शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपभोक्ता नठगिउन् भनेर बोलाएको बैठकमा सांसदहरू नै ठगिए !

सांसदहरूले चियामा चोप्दै खाइरहेको बिस्कुटमै खोट (भिडियो)
मङ्गलबार, १२ असोज २०७८, १७ : ३९
मङ्गलबार, १२ असोज २०७८

बैठकमा सांसदहरू चियामा बिस्कुट चोपेर धमाधम खाइरहेका थिए । केही सरकारी कर्मचारीले पनि चिया बिस्कुट खाइरहेका थिए । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार संसद् सचिवालयमा डाकेको बैठकमा समितिले सांसद तथा आगन्तुकलाई चिया बिस्कुट खाजा खुवाएको थियो । 

बैठकको मूल उद्देश्य थियो–‘चाडपर्वका बेला उपभोक्ता नठगिउन्, उनीहरूले सर्वसुलभ रूपमा खाद्यान्न पाउन, बजार अनुगमन राम्रो होस ।’ बैठकमा विभिन्न सरोकारवाला निकायका १५ जना सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको थियो । जसमध्ये एकजना थिए वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल । 

उनले खाजाको रूपमा आफ्नो अगाडि बिस्कुटको पुरिया आइपुग्ने बित्तिकै त्यसको चारैतर्फ हेरे र त्यत्तिकै राखे । समितिका सभापति विमल श्रीवास्तव, सचिव झलक शर्मा सापकोटाले चिया बिस्कुट खाए । यस्तै सांसद किसन श्रेष्ठले पनि चिया बिस्कुट खाए । संसदीय समितिका अधिकांश बैठकमा चिनियाँ भाषाको खोल भएको उक्त बिस्कुट खाजाका रूपमा दिइँदै आइएको छ । 

जब वाणिज्य विभागका महानिर्देशक पौडेलको बोल्ने पालो आयो, उनले समितिको बैठकमा बाँडिएको बिस्कुटमा खोट देखाए । उनले बिस्कुटमा स्पष्ट लेबल, उत्पादन मिति, म्याद सकिने मिति नभएको भन्दै यस्ता खाद्यपदार्थ संसद्को समितिसम्म आइपुगेको भन्दै आश्चर्य व्यक्त गरे । 

उनले बिस्कुटको पुरिया देखाउँदै भने–‘यो बस्तु के के मिलाएर बनाइएको छ, स्पष्ट देखिँदैन । नेपालीले बुझ्ने भाषामा हुनुप-यो । मार्केडेड बाई डिस्ट्रिब्युटर बाई केही पनि छैन । यसको उपभोग्य मिति कहिले सकिन्छ भन्ने स्पष्ट छैन । हामीले अहिले संसदीय समितिमा बजार अनुगमनको बारेमा कुरा गरिरहेका छौँ । वाणिज्य विभागका १० जना कर्मचारीले दर्ता गर्नेदेखि लिएर ७७ वटै जिल्लाको कुना कुना गएर अनुगमन पनि गर्नुपर्ने अवस्था छ । कानुनमा भएको व्यवस्था अनुसार हाम्रो क्षमता पनि बिस्तार गरिदिएको भए हुन्थ्यो । यो नीति बनाउने ठाउँ हो । यो समस्याबारे सबैलाई थाहा हुन आवश्यक छ ।’

उनले बजार अनुगमनको जिम्मेवारी वाणिज्य विभागलाई मात्र नदिएको बताउँदै संविधानले स्थानीय तहलाई पनि यसको जिम्मेवारी दिएको बताए । संविधानको अनुसूची ८ मा अहिले वाणिज्य विभागले गरेको ९० प्रतिशत काम त्यो स्थानीय तहले गर्नुपर्ने काम हो । उनले संविधान  र कानुनले स्थानीय तहलाई दिएको काम वाणिज्य विभागले गरिरहेको बताए ।

उनले भने–‘स्थानीय तहले गर्नुपर्ने काम हामीले किन गरिरहेका छौँ भने स्थानीय तह सक्षम छैन, कर्मचारी पठाएको छैन वा सरकारले काम गरेन भनेको बेला संघीय सरकार बोल्नुपरेको भएर त्यो काम खापेको मात्र हो ।’ उनले बजार अनुगमन गर्नका लागि पर्याप्त जनशक्ति नहुनुका साथै विदेशबाट आयात हुने खाद्यसामग्री र त्यसको मूल्यको बारेमा पनि आँकडा राख्ने पद्धति प्रभावकारी नभएका कारण व्यापारीले अनियन्त्रित ढङ्गले मूल्यवृद्धि गरेको बताए । 

उनले नेपालमा खाद्य बस्तुको मूल्य यति हुनुपर्छ भनेर तोक्ने निकाय नै नभएको नभएका कारण पनि खाने तेल लगायतका अन्य खाद्यवस्तुको आफूखुसी मूल्य वृद्धि भइरहेको बताए । 

महानिर्देशक पौडेल भन्छन्–‘बजारमा यस्तो बिस्कुट भेटिए सिधै कारबाही गर्छौँ’

समितिको बैठकपछि रातोपाटीसँग कुरा गर्दै विभागका महानिर्देशक पौडेलले बजार अनुगमनका क्रममा संसदीय समितिमा त्यस्तो बिस्कुट भेटिए कारबाही गरिने उल्लेख गरे । उनले सो बिस्कुटको बारेमा आयातकर्ता, वितरक र विक्रेताले वाणिज्य विभाग र उपभोक्तालाई स्पष्ट पार्नुपर्ने बताउँदै संसदीय समितिमा फेला परेको सो बिस्कुटबारे विभागबाट कर्मचारी पठाएर बुझ्ने उल्लेख गरे । उनले विभागले एक पुरिया बिस्कुट अध्ययनका लागि लैजाने जानकारी दिए । हामीले सो बिस्कुटमा राखिएको कम्पनीको वेबसाइट ठेगाना www.meidan.com.cn लगइन गर्न खोज्दा वेबसाइट खुलेन । 

संसद् सचिवालयमा अर्याल होटेल प्रा.ली.ले ठेक्कामा क्यान्टिन सञ्चालन गर्दै आएको छ । सो होटलले सो बिस्कुट लगायतका अन्य खाजा उपलब्ध गराउँदै आएको छ ।

समिति सभापति श्रीस्वास्तवले भने– भोलिदेखि त्यो बिस्कुट हटाउँन लगाउछौँ

वाणिज्य विभागका महानिर्देशक पौडेलले संसदीय समितिमा खाजाका रुपमा दिइएको बिस्कुटको प्याकेटमै कुनै लेवल नभएको, प्याकिङ र म्याद सकिने मिति नभएको, वितरकको विवरण नभएको खोट औंल्याइदिएपछि समितिका सभापति विमल श्रीवास्तव तथा सांसदहरु नाजवाफ भएका थिए ।

बजारमा दैनिक उपभोग्य बस्तुको अनुगमनबारे जवाफ माग्न र आवश्यक निर्देशन दिन बोलाइएका पदाधिकारीले नै आफूले खाजाका रुपमा उनलाई दिएको बिस्कुटनै गुणस्तरहीन बताइदिएपछि सांसदहरुले त्यसबारे कुनै टिप्पणी गरेनन् । समितिका सभापति श्रीवास्तवले अब समितिका बैठकमा उक्त बिस्कुट ल्याउन बन्द गर्ने बताए । 

रातोपाटीसँग कुरा गर्दै उनले भने–‘त्यो विस्कुट संसदको क्यान्टिनबाट ल्याएको हो । भोलिदेखि क्यान्टिनबाट सो बिस्कुट हटाउँन लगाउछु । आइन्दा यस्तो विस्कुट नल्याउन भन्छु । संसदको महासचिवलाई पनि यस्ता कुराहरुमा हेरबिचार गर्न भन्छु । आज सम्बन्धित निकायले बिस्कुटको प्याकेटमा हुनुपर्ने कुरा नभएको औंल्याइदियो । भोलिबाट हामी त्यही गर्छौँ ।’

हेर्नुहोस् भिडियो :  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप