बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिस्थापन विधेयक खारेज गर्न गुरुङको माग

सोमबार, ११ असोज २०७८, १३ : ४७
सोमबार, ११ असोज २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नुअघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी लगायतले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए ।

उनले प्रतिस्थापन विधेयकमा उल्लेखित सो प्रावधान संविधानको मर्म र भावना विपरित रहेको, संविधानले भूत प्रभावी कानुन बनाउन नपाउने व्यवस्था पनि गरेकाले मान्य नहुने चेतावनी दिए । सांसद गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई क्रान्तिकारी नेताको संज्ञा दिँदै त्यो कालो धनलाई सेतो धन पार्ने कुरा दिनदहाडै किन सो प्रतिस्थापन विधेयकमा राख्ने प्रयास गरेको भन्दै प्रश्न समेत गरे । उनले सो प्रावधान संविधान र प्रचलित कानुनअनुसार पनि बदरभागी हुने भएकाले तत्काल खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रतिस्थापन विधेयकको सो प्रावधान संविधान विपरित छ । हाम्रो प्रचलित कानुनअनुसार पनि प्रतिकूल छ । यो कुराचाहिँ बदर हुनुपर्छ ।’ उनले थप भने, ‘यो असाध्यै गम्भिर छ । र मैले माननीय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । वास्तवमा यो प्रावधान खारेज हुनुपर्छ । संवैधानिक रुपबाट पनि यो बदरभागी छ । यो बदर हुनुपर्छ ।’ सांसद गुरुङले सत्ता पक्षले संसदलाई सहज ढंगले अघि बढाउन पहल नगरेकाले आफूहरुले अवरोध गरिरहनु परेको पनि स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप