बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँ विशेष : भित्रियो टाइगन-टीएसआई, आजबाट औपचारिक यात्राको शुभारम्भ गर्ने

आइतबार, १७ असोज २०७८, ११ : ५८
आइतबार, १७ असोज २०७८

नेपाली बजारमा बहुप्रतिक्षित फक्सवागनको नविन उत्पादन एसयूभीडब्लू टाइगन–टीएसआई भित्रिएको छ । भारतीय बजारमा हालैमात्र सार्वजनिक भएको टीएसआईलाई नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले भित्र्याएको हो । 

१.० टर्बो इन्जिनमा उपलब्ध टाइगन टीएसआईलाई कम्पनीले दसैँ विशेष प्रोडक्टको रुपमा बजारमा उतारेको छ । आजै आइतबार राजधानीमा एक विशेष समारोहका बीच कम्पनीले टाइगन टीएसआई औपचारिक रुपमा सार्वजनिक गर्दैछ ।

एक हजार सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) मा उपलब्ध टाइगनले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । यसैले नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । 

१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ । त्यसो त जर्मन प्रविधिमार्फत उत्पादित फक्सवागनको टाइगन सुरक्षाको दृष्टिकोणले समेत निकै मजबुद रहेको कम्पनीले जनाएको छ । 

कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ । गाडीलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउन कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ड्राइभर डिस्प्ले, सनरुफ, वायरलेस चार्जिङ, १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, फ्ल्याट बटम स्टेयरिङ ह्विल र १७ इन्चको ड्युअल टोन अलोय ह्विलजस्ता फिचर्स समावेश गरेको छ । त्यसैगरी ६ वटासम्म एयर ब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर्स थप गरिएको छ ।

फक्सवागन टाइगन टीएसआईको बजार मूल्य ५२ लाख रुपैयाँदेखि टम भेरियन्टमा ७२ लाखसम्म हुने कम्पनीले जनाएको छ । यद्यपि, अहिलेको प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै कम्पनीले मूल्यमा केही तलमाथि गर्न सक्ने बुझिएको छ । 

हाल बजारमा केही महिना अघि मात्र सार्वजनिक भइसकेको स्कोडा कुशाकसँग टाइगनको बेजोड प्रतिस्पर्धा हुने देखिएको छ । तथापि, सोही सेग्मेन्टमा भिन्न ब्रान्डबीच हुने यस प्रतिस्पर्धालाई भने बजारले प्रमुखत : कम्पनीले अफर गर्ने मूल्य, सेवा सुविधा र प्रचारप्रसारमा भर पर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप