शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा चालक अभाव हुँदा इन्धनको हाहाकार

सोमबार, ११ असोज २०७८, १६ : ५१
सोमबार, ११ असोज २०७८

बेलायतमा इन्धनको अभाव भएको छ ।  लाइनमा बस्दा पनि कतै इन्धन सकिने पो हो कि भन्ने चिन्ता उपभोक्तामा देखिने गरेको छ  भने अधिकांश पेट्रोल पम्पहरुले प्रतिगाडी ३० पाउण्डसम्म मात्र सिमित गरिदिएका छन् । जसले गर्दा लामो समयसम्म पर्खिएर पनि आवश्यकता अनुसार इन्धन भर्न पाइँदैन । धेरै पम्पहरुमा ‘सरि नो फ्यूल’ भन्ने सूचना टाँसिएका छन् भने कतिपय पम्पहरु बन्द अवस्थामा छन् । 

बेलायतमा ८ हजार भन्दा बढी पेट्रोल स्टेशनहरु छन् भने झन्डै ६ हजार पेट्रोल स्टेशन पूर्ण रुपमा सुख्खा अवस्थामा छन् । त्यस्तै बाँकी रहेका पनि चाडै रित्तिने अवस्थामा छन् । मानिसहरुले जेरिकिनमा इन्धन भरेर गाडीको बुटमा राखेको र प्लास्टिकको सपिङ ब्यागमा समेत तेल भरेको भिडियोले मानिसहरु कति आतंकित भएको स्पष्ट बुझ्न सकिन्छ ।

किन भयो त बेलायतमा इन्धनको अभाव ?

बेलायतमा लरी ड्राइभरको अभाव हुँदा केही दिनयता अधिकांश पेट्रोल स्टेशन (पम्प) हरु रित्तिएका हुन् । कोरोना महामारीका कारण नयाँ चालक अनुमति पत्रमा भएको ढिलाई तथा  ब्रेक्जिटका कारण युरोपियन मुलुकका कामदार फिर्ता हुनु जस्ता कारणले अहिले करिब ९० हजार लरी ड्राइभरको अभाव भएको अधिकारीहरुले बताएका छन् । 

मालसामान ढुवानीमा समस्या हुँदा इन्धनका साथै खाद्यान्न समेतको अभावका कारण कतिपय सुपरमार्केटहरु रित्तिएका छन् । कतिपय ठूला ठूला फास्टफुडका मेनुहरु नै हटाइएका छन् । क्रिसमस नजिकिँदै गर्दा उक्त समयमा खाद्यान्न लगायतका सामग्रीहरुको ठूलो अभाव हुने आंकलन गरिएको छ । सरकारले भने अभाव नभएको र अभाव हुन नदिने बताउँदै मानिसहरुले अनावश्यक रुपमा संकटको अवस्था सृजना गरेको बताएको छ । तर वास्तविकता भने नितान्त फरक छ ।

यातायात मन्त्री ग्रान्ट शाप्सले इन्धनको अभाव नरहेको दावी गर्दै आफूलाई आवश्यकता परेको समयमा मात्र इन्धन हाल्न मानिसहरुलाई आग्रह गरेका छन् । 

आगामी क्रिसमसमा मालसामानको अभाव हुन् नदिन १० हजार पाँच सय लरी ड्राइभरलाई अस्थायी भिसा दिने तयारी भैरहेको पनि उनले बताए । देशमा भएको संकटलाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि लरी ड्राइभरका लागि अस्थायी भिसा प्रणाली लागू गर्ने भएको हो ।

बेलायतमा अझै कम्तिमा पनि एक साता इन्धन अभाव हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप