बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२५ वर्षअघि कलकत्तामा युवती बेचेको घटना : फोटोबाट अनुसन्धान

एकजना आरोपी पक्राउ
सोमबार, ११ असोज २०७८, २० : ४०
सोमबार, ११ असोज २०७८

आजभन्दा २५ वर्षअघि काभ्रे घर भएकी एकजना युवती बेचिइन् । भारतको कलकत्तामा लगेर दुईजना पुरुष र एकजना महिलाले उनलाई भारतीय रुपैयाँ ३० हजार लिएर नेपाली महिलाले चलाएको कोठीमा बेचेका थिए । 
२०५३ असारमा ती युवतीलाई वेश्यालयमा बेचेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको पेप्सीकोलाबाट एक जनालाई पक्राउ गरेको छ । 

काभ्रेको बेथानचोक गाउँपालिका–३ घर भई अहिले पेप्सिकोला बस्ने ४८ वर्षीया लक्ष्मी परियारलाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।  लक्ष्मीलाई ब्यूरोले असोज ६ मा पक्रेर मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४ अनुसार अनुसन्धान गरिरहेको छ । गाउँबाट काठमाडौंमा ल्याएर ति युवतीलाई लक्ष्मीले एकजना युवकसँग भेट गराइन् । 

न्यूरोडस्थित होटलमा युवतीसँग दुई दिन बसेपछि युवकले ‘विवाह गर्छु’ भनेर अर्को आश्वासन देखाए । युवकसँगै दुई दिन राखेर उनीहरुले मकवानपुरको हेटौंडास्थित एउटा घरमा ‘खाना पकाउने र लुगा धुने काम लगाइदिन्छौँ’ भनेर दुईजना पुरुषको साथमा ट्रकमा चढाएर पठाए ।  

मुग्लिन पुगेपछि ट्रकबाट ओराले, बसमा चढाएर काँकडभिट्टा हुँदै उनलाई कलकत्ता लगियो । वेश्यालयमा उनीहरुले ३० हजारमा बेचे । ती युवती बिरामी परिन्, कोठी सञ्चालकले उपचारको लागि अस्पताल लगेका थिए । अनि, त्यहाँबाट आँखा छलेर उनी भागिन् । संयुक्त नेपाली केन्द्रीय सेवा संघको समन्वयमा उनको उद्धार गरियो ।  २०५३ साउन १ मा उनी काठमाडौं फर्किइन् । 

फोटोबाट अनुसन्धान 
काठमाडौं आएपछि पीडितले हनुमानढोकामा उजुर गरिन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई त्यतिबेला हनुमानढोका भनेर चिनिन्थ्यो । लामो समय आफुलाई बेच्नेहरू पक्राउ नपर्दा पीडितमा न्यायको आश हराएको थियो । तर, २५ वर्षपछि उनलाई खोज्दै प्रहरी पुगे । अनि, फोटो देखाएर सोधे–‘उँहालाई चिन्नुहुन्छ ?’ 

पीडितले भनिन्– ‘मलाई बेच्ने मध्येको एउटी उही हो !’ त्यसपछि प्रहरी लक्ष्मी परियारको खोजीमा जुट्यो । प्रहरीको पुरानो फाइलमा उनको फोटो नत्थी गरेर राखिएको रहेछ ।  ‘पुराना फाइल हेर्दै थियौं’ एसएसपी चन्दले भनिन्– ‘फोटोबाट पहिचान खुलेपछि लक्ष्मीलाई पक्रिएर मुद्दा चलाएका छौं ।’ लक्ष्मी परियारले आफुलाई लक्ष्मी केसी र लक्ष्मी विश्वकर्मा भनेर वास्तविक थर लुकाएर बसेकी थिइन् । तर, २५ वर्षपछि पनि उनले अपराधबाट मुक्ति पाइनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप