मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेट्रोरेल बनाइहाल्नुपर्छ, सडक जति चौडा बनाएपनि अब जाम हट्दैन’

यातायात इन्जिनियर आशिष गजुरेलसँग सडक सुरक्षा तथा व्यवस्थाबारे गरिएको संक्षिप्त वार्ता
बुधबार, १३ असोज २०७८, १६ : ३७
बुधबार, १३ असोज २०७८

जनसंख्यासँगै माग र आवश्यकता बढ्दा सडकमा सवारीसाधन व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ । यो समस्या संघीय राजधानी काठमाडौंमा मात्र होइन, पछिल्ला दिनहरूमा क्षेत्रीय तथा प्रादेशिक मुख्यमुख्य शहरहरूमा समेत विकराल बन्दैछ । ट्राफिक व्यवस्थापनमा समस्या निम्तिनुको मुख्य कारण सडक संरचना नै भएको धारणा राख्ने धेरै छन् । साँघुरा र अव्यवस्थित सडक, तर दिनानुदिन थपिँदो सवारीसाधन संख्यालाई मात्र ट्राफिक जामको कारण बताइरहेका छौँ ।

त्यसो त बढ्दो ट्राफिक व्यवस्थापनका लागि सरकारसँग समेत कुनै ठोस स्पष्ट नीति तथा कार्ययोजना छैन । झण्डै एक दशकयता सरकारले मौजुदा सडकलाई नै चौडा बनाएर सवारीसाधन चाप व्यवस्थापन गर्न खोजिरहेको छ । तर, समस्या यथावत् नै छ । यातायात तथा पूर्वाधार विज्ञ इन्जिनियर आशिष गजुरेल चौडा सडकमात्र ट्राफिक व्यवस्थाको निर्विकल्प उपाय नभएको बताउँछन् । इन्जिनियर गजुरेलसँग सडक सुरक्षा तथा व्यवस्थापनबारे गरिएको कुराकानी :

ट्राफिक समस्याले सडक यातायात गर्ने सबैको टाउको दुखाइको विषय बनिरहेको छ, यो समस्या किन झनै बढिरहेको हो ?

ट्राफिक जाम संसारभरकै एउटा ठूलो समस्या हो । अमेरिका, जापान र जर्मनीजस्ता देशलाई पनि छाडेको छैन । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) का अनुसार रसियाको मस्को, भारतको मुम्बई, कोलम्बियाको बोगोटा र फिलिपिन्सको मनिला अत्यधिक ट्राफिक जाम हुने मुख्य चार शहरहरू हुन् ।

जब सडकको क्षमताभन्दा बढी सवारी सवार हुन्छतब ट्राफिक जाम हुन्छ । यो आपूर्ति र मागको सिद्धान्तमा आधारित छ । सवारी कम गर्न सकियो भने जाम त्यसै व्यवस्थित हुन्छ । यद्यपि, यत्तिले मात्र पुग्दैन । सडकमा ट्राफिक व्यवस्थापन गर्न सार्वजनिक यातायात सञ्चालक व्यवस्थित र मर्यादित पनि बन्नुपर्छ । 

नेपालमा ट्राफिक भनेको ट्राफिक प्रहरी बुझिन्छ । सडकमा ठाउँ ओगटेर हिँड्ने या सामान्यतः सडकमा गुडिरहेका सवारीसाधनलाई ट्राफिक भनिन्छ । ट्राफिक व्यवस्थापन कम गर्न खट्ने प्रहरीलाई ट्राफिक प्रहरी भनिन्छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्छन् ।

ट्राफिक जाम नै अहिले आवागमनमा प्रमुख चुनौती बन्दैछ, समाधान के हुनसक्छ ?

ट्राफिक जाम आम मानिसहरूमा साझा समस्या बन्नु मुलुकका लागि हानिकारक छ । ट्राफिक जाम धेरै हुनु भनेको देशको अर्थतन्त्रमा धेरै घाटा लाग्नु पनि हो । जामले समय र धनमा निकै क्षति पु-याउँछ ।

संसारमा कुल जनसंख्याको करिब ५५ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा नै बसोबास गर्छन् । यो तथ्याङ्क सन् २०५० सम्ममा ६८ प्रतिशत पुग्ने अनुमान छ । तर, संसारमा कुनै पनि देशले यो तथ्याङ्कलाई मध्यनजर गरी यातायात प्रणाली विकास गरेको देखिँदैन । त्यसैले यस्तो ट्राफिक समस्या अझ बढी लम्बिनेमा दुईमत छैन । तर, विकसित मुलुकहरूले समाधान खोजिरहेका छन् । हालैमात्र अमेरिकाको इनरिक्स यातायात कम्पनीले गरेको अनुसन्धानले अमेरिकाको ट्राफिक जामले त्यहाँको उत्पादकत्व अधिकतम ८७ अर्ब डलरले घटेको जनाएको छ । यस्तो समस्या नेपालमा पनि छ । दैनिकजसो हुने जामले हाम्रो काम गर्ने समय र सामर्थ्य नष्ट गरिरहेको छ ।

नेपालको सन्दर्भमा यातायात व्यवस्थापनमा समस्या निम्तिनुको मुख्य जड के हो र यसको समाधान कसरी गर्न सकिन्छ ?

हाल नेपालमा सानाठूला सालाखाला ४० लाख सवारीसाधनहरू सञ्चालनमा छन् । यो यातायात कार्यालयमा दर्ता भएको तथ्याङ्क हो । यो बाहेक पनि होलान् । जसमध्ये अधिकतम ८५ प्रतिशत त मोटरसाइकलमात्र छन् । मोटरसाइकल, कार, जीप र भ्यान लगायत केही ठूला गरी १२ लाख सवारीसाधन काठमाडौं उपत्यकामा मात्र चल्छन् ।

​काठमाडौं उपत्यकामा ट्राफिक जामको निकै ठूलो समस्या हुन थालेको छ । दैनिक बिहान, दिउँसो  र बेलुका ट्राफिक जाम हुनु सामान्य भइसकेको छ । अधिकतम मानिसहरू व्यवसाय र जागिर गर्ने गर्दछन् र सोही कार्यको लागि धेरै हिँडडुल गर्नुपर्ने हुँदा सवारीसाधन प्रयोग बढेको छ । यसकारण पनि काठमाडौंमा दिनप्रतिदिन सवारी जाम बढिरहेको छ । जनसंख्या बढिरहेको, हिँडडुल गर्न समस्या थपिइरहेको र सवारीसाधनको संख्या पनि बढिरहेको, तर हामीहरूले ट्राफिक जाम हटाउने कुनै पनि वैज्ञानिक अवधारणा प्रयोग नगरेको हुँदा यो समस्या दिनप्रतिदिन झन् झन् बढदै गइरहेको छ । आज २१ औँ शताब्दीमा पनि सडकमा ट्राफिक प्रहरीको इसारामा ट्राफिक व्यवस्थापन गर्नुपरिरहेको तीतो यथार्थ छ । ट्राफिक जामले हाम्रो अर्थतन्त्रमा नराम्रो असर पारेको छ भने ट्राफिक जाममा बसिरहँदा मानिसहरूको स्वास्थ्य पनि बिग्रिएको छ ।

यसको मतलब अहिलेको सडक संरचनाले बढ्दो सवारी चापलाई थेग्न सकेन भन्ने हो ?

चौडा सडकमात्र ट्राफिक व्यवस्थापनमा निर्विकल्प होइन । हाम्रै अघि यसका धेरै उदाहरणहरू छन् । पहिलेका साना–साना र साँघुरा सडकहरू फराकिला बनाइएको छ, स्तरोन्नती गरिएको छ । तर, ट्राफिक समस्या हट्न सकेको छैन ।

हामीकहाँ सडक संरचना कम भएको होइन, व्यवस्थापनमा कमजोरी भएको हो । सार्वजनिक यातायात तथा साना सवारीसाधन र सडक नियमलाई व्यवस्थित गर्ने हो भने समस्या स्वतः समाधान हुन्छ । 

त्यसो भए नेपालको सन्दर्भमा ट्राफिक जाम व्यवस्थापनको आधार के त ? 

ट्राफिक जाम आफैँमा समस्या हो । यसलाई व्यवस्थित गर्न सकिएन भने थप समस्या पार्ने गर्छ, जुन अहिले हामीले भोगिरहेका छौँ । नेपालको सन्दर्भमा ट्राफिक समस्या दीर्घकालीन रूपमा समाधान गर्न केही आधारहरू छन् ।

१. सार्वजनिक यातायात विकास

संसारभरी नै ट्राफिक जाम हटाउन प्रयोग हुने विकल्पमध्ये एक सर्वोत्कृष्ट र उत्तम विकल्प नै सार्वजनिक यातायात विकास हो । सानाको तुलनामा ठूला सवारीसाधनको प्रयोग व्यवस्थित मानिन्छ । एउटा मिनी बसको यात्रुले ठूलो बसको यात्रुको दाँजोमा सडकको स्थान झण्डै तीन गुणा बढी ओगट्छ ।

यसको मतलब साना सवारीसाधनको प्रयोगले सडकको ठूलो स्थान ओगट्छ । तर, तुलनात्मक रूपमा ठूला सवारीसाधनहरू त्यति ओगट्दैनन् । जसले गर्दा जाम कम हुन जान्छ । पछिल्लो समय विश्व बजारमा २७० जनासम्म यात्रा गराउने क्षमताको बस उपलब्ध छन् । यस्ता बसहरू सहज रूपमा सञ्चालन हुने र सुविधा प्रदान गर्ने हो भने निजी सवारी प्रयोग गर्नेहरू आफैँ कम हुन्छन् । जसले ट्राफिक जाम कम गर्न सहयोग मिल्छ ।

युरोपियन देशहरू जस्तै जर्मनी, डेनमार्क, नेदरल्याण्ड जस्ता देशहरूले सार्वजनिक यातायात प्रभावकारी ढंगले विकास गरी यातायात प्रणाली सुधार गरेका छन् । विशेषत ः काठमाडौं उपत्यकाभित्र सरकार समेतको लगानीमा सार्वजनिक यातायात कम्पनी स्थापना गरी सार्वजनिक बस सेवा उपलब्ध गराउने हो भने यहाँको समस्या धेरै हदसम्म हल हुन्छ । 

२.सवारीसाधन खरिदमा कोटा प्रणाली :

यातायात व्यवस्थापनमा अर्को समस्या सवारी संख्याको पनि हो । जुनकुनै समयमा मनलाग्दी ढंगले जुनकुनै सवारीसाधन आयात र प्रयोगले पनि ट्राफिक समस्या बल्झाइरहेको छ । सवारी आयात र प्रयोगमा समेत कोटा प्रणाली लागु गर्ने हो भने समस्या केही हदसम्म निराकरण हुने देखिन्छ । जसका लागि सरकारले वर्षमा निश्चित संख्यामा मात्र सवारीसाधन आयात र बिक्री गर्न दिने नीति लिनुपर्छ । यसका लागि एक वर्षमा जति सवारीसाधन विस्थापित हुन्छन्, सोही दरमा आधारमा नयाँ सवारीसाधन खरीद संख्या तोक्न पनि सकिन्छ । यो प्रणालीले अनावश्यक निजी सवारीसाधन खरीद र प्रयोग वृद्धिमा रोक लगाउँछ । यो प्रणाली सिंगापुरले लागु गरेको छ ।

३. जाम हुने स्थानमा प्रवेश शुल्क :

अत्याधिक जाम हुने स्थान प्रवेशमा न्यूनतम शुल्क लगाउने हो भने चालकले वैकल्पिक सडक खोज्छ, जसले सवारीको समान वितरण हुन्छ र सडकहरूमा सवारी चाप पनि कम हुन्छ ।

यो प्रणाली बेलायतमा प्रयोगमा छ । यसले राम्रो काम पनि गरिरहेको छ । यता हाम्रोमा बढीभन्दा बढी ट्राफिक जाम हुने स्थानहरू भक्तपुरकोटेश्वर, कलंकीनयाँ बसपार्क, चाबहिलबौद्ध लगायतका क्षेत्रहरूमा यस्तो नियम लगाउने हो भने ट्राफिक जाम कम गर्न सहयोग पुग्छ ।

यदि यो खण्डमा बिहान ९ देखि ११ बजेसम्म यात्रा गर्दा न्यूनतम शूल्क लिने व्यवस्था गर्ने हो प्रभावकारी हुन्छ । पिक आवरमा हतार नहुनेहरू वैकल्पिक बाटो खोज्छन् र सडक जाम कम हुन जान्छ । यसले ट्राफिक जामको समस्या हल गर्न ठूलो भूमिका खेल्छ ।

४.ट्राफिक बत्ती प्रयोग :

काठमाडौंको अधिकांश सडक चोकमा ट्राफिक बत्ती छैन । केही स्थानमा भएका बत्तीले पनि काम गर्दैनन् । जसले गर्दा सडकको चोक चोकमा सवारीसाधन र पैदल यात्रुहरूको गन्जागोलले ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ ।

जहाँजहाँ ट्राफिक बत्ती छन्, ती सबै ठीक अवस्थामा हुन आवश्यक छ । तर, हामीकहाँ जडान गरिएका बत्तीहरूले नै काम गर्दैनन् । सामान्यतः एउटा सवारीसाधन एउटा हरियो बत्तीबाट पास भएपछि कम्तिमा तीनवटा ट्राफिक बत्ती पास हुनुपर्ने गरी मिलाउनुपर्छ । तर, यो प्रावधान हाम्रो देशको हकमा लागु भएको छैन । त्यसैले हरेक चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्छ र यिनीहरू सबै एकीकृत रूपमा संचालन हुनुपर्छ । यसले सडक सुव्यवस्थालाई तथा यातायात सञ्चालन प्रणालीलाई एकीकृत गरी ट्राफिक जाम कम गर्न सहयोग मिल्छ ।

५.साइकल यात्रा र पैदल यात्रा प्रवद्र्धन गर्ने :

नेपालका अधिकांश सडकहरू साइकलमैत्री छैनन् । ठूला तथा मझौंला सवारीसाधनका लागि मात्र योजना÷डिजाइन गरी बनाइएका छन् । तर, साइकल लेन पनि छुट्याउनुपर्ने हुन्छ । यो ललितपुर महानगरपालिकाले भखर्रभर्खर मात्र थालनी गरेको छ, तर प्रभावकारिता छैन । यदि शहरी सडकमा साइकल लेनको पनि प्रयोग गर्ने हो भने धेरै मानिसलाई साइकलप्रति आकर्षित हुन्छन् र फुटपाथले मानिसहरूलाई हिँड्न समेत प्रोत्साहन गर्छ । यसले एकातिर सडकको जामलाई कम गर्न मद्दत गर्छ भने अर्कातर्फ वातावरणीय सुधारमा समेत सकारात्मक सहयोग पुग्छ ।

६. मेट्रोरेल सञ्चालन

काठमाडौंजस्तो शहरमा मेट्रोरेलको सपना कार्यान्वयनमा धेरै ढिला भइसक्यो । करिब ७० लाख जनसंख्या पुगिसकेको शहरका लागि एउटैमात्र सहज र प्रभावकारी यातायातको साधन मेट्रोरेल नै हो । विश्वका ठूलाठूला शहरहरूमा मात्र नभएर साना शहरहरूमा समेत मेट्रोरेल सञ्चालनमा ल्याइएका छन् । त्यो हाम्रोमा पनि सञ्चालन गर्न नसकिने भन्ने होइन । तर, जागरूकता चाहियो । हामीले भाषणमा त मेट्रोरेलको कुरा गरेका छौँ, तर व्यवहारमा उतार्न सकिरहेका छैनौँ । यसलाई कार्यान्वयन गरी मेट्रोरेल सञ्चालन गर्न सकियो भने अहिलेको ट्राफिक जाम ८० प्रतिशत घट्छ ।

माथि विश्लेषण गरिएका ६ उपायहरू हामीले लागु गर्न सके हाम्रो यातायात व्यवस्थामा निम्तिएको चुनौती दीर्घकालीन रूपमै समाधान हुन्छ । सडक विस्तार गर्नुपर्छ । तर, शहरी सडक विस्तारलाई मात्र प्राथमिकतामा राख्नु हुँदैन । किनभने हामीसँग सीमित जग्गाजमिन भएकाले जामको समस्या आउनासाथ सडक विस्तार गर्न सकिँदैन । सार्वजनिक यातायातको सुधारलाई प्राथमिकतामा राख्दै माथि उल्लेख गरिएका उपायहरू मात्र लागु गर्ने हो भने नेपालका मुख्य शहरहरूमा जामको समस्या समाधान हुन्छ । ट्राफिक जामको समस्यालाई टालटुले तरिकाले हैन, प्रणालीको रूपमा विकास गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप