बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीलाई छड व्यवसायीको धोका ! स्टक सामानकै मूल्य बढाए, भन्सार छुट पनि लिए

विभाजित उद्योगीका आ–आफ्नै दाबी
सोमबार, १८ असोज २०७८, १८ : ०६
सोमबार, १८ असोज २०७८

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा भन्सार छुट दिएपनि छड उत्पादकहरूले मूल्य बढाएका छन् । भन्सार छुट लिएर पनि छडको मूल्य बढाएका स्पञ्ज आइरन आयातकर्ता उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई नै अप्ठेरोमा पारिदिएका छन् । उद्योगीहरूले आफूखुसी ढंगले डण्डीको मूल्य प्रतिकिलो ६ रुपैयाँसम्म बढाएका हुुन् । प्रतिकिलो ८४ रुपैयाँ रहेको फलामे डण्डीको मूल्य अहिले बढाएर ९०/९१ रुपैयाँसम्म पु¥याइएको छ । मूल्य बढाएपछि अर्थमन्त्री शर्माले स्पञ्ज आयातकर्ता उद्योगीलाई बोलाएर छलफल पनि गरिसकेका छन् । तर, बजारमा छडको मूल्य घटेको छैन ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै फलामे छड बनाउने कच्चापदार्थ स्पञ्ज आइरन र बिलेटमा राजस्व दर हेरफेर गरेका थिए । उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र रोजगारी बढाउने तथा आयात घटाइ व्यापार घाटा कम गर्न यस्तो व्यवस्था गरिएको बताउँदै आएका छन् ।

नयाँ व्यवस्थामा सरकारले भन्सार वर्गीकरणको ७२०७ देखि ७२११ नम्बरमा पर्ने बिलेटमा भन्सार दर यथावत गरी अन्तःशूल्क प्रति मेट्रिकटन १६५० बाट बढाएर २५०० रुपैयाँ पु-याएको छ । यस्तै, भाग ७२०३ अन्तर्गत स्पञ्ज तथा भाग ७२०४ अन्तरगत फलामको पत्रु भन्सारदर पूरै छुट दिँदै अन्तःशुल्क समेत नलाग्ने व्यवस्था गरेको छ  ।

बजेटमा यस्तो व्यवस्था गरिएपछि डण्डी व्यवसायी पूर्णरूपमा दुई भागमा विभाजित भएका छन् । विदेशबाट एमएस विलेट आयात गरेर डण्डी बनाउने उद्योगीले यो व्यवस्थाको विरोध गर्दै आएका छन् । उनीहरू यो व्यवस्थाले नेपालमा सञ्चालनमा रहेका २४ वटा डण्डी उद्योग धरापमा पर्ने बताउँछन् ।

यस्तै, विदेशबाट स्पञ्ज आइरन ल्याएर डण्डी बनाउँदै आएका उद्योगी भने यसको खुलेर समर्थन गरेका थिए । बजेटले गरेको व्यवस्थाले डण्डीको मूल्य घट्ने उनीहरूको तर्क थियो । तर, अहिले यी उद्योगीहरूले फलामे छडको मूल्य आफूखुशी बढाएका हुन् । अर्कातिर, बजेटमा स्पञ्ज आइरन र बिलेटबारे गरिएको व्यवस्थाका कारण ठूला उद्योगी नै विभाजित बनेका हुन् ।

‘स्पञ्ज आयातकर्ताले मूल्य बढाए’ : शाख
शाख स्टीलका अध्यक्ष तथा रोलिङ मिल्स एसोसिएशनका उपाध्यक्ष किरण शाखले एमएस विलेट ल्याएर डण्डी बनाउने उद्योगीले मूल्य नबढाएको बताए । उनले स्पञ्ज आइरन ल्याएर डण्डी बनाउने उद्योगीले नै रडको मूल्य बढाएको दाबी गरे । शाख स्टीलले तयारी बिलेट ल्याएर छड उत्पादन गर्ने गरेको छ ।

उनले भने, ‘सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ व्यवस्था गरेपछि आयातकर्ताले विलेट नै ल्याएका छैनन् । बजेट आउनुअघि आयात भएको विलेटबाटै उद्योगीले डण्डी उत्पादन गरिरहेका छन् ।’ त्यसैले, विलेटबाट डण्डी बनाउने उद्योगीले मूल्य नबढाएको शाखले बताए ।

विलेटमा भन्सार दर बढाउने र स्पञ्ज आइरनमा छुट दिँदा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उद्योगीले बढेको भन्सारदरमा विलेट नल्याएको शाखको भनाइ छ । जसकारण विलेटबाट डण्डी बनाउने उद्योगीहरूले मूल्य नबढाएको उनले दाबी गरेका छन् । शाखले डण्डीको मूल्य पनि स्पञ्ज आइरन ल्याएर डण्डी बनाउनेहरूले नै बढाएको र मूल्य घटाउनका लागि निर्देशन पनि उनीहरूले नै दिएको दाबी गरे ।

यस्तै, पञ्चकन्या स्टीलका सहायक प्रबन्ध निर्देशक देवेन्द्र साहुले उद्योगीहरूले कृत्रिम अभाव देखाएर स्टीलको मूल्य बढाएको बताएका छन् । उद्योगहरूले बजेट घोषणा हुनुअघि आयात भएको कच्चा पदार्थबाटै डण्डी बनाएर मूल्य बढाएर बजार पठाएको उनको भनाइ छ ।

तर, एशोसियसनले भने मातहत उद्योगीहरुलाई मूल्य घटाउन निर्देशन दिएको छ । संघका अध्यक्ष शाहिल अग्रवालले डण्डीको मूल्य घटाउन सबै उद्योगीहरूलाई विज्ञप्तिमार्फत निर्देशन दिएका हुन् । मूल्य बढेको अर्को दिन नै संघले उद्योगीहरूलाई मूल्य घटाउन दबावसहितको विज्ञप्ती जारी गरेको हो । संघले निर्देशन दिएपनि बजारमा डण्डी उद्योगीले आफ्ना–आफ्नै मूल्य तोकिरहेका छन् । अग्रवालको जगदम्बा स्टिलले स्पञ्ज आइरन ल्याएर बिलेट बनाइ छड उत्पादन गर्छ । बजेटमा गरिएको व्यवस्थापछि विभाजित बनेका उद्योगीको झगडा यो विज्ञप्तिले डण्डीको मूल्य बढाउने र घटाउने खेलमा परिणत गरिदिएको छ । 

‘अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको छ’ : न्यौपाने 
सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले भने अन्तरराष्ट्रिय बजारमै महँगिएकाले नेपालमा छडको मूल्य प्रतिकिलो ६ रुपैयाँसम्म बढेको बताए । उनले रातोपाटीसँग भने, ‘अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा पर्दाथको मूल्य प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ, त्यसैले नेपालमा पनि मूल्य बढेको हो ।’ तर, यसरी बढेको मूल्य अन्तरराष्ट्रिय बजारमा घट्नासाथ कम हुने न्यौपानेले दाबी गरे ।

विलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएका उद्योगीहरूले झुट कुरा गरिरहेको न्यौपानेले बताए । उनले सरकारले छुट दिएपछि मूल्य बढ्छ भन्नु तर्कसंगत नभएको बताए । डण्डी उत्पादकले चाहेमा बजारको भाउभन्दा प्रतिकिलो ६ रुपैयाँ सस्तो मूल्यमा विलेट उपलब्ध गराउन आफूहरू तयार रहेको पनि उनले जानकारी दिए ।

सरकारले गरेको व्यवस्थाबाट नेपालको अर्थतन्त्रलाई नै फाइदा पुग्ने भएकाले विरोध गर्नुपर्ने स्थिति नरहेको विलेट उत्पादकहरूको भनाइ छ । स्पञ्ज आइरन विलेटभन्दा एक तह अगाडीको कच्चा पदार्थ भएकाले यो निर्णय सही भएको न्यौपाने बताउँछन् ।

तर, न्यौपानेको तर्क उत्पादन र वितरण प्रणालीसँग मेल खाँदैन । किनकी, छड उत्पादकहरूले अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्नासाथ नेपालमा पनि बढाएका हुन् । जबकी, स्पञ्ज आइरन ल्याएर बिलेट बनाइ रड उत्पादन र वितरण गर्न कम्तिमा २० दिन लाग्ने व्यवसायीहरू बताउँछन् । व्यापारीले स्टक डण्डीकै मूल्य बढाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप