शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : चितवनका ७ पालिकामा को-को चुनिए सभापति ?

सोमबार, ११ असोज २०७८, १५ : ३८
सोमबार, ११ असोज २०७८

नेपाली काँग्रेसको पालिका अधिवेशन अन्तर्गत चितवनका पालिकाहरुमा संस्थापन इतर पक्षको उपस्थिति बलियो देखिएको छ । जिल्लाका सातवटा पालिकामध्ये दुई वटा पालिकामा मात्र देउवा पक्ष विजयी भएको छ ।

भरतपुरमा चित्रसेन निर्वाचित

चितवनको भरतपुर महानगरपालिकाको नेपाली काँग्रेसको सभापतिमा चित्रसेन अधिकारी चयन भएका छन् । उनी भरतपुर महानगरपालिका–२१ का वडाध्यक्ष हुन् ।

अधिवेशनमा खसेको एक हजार ४६६ मतमध्ये उनले ६४९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी भरत अधिकारीले ५४६ प्राप्त गरे । नवनिर्वाचित सभापति चित्रसेन नेपाली काँग्रेसका माहामन्त्री शशांक पक्षधर हुन् ।

रत्ननगरमा सापकोटा निर्वाचित

नेपाली काँग्रेसको रत्ननगर नगरपालिकामाको नगर सभापतिमा प्रल्हाद सापकोटा निर्वाचित भएका छन् । सापकोटा ७८ मतान्तरले विजयी भएका हुन् ।

उनले नगर सभापतिका अर्का उम्मेदवार रुपनराज घिमिरेलाई पराजित गरेका हुन् । सापकोटाले २४६ मत प्राप्त गर्दा घिमिरेले १६८ मतमात्र प्राप्त गरे । सापकोटा नेपाली काँग्रेसको संस्थापन पक्षधर हुन् ।

त्यस्तै नगर उपसभापतिमा २ सय मतका कमलनाथ अधिकारी र २४८ मतका साथ अपिल अधिकारी निर्वाचित भएका छन् । सचिवमा २५९ मतका साथ अनिता अर्याल निर्वाचित भएकी छन् ।

राप्तीमा लामा विजयी

चितवनको राप्ती नगरपालिकाको नेपाली काँग्रेसको नगर सभापतिमा देवेन्द्र लामा निर्वाचित भएका छन् । लामाले निकटतम प्रतिस्पर्धी नारायण उप्रेतीलाई ४० मतान्तरले पराजित गरे । उनले १२७ मत प्राप्त गरे भने उप्रेतीले ८७ मत ल्याए ।

लामा गगन थापासँग निकट मानिन्छन् तर, हिजोआज उनको झुकाव संस्थापन पक्षतर्फ देखिन्छ । अधिवेशनबाट नगर उपसभापतिमा १२९ मतका साथ अनिता खरेल र ११७ मतका साथ कृष्णप्रसाद पाण्डे, सचिवमा १२९ मतका साथ राजकुमार सिलवाल र ११५ मतका साथ लक्ष्मी कँडेल निर्वाचित भएका छन् ।

खैरेनीमा श्रेष्ठ निर्वाचित

नेपाली काँग्रेस चितवनको खैरहनी नपरपालिकाको नगर सभापति गुणराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले निकटतम प्रतिस्पर्धी शशीकुमार खनियालाई ३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १४५ मत प्राप्त गरे भने खनियाले १४२ मत प्राप्त गरे ।

निर्वाचित सभापति श्रेष्ठ नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला निकट मानिन्छन् ।

कालिकामा केसी विजयी

नेपाली काँग्रेस कालिका नगरपालिकाको नगर सभापतिमा दिपेश्वर केसी विजयी भएका छन् । केसीले निकटतम प्रतिस्पर्धी लिला गुरुङलाई १० मतान्तरले पराजित गरे । केसीले ११२ मत प्राप्त गरे भने गुरुङले १०२ मत प्राप्त गरेका थिए ।

निर्वाचित सभापति केसी नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसी निकट मानिन्छन् ।

माडीमा भुसाल निर्वाचित

माडी नगरपालिकाको काँग्रेसको नगर सभापतिमा कोमलनाथ भुसाल निर्वाचित भएका छन् । उनी ३ मतान्तरले विजयी भएका हुन् । उनले खेम महत्तोलाई पराजित गरेका हुन् ।

माडीमा १४८ मत खसेकोमा भुसालले ७४ मत प्राप्त गरे भने महत्तोले ७१ मत प्राप्त गरे । भुसाल काँग्रेसको पूर्व नगरसभापति समेत हुन् ।

दुवै उम्मेदवार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

अधिवेशनबाट नगर उपसभापतिमा गणेश पौडेल र मायानाथ अधिकारी निर्वाचित भएका छन् । सचिवमा कपिल अधिकारी र लोकनाथ लामिछाने निर्विरोध चयन भएका छन् ।

इच्छाकामनामा ४ मतले श्रेष्ठले मारे बाजी

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा कृतिकुमार श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । श्रेष्ठले ४ मतले सभापतिमा बाजी मारेका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी विष्णु कुँवरलाई पराजित गरेका हुन् । उनी नेपाली काँग्रेसको पूर्व गाउँ सभापतिसमेत हुन् । निर्वाचित सभापति श्रेष्ठ नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला पक्षधर मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप