शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० बुँदे कार्यान्वयनको समस्या समाधान गरेर अघि बढ्ने एमाले कार्यदलको निष्कर्ष

लेखराज भट्टले भने – सुदूरपश्चिम प्रदेशको इन्चार्ज म हुँ
मङ्गलबार, १२ असोज २०७८, १७ : ३२
मङ्गलबार, १२ असोज २०७८

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको दश बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायबारे छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए । उनले भने, ‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरु समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकुल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौं । दश बुँदेको कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ । जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ ।’ 

रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउने बताए । बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए । उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै रहेको दावी समेत गरे ।

कार्यदल संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ । संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे ।

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप