मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको निष्कर्ष : ३३ किलो सुन ‘टाई टाई फिस’

सुन तस्करी प्रमाणित भएन, शाक्यका हत्यारालाई मात्रै सजाय
बुधबार, २० असोज २०७८, १० : १८
बुधबार, २० असोज २०७८

चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ ।

२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले तयार गरेको प्रतिवेदनका आधारमा प्रहरीका उच्च अधिकारीहरुसहित ७७ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

अहिलेसम्मकै ठूलो तस्करी भनिएको यो मुद्दामा मंगलबार ८ जनाले मात्र सजाय पाएका छन्, त्यो पनि व्यक्ति हत्यामा । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन् ।

तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा चूडामणि उप्रेती ‘गोरे’को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो । २०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला गरिएको मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले रातोपाटीलाई बताए ।

चूडामणि उप्रेतीले सनमलाई अपहरण गरेर बन्धक बनाएको कसुर कायम गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा १ महिनापछि फेरि सुनुवाई हुने स्रेस्तेदार राणाले बताए । जिल्ला सरकारी वकिल कार्यालय मोरङले प्रतिवादी कायम गरेका आरोपीहरुमध्ये २१ जना फरार छन् । उनीहरुको मुद्दा मुल्तवीमा राखिएको छ ।

सबै प्रहरीलाई सफाई

सुन तस्करी प्रकरणमा जोडिएका सबै प्रहरी अधिकारीहरुले सफाई पाएका छन् । पूर्वडीआईजी गोविन्द निरौला, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, प्रजित केसी र प्रनानि बालकृष्ण सञ्जेलसहित सबै प्रहरीलाई अदालतले सफाइ दिएको स्रेस्तेदार राणाले बताए ।


सुन तस्करका नाइके भनिएका गोरेसँग आर्थिक मोलाहिजा गरेको भन्दै सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले दिवेश लोहनीसहितका अधिकृतलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । पूर्वडीआईजी निरौला, एसएसपी खत्री, एसपी खनाल र डीएसपी राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा तस्करसँग मिलेर सुन पास गराएको समितिको आरोप थियो ।

पौडेल नेतृत्वको समितिले करिब ३ महिना लामो अनुसन्धान गरे पनि तस्करी गरेर ल्याएको भनिएको ३३ किलो सुन फेला परेन । तस्करीको मुख्य प्रमाण फेला नपरेपछि न्यायाधीश लम्सालले वयानमुखी प्रमाणलाई अस्वीकार गरेका छन् ।

के थियो घटना ?

फ्लाई दुबईको विमानबाट चुडामणी उप्रेती ‘गोरे’को समुहले तस्करी गरेर ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट बाहिरिएको बताइएको छ । तर, सुन बीचमै हरायो । २०७४ फागुनमा काठमाडौंको रत्नराज्य स्कुल नजिकबाट सुन लुटिएको तस्कर समूहलाई भरियाले ‘रिपोर्ट’ गरेका थए । भरियामध्येका थाई एयरवेजका बरिष्ठ टेक्निसियन सानु वनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्यांकरको चक्कामा ठोक्किएर आत्महत्या गरे ।

त्यसअघि हराएको भनिएको सुन बाहिर निकाल्न भन्दै चूडामणि उप्रेती ‘गोरे’को समूहले मोरङ उर्लाबारीका सनम शाक्यलाई यातना दिए । धरान र मोरङको जंगलमा चरम यातनाबाट शाक्यको मृत्यु भयो । यातनाबाट शाक्यको मृत्यु भएको सुचना तस्कर समूहका ‘गोरे’ले अपराध महाशाखाका सई बालकृष्ण सञ्जेललाई दिए । महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसीसहितका काठमाडौंबाट पूर्व गए ।

धरानबाट सनमको शव बरामद गरेर डुलाउँदै बिराटनगर लगे । शव भेटिएको घटनास्थल परिवर्तन गर्न आदेश गरेको भन्दै समितीले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीको भूमिकामाथि प्रश्न उठायो । त्यसैले लोहनी पनि विवादमा तानिए ।

सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितीले करिब ३ महिना लामो अनुसन्धान गरेपनि ३३ किलो सुन फेला परेन । जबकि डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक समेत रहेका बिमल पोद्धार, राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र मोहन अग्रवाल समेतलाई अनुसन्धान गरेर समितीले सुन तस्करीमा संलग्न ठुला माछा किटान गरेको थियो ।

गोरेले तस्करी गरेर ल्याएको करिब ७५ प्रतिशत सुन मोहन अग्रवालले खरिद गर्ने गरेको बताइएको थियो । त्यस्तै पोद्धारले लामो समयदेखि तस्करीको सुन जनकपुर हुँदै भारत पठाउने गरेको समितीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । काठमाडौंको रत्नराज्य स्कुल नजिकबाट लुटिएको भनिएको सुन २०७५ पुसमा भारतको कोलकतामा त भेटिएको दाबी गरियो । तर, सो सुन नेपाल ल्याउन पहल गरिएन ।

भारतीय डीआरआई (राजस्व अनुसन्धान विभाग) ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कोलकाता हाईवे स्थित दानकुनी टोल प्लाजामा ३३ किलो सुन बरामद गरेको थियो । मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको सुन सहित दुईजना नेपालीलाई पक्राउ गरिएको कलकत्तास्थित महावाणिज्य दूतलाई भारतले पत्र पठाएको थियो । तर, सो सुन ल्याउन पहल नगर्दा तस्करीमा संलग्न भनिएका सबैले सफाइ पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप