शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेशियाबाट फर्किनेहरूले ल्याएको ८ सय ग्राम सुन विमानस्थलबाट बरामद

मङ्गलबार, १२ असोज २०७८, १३ : ४६
मङ्गलबार, १२ असोज २०७८

मलेशियाबाट नेपाल फर्किएका यात्रुलाई सुन कारोबार गर्नेहरुले पठाएको भनिएको करिब ८ सय ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।१५ जना यात्रुको साथबाट ७५० ग्राम बराबरको बाला र सिक्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बाँस्तोलाले रातोपाटीलाई बताए ।

सुन संकलन गर्न गएका दुईजनालाई प्रहरीले ३ थान बाला सहित पक्राउ गरेको छ । सो बालाको तौल ४९ दशमलव ९ ग्राम छ । मलेशियाबाट सिंगापुर ट्रान्जिट हुँदै काठमाडौं आएका यात्रुको साथबाट विमानस्थलमा सुन संकलन गर्न जाँदा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय समुन्द्र दंगाल र संखुवासभा घर भएका ४३ वर्षीय सन्तवीर राई छन् ।

विदेशबाट सुन लिएर आउनेले सो सुन ‘मेरो होइन्’ भनेर स्वघोषणा गरेपछि उनिहरुलाई रिहा गरेर  सुन मात्र बरामद गरिएको एसएसपी बाँस्तोलाले बताए । सुन तस्करी गर्ने समूहले विदेशबाट फर्किनेहरूलाई ‘भरिया’ बनाएर १४ थान बाला र १ थान सिक्री पठाएको सुराकीका आधारमा अपराध महाशाखा र विमानस्थल प्रहरीले अप्रेशन चलाएको थियो ।

मलेशिया विमानस्थलबाट सुन पठाउनेहरूले नेपालमा ओर्लिएपछि ‘सामान काठमाडौं विमानस्थल आसपास तथा होटलहरूमा रिसिभ गर्न आउनेलाई दिनु’ भनेर पठाएको सुन ल्याउनेहरूले बताएका छन् । बरामद गरेको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बाँस्तोलाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप