शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कार्यदलको संयोजक भीम रावल तोकिए

सोमबार, ११ असोज २०७८, १९ : ४८
सोमबार, ११ असोज २०७८

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल पुनर्गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यसअघि एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोमबारको बैठकले रावललाई संयोजक तोक्दै सदस्यमा शंकर पोखरेल थपेको हो ।
‘भीम रावललाई कार्यदलको संयोजक तोकिएको छ । पहिला ६ जना हुनुहुन्थ्यो अहिले एक जना शंकर पोखरेललाई पनि समावेश गरिएको छ । कार्यदलको बैठक भोली नै भीम रावलले बोलाउनु भएको छ । देशभरी कहाँ कहाँ कार्यान्वयन भएको छैन उहाँहरुले कार्यान्वयनका लागि सहजीकरण गर्नुहुन्छ’, बैठकपछि भट्टराईले जानकारी दिए । 

बैठकमा १० बुँदेलाई अध्यक्ष केपी ओलीले सकारात्मक ढंगले कार्यन्वयन गर्ने कुरा गरेका थिए । ‘त्यसक्रममा पुर्व एमालेमा देखिएको समूह बदलीको अवस्थालाई एकतावद्ध गर्ने, जहाँ जहा समस्या छन् । धेरै ठाउमा छैनन् । १० बुँदे कसैका निम्ती आतंक होइन, कहिँकहिँ समस्या देखिएका छन् । ति समस्या पनि सम्बन्धित जिम्मेवारी दिएका साथीहरुले नै हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनुभएको छ’, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।
त्यस्तै मोर्चा फाँटमा देखिएको विवाद विधान महाधिवेशन अघि नै कार्यदलले समाधान गर्न ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई अध्यक्ष ओलीले निर्देशन दिएका छन् । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका बारेमा थप स्पस्ट हुनेगरी छलफल गर्नुका साथै विधान महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई एकरुपताका साथ अघि बढाउने सहमति भएको भट्टराईले बताए । 

आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेताहरुले अध्यक्षको दस्तावेजमा समाजवाद, जबज लगायतका विषय अस्पष्ट भएको भन्दै फरक मत राखेका थिए । तिनै विषयमा समाजवादमा जाने ठोस योजनाका बारेमा अझै छलफल गर्दै जान सकिने बैठकमा अध्यक्ष केपी ओलीले बताएका थिए । त्यस्तै सोमबारको एमाले बैठकले मुख्य प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्न अन्य सवै राजनीतिक शक्तिहरूसँग एकतावद्ध हुदै अगाडि बढ्ने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढंगले अघि बढ्ने निर्णय गरेको छ । 

त्यसक्रममा कम्युनिस्ट पार्टीमा देखिएका विभिन्न चिन्तनसँग वैचारिक संघर्ष गर्दै अघि बढ्ने प्रतिवेदनमा समेटिएको विषयलाई थप स्पस्ट पारेको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप