बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक

‘तोकिएकै मितिमा कांग्रेसको महाधिवेशन हुन्छ’
सोमबार, ११ असोज २०७८, १६ : २६
सोमबार, ११ असोज २०७८

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने नेता लेखकको दाबी छ ।

‘गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहरु छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाई भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ’, लेखकको भनाइ छ ।

तोकिएकै मितिमा महाधिवेशन

नेता लेखकले तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशनपनि सम्पन्न हुने पनि बताए । उनले भने,‘हामी १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा छौं । महाधिवेशन प्रक्रिया सुरु भैसकेको छ । क्रियाशिल सदस्यताको विवाद छैन् । ६९ जिल्लाको क्रियाशिल सदस्यताको कामकुरा सम्पन्न भैसकेको छ । अन्तिम नामावलीसमेत प्रकाशित भैसकेको छ,’ उनले ८ जिल्लाको क्रियाशिल सदस्यताबारे निर्णयबमोजिम कार्यसम्पादन गर्ने निर्णय भैसकेको भन्दै केही काम बाँकी रहेको बताए । ‘ आज/भोलिमा यी काम सम्पन्न हुनेछ । क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ’, उनको भनाइ छ ।

दसैँअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने पनि लेखकले बताए । ‘कुनै–कुनै जिल्लामा विषम परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दसैंभित्रै अधिवेशन गर्ने लक्ष्य छ । दसैंअघि भित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भैसक्छन् । अहिले पनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भैसकेको छ । महाधिवेशन तयारी अघि बढिसकेको छ । हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौं’, नेता लेखकको दावी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप