बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

बुधबार, १३ असोज २०७८, १५ : ०८
बुधबार, १३ असोज २०७८

मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरिएको छ । वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ (भोजपुर), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल (पाल्पा), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव (सिरहा)लाई प्रदान गरिने समाजका सभापति गोविन्द खनालले जनाएका छन् ।

यस्तै, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल (बाँके), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी (पाल्पा), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी (संखुवासभा) र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त (रुपन्देही)लाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।

यसैगरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर (भक्तपुर), भुमीप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल (सुनसरी), जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ (मकवानपुर), राधादेवी दाहाल स्रष्टा सौगात मनु विक (पाल्पा), जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य (काठमाडौं), पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया (हुम्ला), श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल (तनहुँ) र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरी (कैलाली)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृति प्रकाशित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरी २० हजार राशीसहितका पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका सभापति खनालले जनाए ।

एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

को हुन् पुरस्कृत स्रष्टा ?

१. श्रवण मुकारुङ :  वि.स. २०२५ जेठ २६ गते भोजपुरमा जन्मिएका स्रष्टा श्रवण मुकारुङका वहुचर्चित कवितासंग्रह बिसे नगर्चीको बयान, देश खोज्दै जाँदा कवितासंग्रह, यलम्बर नाटक, हिउँको दरबार गीतसंग्रह गरी ९ वटा कृति प्रकाशित छन् ।

२. प्रा.डा.वेणीमाधव ढकाल : वि.सं. २००६ पुस २६ गते पाल्पामा जन्मिएका स्रष्टा वेणीमाधव ढकालका नेपालीमा आधा दर्जन महाकाव्य र खण्डकाव्य प्रकाशित छन् । संस्कृत भाषामा ढकालले आधा दर्जन बढी पाठ्यग्रन्थ लेखेका छन् भने संस्कृत विश्वविद्यालयमा पाठ्यक्रम निर्माण एवं पुनर्लेखनमा समेत योगदान गरेका छन् । ढकालका लिच्छिविकालिका नामभिलेखानां साहित्यिकमनुशीलनम्, मल्लकालिकानां नाटक्रानां विश्लेषणात्मक मध्ययनम्सहित तीन वटा सोधप्रबन्ध छन् भने विद्यावारीधिप्रयुक्तका क्रममा १० वटाको सोधनिर्देशक समेत छन् । यसैगरी उनले आधा दर्जन बढी संस्कृत ग्रन्थको अनुवादसमेत गरेका छन् ।

३. रामरिझन यादव : वि.सं. २०१६ फागुन १७ गते सनहैठा सिरहामा जन्मिएका स्रष्टा रामरिझन यादवका लेखन तथा सम्पादनमा मैथिली तथा नेपाली भाषामा वातावरणीय समस्या र समाधान, विज्ञान र वातावरण, मधेसी मुक्ति आन्दोलन, नेपालको मधेसी समुदायको समस्या र समाधानको बाटोसहित ८ वटा कृति प्रकाशित छन् । वरिष्ठ पत्रकार यादवले १७ वर्षसम्म वनस्पति शास्त्रको प्राध्यापन गरेका थिए ।

४. बिष्णुलाल कुमाल(प्रजापती) : वि.सं. २००५ जेठ २० गते कुम्हारन टोल नेपालगञ्जमा जन्मिएका स्रष्टा विष्णुलाल कुमालका अशान्ति केर अगिया अवधी कविता÷गीत संग्रह, यादो के अवषेश हिन्दी कवितासंग्रह गरी ३ वटा कृति प्रकाशित छन् भने अवधि भाषाका विभिन्न पुस्तकको सम्पादन गरेका छन् । स्रष्टा कुमाल अवधी सांस्कृतिक प्रतिष्ठानको केन्द्रीय अध्यक्ष छन् भने विगत १७ वर्षदेखि अवधि भाषामा निरन्तर रेडियो कार्यक्रम चलाइरहेका छन् ।

५. रामबहादुर पहाडी : वि.सं. १९९८ जेठ २९ गते पाल्पामा जन्मिएका स्रष्टा रामबहादुर पहाडीका घाउ रहेछ जिन्दगी यो, पहाडीका गजलसहित ३ वटा पुस्तक प्रकाशित छन् । पहाडीले अंग्रेजी, नेवारी र हिन्दी भाषाबाट अनुवाद गरेका १७ वटा पुस्तकहरू प्रकाशित छन् । 

६. रत्ननिधि रेग्मी : वि.सं. २०२१ भदौ १२ गते वाना संखुवासभा वानामा जन्मिएका स्रष्टा रत्ननिधि रेग्मी शुक्राचार्यका आन्दोलन कविता भाग १ र २, कविता कुसुम, निर्मला खण्डकाव्य, नारी आवाजसहित एक दर्जन कृति प्रकाशित छन् ।

७. रामेश्वरी पन्त : वि.सं. २०२५ भदौ १२ गते पर्वतमा जन्मिएकी स्रष्टा रामेश्वरी पन्तको घाउ चहर्‍याइनै रह्यो शीर्षकमा कथा संग्रह प्रकाशित भएको छ । राष्ट्रिय दैनिकहरुसहित विभिन्न छापाहरुमा स्रष्टा पन्तका दर्जनौं लेख रचना प्रकाशित भइसकेका छन् ।

८. प्रतिसरा सायमी : वि.सं. २०१२ साल असार १६ गते भक्तपुरमा जन्मिएकी स्रष्टा प्रतिसरा सायमी (मानन्धर)का नेपाल भाषा (नेवारी) मा जि छकू नालिस भौँ, तिकिनंगु मि, रंग दुने प्रतिसरा, प्रेसर कुकर चिल्लाय् कविता संग्रह गरी आधा दर्जन बढी कृति प्रकाशित छन् ।

९. मनु मञ्जिल : वि.सं. २०२७ असार १५ गते साल्मे काभ्रेमा जन्मिएका हाल सुनसरी निवासी स्रष्टा मनु मञ्जिलका ल्याम्प–पोष्टबाट खसेको जुन, आँधीको आवेग कवितासंग्रह प्रकाशित छन् । मञ्जिलले अंग्रेजी भाषाबाट अनुवाद गरेका ४ वटा पुस्तकहरु प्रकाशित छन् । 

१०. बिना थिङ तामाङ : वि.सं. २०३७ भदौ १० गते हेटौंडा, मकवानपुरमा जन्मिएकी स्रष्टा बिना थिङ ‘सुनगाभा’ का छुकि र याम्बुनेर गरी २ कथा संग्रह र रातो घर कविता संग्रह गरी तीन वटा कृति प्रकाशित छन् । यसैगरी रातो घर कविता संग्रह वालाधिम शीर्षकमा तामाङ भाषामा समेत प्रकाशित भएको छ ।

११. मनु वि.क. : २०४१ माघ १५ गते पाल्पा जिल्लाको गेझामा जन्मिएकी स्रष्टा मनु वि.क. का युगको आह्वान कविता संग्रह, भान्से महिला र कालीको वेग खण्डकाव्य गरी ३ वटा कृति प्रकाशित छन् ।

१२. मेनका पोखरेल आचार्य : वि.सं. २०२२ चैत ४ गते धरानमा जन्मिएकी हाल जोरपाटी काठमाडौं निवासी स्रष्टा मेनका पोखरेल आचार्यको अनुभूतिका तरंगहरु कविता संग्रह, पीडाका वृत्तहरु र रित्ता आँखाभित्र कथासंग्रह गरी ३ वटा कृति प्रकाशित छन् ।

१३. देवकी तिमल्सिना रोकाया : वि.सं. २०४० साल असार २० गते जन्मिएकी हाल सर्के गाउँ, हुम्ला निवासी देवकी तिमल्सिना रोकायाका योद्धाको सपना र छुटेका सपनाहरु गरी २ वटा कृति प्रकाशित छन् । स्रष्टा देवकी कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत हुन् ।

१४. सुदेश सत्याल :  वि.सं. २०५१ साल वैशाख २० गते देवघाट तनहुँमा जन्मिएका स्रष्टा सुदेश सत्याल (नारायण सत्याल)का अन्तरिक्षको धर्ती कविता संग्रहका साथै संयुक्त रुपमा छन्द कविता संग्रह समेत प्रकाशित भएको छ ।

१५. रविना चौधरी : वि.सं. २०४७ फागुन ५ गते कैलालीमा जन्मिएकी स्रष्टा रविना चौधरी ‘रब्बु’को थारु भाषामा ओंरी गजलसंग्रह प्रकाशित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप