शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षमा सबै खाद्यान्न महँगियो, तेलमा सबैभन्दा धेरै मूल्यवृद्धि

बुधबार, २० असोज २०७८, ०८ : ००
बुधबार, २० असोज २०७८

यो पटकको दशैं÷तिहार लगायत चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिने भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ ।
यस अवधिमा खानेतेल, दाल, चामल, चिनी लगायतका वस्तुको मूल्य बढेको हो । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक सबै उपभोग्य वस्तुको मूल्य उकालो लागेको छ । खानेतेल र वनस्पति घ्यूको मूल्य ९० रुपैयाँसम्म बढेको छ ।

यस्तै, मस्यौराको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बढेको छ । यो अवधिमा केही वस्तुको मूल्य भने सामान्य घटेको देखिन्छ । मैदा, सुजी, आँटा र जीराको मूल्य घटेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

गत असोजदेखि यो असोजसम्ममा ताइचीन चिउरा, सबै प्रकारका दाल र चिनीलगायत वस्तुको मूल्य प्रतिकिलो १०÷१० रुपैयाँले बढेको छ । यस्तै, सेतो केराउको मूल्य प्रतिकिलोमा ३० रुपैयाँ तथा राजमा र मेथीको मूल्य प्रतिकिलोमा ४० रुपैयाँ बढेको छ ।

यो अवधिमा बासमती चामल, जौ, बेसार, बेसन पीठो र खुर्सानीको धुलोको मूल्य भने स्थिर रहेको संघले बताएको छ । संघका अध्यक्ष निर्वतमान अध्यक्ष पवित्रा बज्राचार्यले एक वर्षको अवधिमा सबैजसो वस्तुको मूल्य बढेको बताए । उनले भने, ‘धेर÷थोर सबैजसो वस्तुमा मूल्यवृद्धि भएको छ । तर, तुलनात्मक रूपमा कम मूल्यवृद्धि भएको छ ।’

सबै प्रकारका खानेतेलको मूल्य बढ्यो

यो अवधिमा नेपाली बजारमा उपलब्ध सबै प्रकारका खानेतेलको मूल्य बढेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि नै खानेतेलमा भएको छ ।

भुटेको तोरीको तेलमा प्रतिलिटर ८५, भटमासको तेलमा प्रतिलिटर ९० र काँचो तोरीको तेलमा प्रतिलिटर ८० रुपैयाँ मूल्य बढेको छ । यस्तै, सूर्यमुखी तेलमा प्रतिलिटर ९० र डाल्डा घ्यूको मूल्य प्रतिलिटर ८५ रुपैयाँले उकालो लागेको छ । 

विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी सुरु भएपछि सबैजसो खानेतेलको मूल्यमा उल्लेख्य वृद्धि आएको छ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढेको दाबी गरेको छ । 
नेपाली उद्योगहरूलाई चाहिने भटमास, तोरी र सूर्यमूखीको तेल ब्राजिल, अर्जेन्टिना, युक्रेन, क्यानडा, अष्ट्रेलिया लगायतका देशबाट ल्याउने गरिन्छ । ती देशमै मूल्य बढ्दा नेपालमा पनि खानेतेलको मूल्य बढेको व्यापारीहरू जिकिर गर्छन् । 


यी वस्तुको मूल्य घट्यो​

यो अवधिमा केही खाद्यान्नको मूल्य घटेको छ । खुद्रा व्यापार संघले मैदा, आटा, सुजी, कोदो र जीराको मूल्य घटेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप