बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुभूति : अलविदा बुवा

सोमबार, ११ असोज २०७८, १६ : ००
सोमबार, ११ असोज २०७८

गोरो वर्ण, अग्लो शरीर, न दुब्लो, न मोटो, सदावहार मध्यमखाले शरीर । मैले जीवनको सैंतीसौं वसन्त पार गर्दै गर्दाको जोश र उमङ्ग भन्दा बुवाले जीवनको छयासीऔं वसन्त पार भैसक्दाको जोश र उमंगमा कति कति अन्तर ! उहाँको निडर, हक्की र जस्तोसुकै परिस्थिति पनि सहजै स्वीकार गर्न सक्ने क्षमता देखेर निकै डाहा लाग्थ्यो ।

तीन दाजुभाइ मध्येको कान्छो , आफु ५ वर्षको पनि नहुँदै आमा गुमाएको टुहुरो छोरो, आफू जवानी नहुँदै बुवा गुमाएको बेसहारा छोरो, आफु जवान हुँदै गर्दा गुमाएका दुई प्रिय दाजुको अभागी कान्छो भाइ, उमेरमा सन्तानको जन्म दिन नसकेर गाउँले र छिमेकीले भन्ने गरेको कर्महारा ! हो, उहाँकै कान्छो छोरो भएर यस धर्तीमा जन्म लिएको म पनि टुहुरो र बेसहारा बनेको महिना दिन बित्यो ।

कहिलेकाहीँ त लाग्छ, बुवा भन्दा म पो भाग्यमानी रहेछु । उहाँले त ५ वर्षमा जन्मदिने आमा गुमाउनुभएको रहेछ । मैले त कम्तिमा आफू ३७ औँ वसन्त पार गर्दासम्म पनि आमा भनेर आमाको न्यानो काखमा लुटुपुटु गर्न पाइरहेको छु र आमालाई घुर्की लगाउन पाइरहेको छु । अरूलाई दुःख, वियोग र चोट पर्दा घन्टौं बसेर सान्त्वना दिएर खुसी रहन सिकाउने म आपूmलाई दुःख र वियोग पर्दा सम्हालिन नसक्ने भई अबुझ भएको छु । म मात्रै हैन, सबै परिवार अबुझजस्तै भएका छौँ ।

एउटा गरिव किसानको छोरो भएर जन्मिएर सानोतिनो भए पनि सरकारी जागिर खानुभएको बुवाले परिवारका लागि अनि छोराछोरीका लागि गर्नुभएको त्याग र तपस्याको बयान गर्ने कुनै शब्द नै छैन । आफ्नो ठूलो दाजुको स्वर्गारोहणपछि लगभग आफ्नो उमेर सरहकी प्रिय भाउजूलाई आमा ठानेर मिलीजुली घर–व्यवहार समाल्न पाउनुभएको उहाँले भाउजूको अपार माया, साथ र सहयोग पाउनुभयो, जसका कारणले गर्दा बुवाले आमा, बुवा अनि दुई दाजुहरू गुमाउनुको आभास गर्नुपरेन ।

आदरणीय ठूलीआमा अर्थात् बुवाकी प्रिय भाउजूलाई यो उमेरमा आफ्नो प्रिय देवर गुमाउन पर्दाको पीडाले कति पोलेको होला ? मिलीजुली काम गर्दाको यादले कति तड्पाएको होला ! तीस वर्षसम्म बिहान दुई घण्टा र साँझ दुई घण्टा उकालो र ओरालो गर्दै जागिर खाँदा हजारौँ जुकाले चुसेको, जंगलमा बाघले लखटेको, भिरबाट ढुङ्गा खसेर चोट लागेको, वर्षायामको झरी र हिउँद महिनाको असिना पानीले चुट्नु चुटेको, अनि गाउँ बेँसी गर्दा पराल र धानको भारी बोकेर बनेको बज्र शरीरमा लाग्दथ्यो तर, दुई–चार सय वर्ष पनि केही हुँदैनथ्यो । जन्मेपछि मृत्यु आखिर निश्चित छ । अजम्बरी त यहाँ कोही पनि छैन । यो सब थाहा छ । र पनि महिना दिन बितिसक्दा पनि यो मनले पत्याउन सकेको छैन ।

लाग्छ, बुवा त त्यही घरको बरन्डामा बसेर परिपट्टिको बस्ती नियालिरहनु भएको छ, आँगनीमा लौरो टेकेर बुवा मुसुमुसु हाँस्दै हिँडिरहनुभएको छ, अमेरिकामा बस्ने छोरा नातिसँग अनि काठमाडौँ बस्ने छोरा, नाति र बुहारीसँग रमाइलो गफ गर्दै हुनुहुन्छ, छोरी र ज्वाइँसँग दुःख–सुःख साट्दै हुनुहुन्छ । बुवाको अन्तिम समयसम्मको हाँसो र एक किसिमको आत्मबल अनि उर्जाले बुवालाई झन् दर्बिलो बनाएकोजस्तो महशुस हुन्थ्यो ।

मृत्युको शैया भन्दा केही घण्टा अगाडिको बुवाको पीडा अनि छटपटी यो मानसपटलमा अविच्छिन्न घुमिरहन्छ । लाग्थ्यो, यत्रो दुःख, कष्ट सहेर हुर्काउनुभएको म छोरो भएर पनि बुवालाई केही गर्न सकिनँ । आँखामा आँसुको खोलो बग्थ्यो । घरमा भएका दिदी, बहिनी, श्रीमती अनि बुढी आमाको अनुहारमा हेर्दा लाग्थ्यो, उहाँहरुले पनि मैले केही गर्न सकिनँ भनेर गाली पो गरिरहनुभएको हो कि ?

बुवाले पनि मेरो छोराले मैले बोलेको केही बुझेन भनेर गाली पो गर्नु भएको छ कि ? या मलाई आर्शिवाद पो दिइरहनुभएको पो हो कि ? झनै आँसु बग्थ्यो । कसैले नदेख्ने गरी घण्टौंसम्म एकान्तमा रुन्थेँ । यो मन बेचैन हुन्थ्यो । कहाँ जाउँ, अनि के गरूँ जस्तो मात्र हुन्थ्यो ।

मैले मेरा बुवाको मृत्यु देख्न पर्ला र ? म मेरा बुवाको लासको पछि–पछि मलामी भएर हिँड्नु पर्ला र ? त्यो हँसिलो अनुहारमा मैले आगो बाल्न पर्ला र ? मैले अनि बुढी आमाले सेतो लुगा लगाएर बस्नु पर्ला र ? दिदी बहिनी अनि आफन्तको चित्कार सुन्न पर्ला र ? खोलामा गएर घिउ भात पकाएर खान पर्ला र ? आखिर यी यस्ता कुराहरु कल्पना गर्न नसक्ने म भोग्न र गर्न तयार हुनुप¥यो ।

प्रत्येक दिन बेलुकी सुत्ने बेलामा बुवासँग एकपटक फोनबाटै भए पनि सुखःअनि दुःखका कुराहरु गरेर निदाउने बानी भएको मैले बुवाको आवाजबिना निदाउने बानी पार्न परेको छ । घर जाँदा बुवासँगै रातभर गफ गर्दै बस्ने अनि सँधै उज्यालो हुने त्यो घर, आँगन सदाका लागि अन्धकार बनेको छ ।

तर के गर्नु, मन आखिर बुझाउन नसक्दा नसक्दै पनि आफ्नो दैनिकीलाई अगाडि बढाउनैपर्ने रहेछ । यो पापी पेट पाल्न र परिवारमा आफ्नो भूमिका निर्वाह गर्न हजुरले हिँड्न सिकाउनुभएको सत्कर्मको बाटोमा सदा हिँड्नेछु । स्वर्गमै बसेर भने पनि मलाई सदा आर्शिवाद दिनु होला ।

यी केही हरफहरू लेख्दै गर्दा आँखाको कुनाबाट निस्केको आँसुले थप लेख्न नसक्ने भएँ । अलविदा बुवा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश अधिकारी (नयाँघरे)
दिनेश अधिकारी (नयाँघरे)
लेखकबाट थप