शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनिस ला लिगाम सेल्टा भिगोको कठिन जित

मङ्गलबार, १२ असोज २०७८, १० : ३६
मङ्गलबार, १२ असोज २०७८

सेल्टा भिगोले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेल्टा भिगोले ग्रानाडालाई १–० गोलले हरायो ।प्रतिस्पर्धात्मक खेलमा सेल्टा भिगोको जितमा डेनिस स्वारेजले नायक बने । मिडफिल्डर स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा सान्ति मिनाको पासमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

यसअघि ७३औं मिनेटमा इयागो आसपासले पेनाल्टी मिस गरेपछि सेल्टा भिगो तनाबमा देखिएको थियो । ७३ प्रतिशत बल पोसेसन राखेको सेल्टा भिगोले गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । सेल्टा भिगोले खेलभर १४ वटा पोस्ट प्रहार गर्यो । यता सात वटा पोस्ट प्रहार गरेको पाहुना टोली ग्रानाडा अन्तिममा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो । निर्णायक गोल गरेका डेनिस स्वारेज ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै सेल्टा भिगो १३औं स्थानमा उक्लिएको छ । सात खेल सकेको सेल्टा भिगोको सात नै अंक छ । पराजित ग्रानाडा तीन अंक सहित १८औं स्थानमा छ । लिगको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको सात खेलबाट १७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ । तेस्रो स्थानमा रहेको सेभियाले ६ खेलबाट १४ अंक बनाएको छ । सेभियाले समान १४ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिडलाई गोल अन्तरका आधारमा पछि पारेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप