बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ह्वात्तै बढ्यो तरकारीको मूल्य, सागको भाउ अचाक्ली महँगो

बुधबार, १३ असोज २०७८, १७ : ३४
बुधबार, १३ असोज २०७८

चाडबाड नजिकिँदै गर्दा तरकारीको मूल्य ह्वात्तै बढेको छ । हरेक वर्ष झैँ यसपाली पनि चाडबाडको मुखमा तरकारीको भाउ उकालो लागेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनायता तरकारीको मूल्य बढिरहेको छ । भदौ १३ गते प्रतिकिलो २० रुपैयाँ थोक मूल्य रहेको तीते करेलाको मूल्य आज (बुधबार) ९५ रुपैयाँ पुगेको छ ।

यस्तै, सोही मितिमा प्रतिकिलो २० रुपैयाँका दरले किनबेच भएको लौकाको मूल्य अहिले ७५ रुपैयाँ पुगेको छ । समितिका निर्देशक विनय श्रेष्ठले पछिल्लो एक महिनायता तरकारीको मूल्य बढ्न थालेको बताए । उनले रातोपाटीसँग भने, ‘पछिल्लो समय तीते करेला, लौका, घिरौंला र साग लगायतको मूल्य पनि बढेको छ । तर, यो अवधिमा केही तरकारीको मूल्य भने घटेको छ ।’

उनका अनुसार खासगरी उत्पादन सिजन सकिएका तरकारीको मूल्य केही महँगो भएको छ । निषेधाज्ञा हटेकाले यतिखेर होटल/रेष्टुराँ र क्यान्टिन लगायत खुल्दा पनि बजारमा तरकारीको माग बढेको छ । माग बढेको, तर आपूर्ति पर्याप्त नभएकाले पनि मूल्य उकालो लागेको समितिले जानकारी दिएको छ ।

हाल कालिमाटीबाट बजारमा दैनिक ७५० टन तरकारी खपत हुँदै आएको छ । यसमध्ये ६५ प्रतिशत उत्पादन स्वदेशकै हो भने भारतबाट ३५ प्रतिशत आउँछ । खासगरी, पछिल्लो समय भारतबाट सकेको प्याज, आलू, गोलभेँडा र फलफूल आयात हुने गरेको निर्देशक श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले यो वर्ष उत्पादन घटेकाले मूल्य बढेको बताए । उनले निषेधाज्ञाका कारण धेरै कृषि उत्पादनले बजार नभएपछि किसानले खेती नै नलगाउँदा उत्पादनमा ५० प्रतिशतसम्मको ह्रास आएको बताए । श्रेष्ठले भने, ‘निषेधाज्ञा हुँदा किसानले उब्जाएको तरकारी बिक्री भएन, ठूलो लगानी खेर गयो । त्यसपछि पकेट क्षेत्रमै तरकारी उत्पादन घट्यो र मूल्य बढ्यो ।’

यसैगरी, कालिमाटीका खुद्रा व्यापारी भगवान उप्रेतीले पछिल्लो समय निरन्तर वर्षा हुँदा तरकारीको मूल्य बढेको जानकारी गराए । उनले रातोपाटीसँग भने, ‘निरन्तर पानी पर्दा उत्पादित तरकारी बिग्रियो । जसकारण बजारमा आवश्यकता अनुसार तरकारी आएन र मूल्य बढ्यो ।’

वर्षाकै कारण यस वर्ष देशभर दर्जनभन्दा बढी सडक अवरुद्ध हुँदा उत्पादित तरकारी बजारसम्म आउन नसकेको कालिमाटीका व्यापारीहरू बताउँछन् । पछिल्लो समय गोलभेँडा, काउली, लौका, घिरौंला र तीते करेला लगायत तरकारीको उत्पादन नै नभएकाले मूल्य बढेको उनीहरूको भनाइ छ ।

सागको मूल्य छोइनसक्नु !

भदौ १३ गते कालिमाटीको थोक बजारमा प्रतिकिलो ४५ रुपैयाँ रहेको तोरीको सागको मूल्य अहिले बढेर ७५ रुपैयाँ पुगिसकेको छ । यस्तै, उक्त मितिमा प्रतिकिलो ७५ रुपैयाँ मूल्य रहेको रायोको सागको मूल्य अहिले १५५ रुपैयाँ पुगिसकेको छ ।

पछिल्लो एक महिनामा तोरीको सागमा प्रतिकिलो ३० रुपैयाँ र रायोको सागमा प्रतिकिलो ८० रुपैयाँ बढिसकेको छ । यो थोक मूल्य हो । अहिले रायोको सागको खुद्रा मूल्य प्रतिकिलो २५० रुपैयाँभन्दा पनि बढी छ । यस्तै, तोरीको सागको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा बढी पुगेको छ ।

कुन तरकारीको मूल्य कति बढ्यो ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैजसो तरकारीको मूल्य बढेको छ । खासगरी, आलु, गोलभेँडा, घिरौंला, करेला, सिमी, बोडी र साग लगायत तरकारीको मूल्य बढेको छ । यस्तै, परवर, प्याज, बन्दा र लसुन लगायतका तरकारीको मूल्य पनि बढेको छ ।

स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार

कुन तरकारीको मूल्य घट्यो ?
 

समितिले उपलब्ध गराएको मूल्यसूचीअनुसार केही तरकारीको मूल्य ओरालो समेत लागेको छ । यस अवधिमा हरियो खुर्सानी, डल्ले च्याउ, हरियो छ्यापी र हरियो फर्सी लगायतका तरकारीको मूल्य समेत घटेको छ ।


स्रोत कालीमाटी फलफूल तथा तरकारी बजार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप