कम्पनीहरु धमाधम सर्जिकल (मेडिकल) सामग्री उत्पादनतर्फ लागे । जसको प्रभाव अटो उत्पादनमा समेत प¥यो ।

अहिले क्रमशः बजार लयमा फर्किँदैछ । बजारको माग बढ्दो छ, तर उत्पादन अत्यन्त कम छ । यसैको प्रभाव अहिले अटो बजारमा परेको छ । व्यवसायीका अनुसार अहिले विश्व बजारमा गाडी निर्माणमा प्रयोग हुने चिप्सको अभाव देखिएको छ । यसले गर्दा कम्पनीहरुले चाहेर पनि गाडीको उत्पादन बढाउन सकिरहेका छैनन् । उत्पादननै कम भएपछि आपूर्तिमा समस्या पर्ने नै भयो ।

के छ त आयातको अवस्था ?

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा विभिन्न देशबाट कुल ४ लाख ७८ हजार ७२ वटा सवारी साधन नेपाल भित्रिएका छन् । यो मोटरसाइकल, स्कुटरदेखि ठूला सवारी साधनको समेत तथ्याङ्क हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी मोटरसाइकल (तीन लाख ५३ हजार ५३४ वटा) आयात भएको विभागले जनाएको छ । यस्तै, ट्याक्टर ५८ हजार ३८५, टेलर र सेमिटेलर २२ हजार ७२७  र कार, जिप, भ्यान १४ हजार ८३२ वटा आयात भएका छन् ।

सो अवधिमा विद्युतीय सवारी (हाइब्रिडसमेत गरी) अधिकतम ६ हजार ६८९ वटा आयात भएको विभागले जनाएको छ ।

यो आयात गत वर्षको तुलनामा ९४.९५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल दुई लाख ४५ हजार २२२ वटामात्र सवारी साधन नेपाल भित्रिएका थिए ।

यति धेरै आयातमा वृद्धि हुँदा पनि बजारमा अभाव देखिनुले आपूर्ति कम नभएरमात्र नभई मागचाहिँ उल्लेख्य बढेको भन्न सकिने अटोमोबाइल व्यवसायीहरुको छाता संगठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ ।

पछिल्लो समय बजारको माग ह्वात्तै बढेको तर माग बमोजिम आपूर्ति हुन नसक्दा गाडीको अभाव देखिएको नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले रातोपाटीसँग बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप