बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजश्वमा चौधरी ग्रुपको १४ अर्ब २८ करोड रूपैयाँ योगदान

सोमबार, ११ असोज २०७८, १८ : १६
सोमबार, ११ असोज २०७८

काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ । नेपाली काँग्रेसका सांसद उद्योगी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको ग्रुपले जनाएको छ ।

पछिल्लो बर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ । एउटा ब्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान भएको पनि चौधरी ग्रुपले दावी गरेको छ । 

कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई ब्यापारिक कारोबारमा ब्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो ।

सांसद एवं ग्रुपका अध्यक्ष चौधरीले कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले उत्साहित बनाएको बताए । उनले स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्ने विश्वास लिएको बताए ।

विगत ४ आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड  रूपैयाँ योगदान गरेको जनाएको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ । यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एकमात्र डलर अर्बपतिको सूचीमा रहेका छन् । 

गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए । स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो । ग्रुपका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको बताए । ‘अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राइसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ’, ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी नेपालका धेरै क्षेत्रहरुमा लगानी विस्तार गरिरहेका छौं र चालु आर्थिक बर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ । नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सदैव गर्वको विषय हो ।’

यसैबीच नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार केन्द्रिय कमिटी बैठकमा विश्वका अर्बपतिको सूचीमा रहेका तर नेपाल सरकारलाई कर बुझाउनेमा भने नाम नआउने भनि विनोद चौधरीलाई लक्षित गर्दै टिप्पणी गरेको भन्ने विषयमा ध्यानाकर्षण गराउँदा चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले यदि प्रधानमन्त्री भइसकेको व्यक्तिलाई यस बिषयमा जानकारी नभएको हो भने त्योभन्दा दुःखद कुरा अरु के हुनसक्छ भनि प्रतिक्रिया दिए । ‘चौधरी ग्रुपले प्रत्येक वर्ष सरकारलाई बुझाएको करका बारेमा सार्वजनिक विज्ञप्ति मार्फत जानकारी गराउँदै आएको छ । र, नेपालमा सम्भवतः हामीले मात्रै पारदर्शी रूपमा करको विवरण सार्वजनिक गर्दै आएका छौं’ प्रवक्ता पौडेलले भने । 

लगानी विस्तार, रोजगारी श्रृजना र विकास परियोजना कार्यान्वयन जस्ता राष्ट्रिय विकास एजेण्डाका बारेमा राजनीतिक पूर्वाग्रह त्याग्नु नै देशका लागि हितकर हुने सुझाव पनि पौडेलको छ । पूर्व प्रधानमन्त्री ओलीको राजनीतिक पूर्वाग्रहका कारण सीजीले टेलिकममा लगानी गर्न नपाएको, जसका कारण सयौँ रोजगारी गुमेको पनि उनले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप