शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित

हटलाइन सेवा शुरु, खबर आएको १५ मिनेटमा फिल्डमा
मङ्गलबार, १२ असोज २०७८, २२ : ११
मङ्गलबार, १२ असोज २०७८

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । 

नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुप खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी संरचना तयार गरिएको हाछेथुले बताए । 

यसअघि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको हटलाइन नम्बर राखेर नगर प्रहरीलाई चौबिस घण्टा नगरवासीको सहयोगमा परिचालन हुन निर्देशन दिएका थिए । पुल्चोकस्थित दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ । सो भवनको ब्यारेकमा ७८ जना नगर प्रहरीलाई बस्ने व्यवस्था मिलाइएको छ । 

महानगरका स्थानीयले कन्ट्रोल रुपमा फोन गरेपछि रातको समयमा १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी गाडी र रिजर्भ फौज तयारी अवस्थामा राख्न थालिएको छ । रातको समयमा हुने अनुमति बिनाका निर्माण कार्य, होर्डिङ बोर्ड र पोष्ट टाँस्ने काम रोक्न पनि नगर प्रहरी परिचालन प्रभावकारी हुने महानगरको निष्कर्ष छ । 

नगर क्षेत्रमा साँझ १० बजेसम्म नियमित ड्युटी गर्ने नगर प्रहरीले नगरवासीलाई ठुला पर्वमा बजार क्षेत्रमा किनमेल गर्ने ग्राहक र व्यापारीलाई पनि सहजीकरण गर्ने योजना लागू गरेको छ ।  रातको सयममा जात्रा पनि चल्ने हुनाले २४ सै घण्टा नगर प्रहरी परिचालन गर्दा सुरक्षामा पनि सहयोग पुग्ने नगर प्रहरी प्रमुख हाछेथुले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप