बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको गोदावरी कुम्भमेला : उत्तर खोज्नुपर्ने प्रश्नहरु

शनिबार, १६ असोज २०७८, १० : ४२
शनिबार, १६ असोज २०७८

शुक्रबारदेखि गोदावरीमा एमालेको इतिहासमै पहिलो विधान महाधिवेशन नामको कुम्भ मेला सुरु भएको छ । कुम्भ यस अर्थमा कि यो मेलामा देशभरिका करिब ६ हजार एमाले कार्यकर्ताले भाग लिएका छन् । यो मेलाले पार्टीको राजनीतिक, सांगठानिक र विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय लिनेछ ।

यसअघि कुनै पनि तहमा सार्थक बहस र छलफल भएको थाहै नभएको यो विधान अधिवेशनको प्रस्तावमा कस्तो छलफलबाट कसरी निर्णय होला ? यसको कारण र सन्दर्भ फरक भए पनि यसमा धेरै मानिसहरुलाई चासो छ । र, अरुको जस्तै मलाई पनि कौतुहल छ । 

त्यसो त यो पङ्तिकारले जवानीको जोसमा मात्र हैन, अहिलेसम्म पनि समानता, सामाजिक न्याय र मानव पूर्णताका लागि समाजवाद नै अब्बल बाटो हो भन्नेमा विश्वास गर्छ । केही विमति छ भने यसको नेतृत्व र अगुवाको कपट र यसले मलजल गरेको मुर्कटा संस्कृतिसँग मात्र हो । यही प्रवृत्ति बिरुद्ध लड्ने आँट नपुगेर नेकपा एमालेको संगठित सदस्यता थाती राखेको अहिले २८ बर्ष भएछ । तर, पनि नेपालका कम्युनिस्ट (समाजवादी) पार्टीमध्ये एक भनिने एमाले पार्टी असल भए हुन्थ्यो भन्ने बेला–बेलामा अझै पनि लाग्छ ।

सधैं जनताको अभिमतमा अगाडि रहेका नेपालका कम्युस्टिहरु टुटफुट र विभाजनका कारण जनमतमा सधैं अल्पमतमा थिए । दुई बर्षअघि नेकपा डबल बन्दा यही टुटफुटमा रमाएका कम्युनिस्ट पार्टीको चेत फेरिएछ भन्ने लागेको लागेको थियो । योसँगै नयाँ परिस्थितिले यसमा पुनर्जीवन पो आउँछ कि भन्ने झिनो आशले अलकति रौसिने जमात ठूलै थियो ।

तर, दन्त्यकथाका घिऊ भन्दै गोबरको ठेकी र दापमा राखेको काठको खुकुरी बोकेर हिँडेका दुई ठगले जस्तो दुई पार्टीका शीर्ष नेताको तान्त्रिक मन्त्रणाबाट मात्र उत्पति गराएकोे यो एकता ए कता ? मा टुंगिन धेरै दिन लागेन । यसपछिका सबै परिदृश्य सबैका सामु छर्लङ्ग छँदैछन् ।

अहिलेको एमाले ४३ बर्षअघि नक्सलबाडी बिद्रोहबाट प्रभावित झापामा सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनको दोस्रो संस्करणको मूलधार हो, यसमा कुनै दुबिधा छैन । यो कोअर्डिनेशन कमिटी, माले, एमाले, डबल नेकपा र एमाले बिद्रोही समूहको उत्पति हुँदै यहाँसम्म आइपुगेको छ । मनमोहन अधिकारीले नेतृत्व गरेर बनेको नौ महिने सरकार बनेदेखि कुनै न कुनै हिसाबले यो पार्टी सरकारमा छ । यसअर्थमा यसले नेपालको अहिलेको अवस्थाको जस– अपजस दुबैको भारी बोक्नुपर्छ ।

एकाध सकरात्मक प्रयत्नमा बाहेक यो पार्टीको कार्यकारी परिदृश्यमा जे–जे देखियो, हिजोको यो आन्दोलनप्रतिको गौरव र यसका धेरै अगुवा, कार्यकर्ता, समर्थकलाई आफ्नै निष्ठासमेत सम्झन लायक रहेन । अझ, गएका ४३ महिनामा भए गरिएका कामकुराले यसका केही भक्तालु बाहेक यसमा समर्पित लाखौं कार्यकर्ता र समर्थकले लज्जाबोध अनुभूत गरेका यत्रतत्र देखिन्छन् ।

यो पार्टीका थुप्रै सिक्न लायक असल कुरा थिए र अझै केही बाँकी होलान् । तर, ती सबै  राज्यदोहन र लुटपाट ०६२–०६३ र यस अगाडिका १५ बर्षमा गरिएका लुटपाटको पुनरुत्पादनको मतियार भएसँगै ओझेलमा पर्दै गएका छन् ।

यो पार्टी सीमा नदी बेच्ने मात्र हैन, सरकारी सम्पति, सांसद र बिचौलिया दलाललाई टिकट किनबेच र सुरासुन्दरीका रासलीलामा बरालिएको संसदवादको उच्चतम अभिव्यक्तिको समेत मतियार बनेको थियोे । यसका सारथि बनेका बिचौलिया दलाल र रजौटाको अकुत सम्पत्ति केही यसका प्रतिनिधि उदाहरण मात्र हुन् । सुकुम्बासीका नाममा राजनीति गर्नेले लाज घिन पचाएर बालुवाटारको जग्गामा आँखा लगाउने होस् या सांसद किनबेच, अपहरण र साइबर सेनाको गुण्डागर्दी त सामान्य नै भयो ।

हुन त, नेपाली कम्युनिस्ट आन्दोलन, यसका पात्रहरूको प्रवृत्ति, यिनका संगठनमा देखिएको वैचारिक विचलन र चरम गुटबन्दी कुनै नौलो कुरा हैन । अधिकांश सबैले रैती नेता कार्यकर्ता उत्पादन कारखाना चलाएका छन् । कुनै पेसा व्यवसाय र रोजगारी नभएका नेता तथा कार्यकर्ता नै सबैभन्दा सम्पन्न र विलासी छन् ।

यसमा अहिलेको एमाले अब्बल दरिएको छ । यिनका आसेपासे, भान्से, छोराछोरी र ठेक्कापट्टाका दलाल, सत्ताको अलंकारिक गहना हुन् । यी सुदखोर राजनैतिक गुट बनाउन सधैं सकृय भैरहन्छन् । यिनैका संगतले स्थायी सरकार भनिने कर्मचारीतन्त्र, चन्दा दिएर लाभ लिन पल्केको निजी क्षेत्र र विकासे भनिने गैसससमेत निकम्मा भएको छ ।

त्यसो त ३० बर्षदेखि सत्तामा रहँदै आएको अहिलेकोे राजनीतिक मूलधारको राजकाजको नालायकी र असक्षमता इतिहासमा दर्ज गर्नसमेत लायक छैन । यी क्रियाकलापले लोकतन्त्र र समाजको उन्नतिमा पुर्याएको क्षतिको हिसाब सबैले राखेकै छन् । अहिले यिनकोे आन्तरिक लोकतन्त्र सबैभन्दा संकटमा छ । यी पार्टीलाई दर्शन, बिचार र दृष्टिकोणको कुनै अर्थ छैन । मुर्कटा संस्कृतिमा रमाउने यिनको नेतृत्व आफ्नो गुटको स्वार्थमा चुर्लुम्म डुबेको छ । यिनैको ताबेदारीमा रमाउने बुद्धिजीवि भनिने वौद्धिक बिचौलियाको सबैतिर हाली मुहाली छ । यी सबैको यस्ता बेथिति र कुकर्मको फेरिस्त लामै हुन्छ । यो प्रवृत्तिबाट यो पार्टी अछुतो मात्र हैन, कतिपय अर्थमा पहिलो छ ।

यसरी हेर्दा, यसबीचमा यसका अगुवा र नेताबाट गरिएका निहीत स्वार्थकेन्द्रित अन्योल, खिचातानी, गुटबन्दीका व्यवहारहरु क्षमा योग्य छैनन् । लामो सघर्ष, समर्पण, त्याग र बलिदानले निर्माण भएका यस्ता पार्टी किन यसरी पलायन हुँदैछन् ? यिनका नेता तथा अगुवा यति ढाँेगी र कपटी कसरी हुन्छन् ? यस्ता प्रवृत्तिबाट यस्ता आन्दोलन कसरी जोगिन्छन् ? सायद यो कुम्भ मेलामा भेला हुने धेरैको चासो होला । 

विडम्वना, यस भेलामा प्रस्ताव गरिएका राजनीतिक, सांगठानिक र विधान परिमार्जनका प्रतिवेदन र यसमा हुने छलफल र निष्कर्षले नै यसपछि हुने नेतृत्व छान्ने हो । यस अर्थमा यो अधिवेशन झनै महत्वपूर्ण छ । अपवादबाहेक यसले बनाउने विधि विधानका आधारमा नै भावी नेतृत्व बन्ने हो । यी दस्तावेजमध्ये राजनीतिक प्रतिवेदन यो विधि विधानको मूल दस्तावेज हो । तर, यो दस्तावेजका प्रस्तावहरू कम्युनिष्ट आन्दोलनको आधारभूत मान्यताबाट धेरै अर्थमा च्यूत छ । 

यसको राजनीतिक प्रस्तावमा राजनीतिक दुरदृष्टिको त कुरा परै राखौं, देशको आर्थिक–सामाजिक संरचनामा ब्यापक परिवर्तन गरेर समाजवादको जग हाल्न स्थिर सरकारको अनुमोदन भएको  ऐतिहासिक अवसरलाई लत्याउँदै दुई–दुईपटक जननिर्वाचित प्रतिनिधिसभाको संविधानको मर्म र भावना विपरीत गरिएको असंबैधानिक विघटन एमाले नेतृत्वको कमजोरी थियो भन्नेसम्म उल्लेख छैन ।

अरु त छोडौं, लगभग दुई तिहाइ जनमतको अपमान गरी गरिएको विघटनमा अहिलेको एमाले नेतृत्वको कुनै कमजोरी छैन ? यसको नैतिक जिम्मेबारीसमेत स्वीकार गर्नु नपर्ने यो कस्तो कम्युनिस्ट आदर्श हो ? 

यो अस्वीकृतिले अस्वभाविक र नाटकीय रात्रिकालीन सोखको खलनायकी दम्भ र कुण्ठाको बिउ अंकुरित भएको मात्र देखाउँछ । किनकि कुण्ठा र दम्भको बिउ मध्यरातमा मात्र उम्रन सम्भव हुन्छ र त्यस्तै भयो । यस्तो दम्भी, कुण्ठित बिचारले स्वाभीमानी पार्टी कार्यकर्ताको मात्र हैन, आम नेपालीको समेत लज्जाबोधले शीर झुकाएको छ । यो लज्जाबोेधको कारक अक्षम्य छ । यो सार्वभौम नागरिकप्रतिको जवाफदेहीविहीनताको पराकाष्ठाको ऐतिहासिक कलंक पनि हो ।

यो असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यले हामीलाई कहिलेसम्म पिरोल्ने हो, आँकलन गर्ने बेला त अझै भएको छैन । तर, सत्ता र शक्तिको आशक्तिमा गरिने मिहीन संशोधनवादी जालझेलले निम्त्याउने अनिष्ट भविष्यको यसले संकेत गर्छ ।  यसको अर्थ, कुनै व्यवस्था सधैं निर्विकल्प भन्ने अर्थ नलागोस् । यसले बितेका ४३ महिनामा के भयो र के भएन फर्केर हेर्न बाध्य पार्छ ।

सजिलै भन्न सकिने कुरा के छ भने नेपाली कम्युनिस्टको एकताका नाममा सत्ता हत्याउने प्रपञ्चमा दुई नेता र तिनका भान्से मिले । संगठनको विधि विधानलाई लंगौटी लगाइदिए । तर, यिनको भागबन्डा मिलेन, औडाहा भयो । आफू  ठीक भन्ने पुष्टि गर्न गरिएको जालझेलको आरोह–अवरोहपछि यसैमा अल्झेको एकता वार्ताले पलायनको फेरो समायो । योसँगै भएको कट्टीले कित्ताकाट मात्र भएन, एमाले नेतृत्व सत्ताबाट बहिर्गमनको भयङ्कर सपनाबाट झल्यास्स भयो ।

परिणामत : दुईतिहाइ ढल्यो । आजको गालीगलौज यसैको परिणाम हो ।  यो तीतो सत्य पूर्णरुपमा अस्वीकार गरिएको दस्तावेजले नेतृत्वमा लागेको मनोरोगको दुर्दशा चित्रित गर्छ । यो सत्ता राजनीतिमा कुहिने रोग टुप्पा र सुक्ने रोग जराबाट सुरु हुने कुराको प्रमाण हो । यसकुराले यो पार्टीमा यो रोग क्यान्सर जस्तै फैलिएको छ भन्ने देखाउँछ । यो रोग निको पर्ने उपाय नखोज्ने हो भने अन्ततः एमाले नेतृत्वले यो पार्टीलाई भारदारी कम्युनिष्टको पुरातनी बिरासतमा बिसर्जन गर्छ । 

चाहे यिनैको सत्बुद्धि फेरिएर वा नफेरिएरै, अबको राजनीतिक यात्राले राजनीतिमा देखिएको अहंकार, दम्भ, निकम्मापन र यीसँगको सहवासमा नेपाल र नेपालीलाई परनिर्भरताको साङ्लोमा बाँध्न सघाउने बिचौलियाको दलाली जरैदेखि बढार्ने हैसियत भएको संक्रमणकालीन अगुवा जन्माउन सक्नुपर्छ । सचेतता र सावधानीपूर्वक यस्तो नेतृत्व र आन्दोलनको बलमा नयाँ घरको जग बनाउन नसक्ने हो भने एमालेको भविष्य मात्र हैन, नेपाली राजनीतिको संक्रमणकालीन यात्रा अझै लामो मात्र हुनेछैन, झनै कष्टकर समेत हुनेछ । 

यस अर्थमा यो पार्टीलाई पाटी हुन दिन नचाहने एमालेजनले यो कुम्भ मेलामा यो प्रश्न उठाउने आँट गरुन् । सँगै यसको गन्तव्य, बाटो र उपयुक्त साधनको जोरजाम कसरी हुन्छ ? प्रविधि, प्रकृति र प्रवृत्तिका आएको आजको सन्दर्भमा नेपाली विशेषताको समाजवादी यात्रा के हो र कसरी सम्भव छ ? भूराजनीति, अर्थतन्त्र, रोजगारी, जनस्वास्थ्य, शिक्षा, जनजीविका र जीवनयापनका आयामहरुमा देखिएका बिकराल समस्या समाधानका उपायहरु के हुन् ?

लाखौं विपन्न समुदायको रोग, भोक, खाना, नाना र छानाकाको बन्दोबस्त कसरी हुन्छ ? खानाका लागि कृषि, किसानको जिवन पद्धति, माटो र प्रकृतिको स्वस्थ्य, अर्थतन्त्र र राष्ट्रियतासँग जोडिएको सवाल कसरी सम्बोधन हुन्छन् । यी लगायत अन्य समाज विकासका आधारभुत पक्षको हिसाव–किताव राख्न सक्छन् भन्ने कुराले यो पार्टीको भविष्य निर्धारण गर्छ । यी प्रश्नहरुको जवाफ नखोजे यसको ४३ बर्ष पुरानो बिरासत गोदावरीको कुम्भ मेलामै सकिन्छ । यसमा सहभागी सबैले हेक्का राखुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णप्रसाद पौडेल
कृष्णप्रसाद पौडेल
लेखकबाट थप