बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले पाउने ४ मन्त्रालय टुंगियो, उपेन्द्र यादव भन्छन्– थाहा छैन

मङ्गलबार, १९ असोज २०७८, १० : ३९
मङ्गलबार, १९ असोज २०७८

सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले रातोपाटीलाई बताए ।

‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’

यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको ती नेताले बताए । देउवा र प्रचण्डबीच सोमबार मोटामोटी टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले बतायो । मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । माओवादी नेता भन्छन्, ‘हाम्रो स्थायी कमिटी बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ ।’

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

माओवादीबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लागिसकेको स्रोतले रातोपाटीलाई बतायो । माओवादी पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमा प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये एकजना पर्न सक्ने वा यी नाम बाहेक सिन्धुलीबाट हरिबोल गजुरेल पनि पर्न सक्ने स्रोतले बतायो ।

त्यसो त सोमबार बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले माओवादीबाट प्रस्तावित तीन मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई टिपाइसकेको बालुवाटार स्रोतको दाबी छ । तर, त्यो दाबीको खण्डन गर्दै माओवादीका एक नेताले भने, ‘हाम्रो स्थायी कमिटी बैठक नै नबसी नाम बुझाउने कुरै हुँदैन, स्थायी कमिटीको बैठकले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ ।’

उपेन्द्र यादव भन्छन्– टुंगिएको पनि छैन, थाहा पनि छैन

गठबन्धनले पाउने मन्त्रालयहरुको भागवण्डा मिलेको हो ? भन्ने रातोपाटीको प्रश्नमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अनभिज्ञता प्रकट गरे । प्रधानमन्त्री र प्रचण्डबीचको दुई पक्षीय छलफलप्रति  पनि अनभिज्ञता प्रकट गर्दै यादवले भने, ‘मन्त्रालयको टुंगो लागेको भन्ने कुरा थाहा पनि छैन, टुंगिएको पनि छैन ।’         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप