रामकुमारी दिदी, हातपछि अब दिमाग तान्नुहोस् !

person explore access_timeअसोज २०, २०७८ chat_bubble_outline0

अहिलेको राजनीतिक परिवृत्तमा चर्चित पात्रमध्धे एक रामकुमारी झाँक्री पनि हुन् । एकाएक उनको चर्चा चुलिएको चाहिँ अवश्य होइन । झण्डै पछिल्लो ३० वर्षदेखि उनी विद्यार्थी राजनीतिको इतिहासमा निरन्तर सक्रिय छिन् ।

विद्यार्थी राजनीतिको नेतृत्व गर्दै तत्कालीन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बन्ने प्रथम महिलासमेत हुन् । प्रतिनिधि सभामा सदस्य रहेकी उनी स्वयं आफ्नै तत्कालिन पार्टी अध्यक्ष ओलीका गैरसंवैधानिक कदमको मुकाविलामा अग्र मोर्चामा उभिइन् ।

पार्टीभित्रका अनेकन कुरीति तथा घनवाद र डनवादको अभयतापूर्वक विरोध गर्ने उनलाई पार्टी र इतरका पनि थुप्रै कार्यकर्ता लगायत अन्य गैरराजनीतिक व्यक्तिले समेत राम्रै प्रशंसा गर्ने गरेको देखिन्छ । पछिल्ला दुईवटा घटनाले उनको लोकप्रियता अझै चुल्याएको  सत्यता सर्वज्ञात छ ।

प्रतिनिधिसभा विघटन विरूद्धको आन्दोलनमा बोल्न पाइन्छ शीर्षकको  मन्तव्य कौशल एकाएक चर्चाको शिखरमा रह्यो । माउ पार्टी एमालेबाट विद्रोह गर्दै समाजवादी नामको नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगको परिसरमा पार्टीका अध्यक्ष माधव नेपालको हात तानेको तस्विरले उनको चर्चालाई नयाँ शिराबाट मलजल गर्यो । प्रजातान्त्रिक पद्दतिमा उनको समर्पण अझ प्रस्ट बन्यो ।

आजकाल उनको व्यक्तित्वलाई राजनीतिको रूपान्तरण र शुद्धीकरणमा केही गर्न सक्ने एक उदीयमान पात्रको रूपमा बुझिँदैछ । समाजवादी पार्टीमा सचिवको जिम्मेवारी पाएपछि फेरी बहसले अर्को नयाँ बहाव लिएको थियो । मन्त्रीमा समेत  जिम्मेवारी पाउने अनुमान तथा आकलनहरूले ती सुअभिलाषालाई झन मलजल गर्दैछ । उनलाई आगामी राजनीतिमा विभिन्न प्रधान भुमिकामा प्रक्षेपण गर्न थालिएको छ ।

केही वर्षपछि पार्टीको अध्यक्षका रूपमा समेत चित्रित गरिँदैछ । अहिले पनि महिलाहरूले नेतृत्व गरेका पार्टीहरू छन् । प्रधानमन्त्री लगायत थुप्रै देशमा महिला नै कार्यकारी छन् । सन् १९६० मा श्रीलंकाले श्रीमाओ बन्दरा नायकेलाई विश्वकै पहिलो प्रधानमन्त्रीमा चुनेपछि अहिले एन्जेला मार्केल जर्मनी, ज्यासिन्दा अर्डन न्युजिल्याण्ड, सना मरिन फिनल्याण्ड, मेटे फ्रिडरिक्सन डेनर्माक, शेख हसिना बंगलादेश, फियामे मतोआ सामोआ यस श्रृंखलाका वतर्मान धारावाहिकता हुन् । सन् १९६० पछि फरकफरक समयमा गरी ६० देशमा ७५ जना महिला कार्यकारी भएको देखिन्छ ।

 

अझ व्यपारिक परिप्रेक्षमा समेत महिलाहरूको नेतृत्व बढ्दै गएको सत्यता विभिन्न विषयमा मत तथा तथ्यांक सर्वेक्षण गर्ने संस्था फोर्ब्सले जनाएको छ । शोधार्थी वीलेन क्यान्ट्रोभको अनुसन्धानमा महिलाले नेतृत्व गरेको व्यपारिक घरानाले तुलनात्मक राम्रो प्रगति गरेकोसमेत देखायो ।

पछिल्लो एक सर्वेक्षणमा महिलाले नेतृत्व गरेका देशले कोरोनाको सहज नियन्त्रण गर्न सकेको बताउँछ । यदि नेपालको राजनीतिलाई पनि कोही महिलाले नेतृत्व गर्ने दिन आएमा सबै भन्दा पहिलो सम्भावना सायद झाँक्रीकै आउने परिदृश्य देखिँदैछ । तर, जुन हिम्मत हात तानेर प्रदर्शन भएको छ, त्यसले मात्र देशको अभिलाषा र अपेक्षा पूरा गर्दैन । उनले पार्टी निर्माणको लागि हात तानेरै लगेको देखियो । यदि देशको निर्माणसमेत गर्ने हो भने अब दिमाग तान्ने आँट र अक्कल देखाउन सक्नुपर्छ ।

दिमाग तान्ने स्वरूप

केवल भाषणवाजी र गाली गलौजको राजनीतिले देश बन्दैन । नागरिकलाई राम्रा कामले प्रभावित गर्ने हो । उत्पादन तथा निर्यातमुखी आर्थिक चरित्र, आत्मनिर्भर अर्थतन्त्र अनि सकरात्मक सभ्यतामुखी नागरिक संस्कार निर्माण र सुशासनको सर्वपक्षीय उन्ययन अहिले हाम्रा प्रधान आवस्यकता हुन् । यी खालका सफलताका लागि विशेष विज्ञहरूको कार्ययोजना अनुशरणको आवश्यकता रहन्छ ।

दलका हरेक गतिवधिलाई प्राविधिक, विज्ञ, विदहरूबीचको सघन सत्संग तथा सास्त्रार्थबाट परिष्कृत गर्दै कार्यान्वयनमा लैजानुपर्छ ।  नागरिकले पत्याएका, निस्कलंक सार्वजनिक जीवन भएका, कुनै पनि नाजायज गतिविधिमा आरोपित नभएका फरक÷फरक पेशा, सेवा तथा क्षेत्रका व्यक्तित्वहरूलाई ठूलो संख्यामा राजनीतिमा आकर्षण गर्न सक्नुपर्छ ।

न्युयोर्कमा सन् २००० का प्रख्यात मेयर माइकल ब्लुमबर्ग, इटलीका सिल्भियो वर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युएईका खालिफा बीन जायद अल नायन व्यपार र उद्यमका क्षेत्रबाट राजनीतिमा आएर सफल बने ।

विज्ञानमा ग्य्राजुएटेड भारतका ११ औँ राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धानको जागिर छाडेर राजनीतिमा लागे । सन् १९९१ का रूसी राष्ट्रपति बोरिस येल्तसिन निर्माण कम्पनीमा संलग्न थिए । फ्रान्कलिन रूजभेल्टमा पत्रकारिता अनि कुनै बेला मिन्नोसोट्टाका गर्भनर जेसस भेन्तुरामा फिल्म निर्देशनको गहिरो अनुभव थियो ।

अमेरिकाको राजनीतिक अभ्यासमा पछिल्लोपटक वकिलको संख्या अधिक छ । आर्थिक विकासमा दूर्तगति लिएका चीन, जापान, कोरिया, भियतनाममा प्राध्यापक विद्घानहरूको सृजनात्मक राजनीतिक संलग्नता देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान क्रिकेटको अनुभवसँगै राजनीतिमा आएका हुन् । युक्रेनका बक्सिङ खेलाडी भित्ली क्लक्स अनि लाइबेरियाका फुटवल टिम प्रमुख जर्ज वोयको राजनीतिक पर्दापणसमेत राम्रै भएको थियो ।

जे ब्लोन्डेलको पुस्तक ‘वल्र्ड लिर्डरस’ले निस्कर्ष दिन्छ कि कुनै अन्य पेशागत क्षेत्रमा विज्ञ अनुभवी मानिसहरू राजनीतिमा आउँदा कम्तिमा दुईवटा फाईदा हुन्छन् । उनीहरूले आप्mनो जीविकोपार्जनको लागि देशको ढुकुटी दुरूपयोग गर्नुपर्दैन । अनि, उनीहरूसँग आप्mनो क्षेत्रको दुत्रतर अभिवृद्धि गर्न प्रशस्त अनुभव र कौशलता रहन्छ । तसर्थ विभिन्न क्षेत्रबाट चमत्कारिक विज्ञ पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ ।

नेपालमा पनि सोच समुन्नत राष्ट्रको, समृद्धि फाउन्डेसन, डेभलपमेन्ट अफेर्यस काउन्सिल लगायत संस्थाले यस्ता बहस चलाउँदैछन् । झाँक्रीजस्ता उदीयमान नेताहरूले यस प्रकारको भूराजनीतिक आवस्यकता र वास्तविकतालाई गहिरिएर मनन गर्नुपर्छ । व्यापक संख्यामा विज्ञ तथा विशेषज्ञहरूलाई जिम्मेवारी दिने, उनीहरूको सुझाव तथा सल्लाहमा देश अगाडि बढाउने उदारता देखाउन सक्नुपर्छ ।

जतिसुकै ताते पनि पानीमा सेल पाक्दैन, तेल नै चाहिन्छ । निर्वाचनका बेला लहडी रूपमा आउने घोषणापत्रले मात्र नागरिकलाई आर्कषण गर्दैन । पछिल्लो स्थानीय निकायको निर्वाचनमा काठमाडौंमा मोनोरेल नभन्ने मेयरका उमेदवार सायदै कोही थिए होलान् । न त त्यो आवश्यकता हो कि होइन भन्ने अध्ययन भएको थियो, न त सम्भाव्यता र सामर्थताको मूल्यांकन ।

विज्ञ तथा विशेषज्ञसँगको सरसल्लाह नभएका राजनीतिक अभिव्यक्ति तथा अभ्यास सबैको यस्तै दुखान्त अन्त्य नै हुन्छ । त्यसैले अब त्यस्ता दिमाग र दिग्गजहरूलाई दलले आर्कषण गर्नु अनि उनीहरूको योगदानबाट देश निर्माणको अभ्यास शिरोपर गर्नु आवश्यक छ ।

मार्क लीलाकृत पुस्तक ‘द रेकलेस माईन्ड : इन्टलेक्चुलस् इन पोलिटिक्स’ अनुसार विद्घतहरूको सुझावका आधारमा राजनीतिकर्मीले गर्ने कार्यन्वयनको  प्रभाव र परिणाम दुबै सकरात्मक हुन्छन् । अब पनि पुरानै पार्टीका असफल प्रमाणित भएका मानिस तान्ने होइन । पार्टीका कार्यकर्ता त थोरौ छन् ।

सबै पार्टीका गरेर २० देखी २५ लाख कार्यकर्ता अथवा सदस्य होलान् । तर, लगभग एक करोड त केवल नागरिकमात्र, भोटरमात्र छन् । उनीहरू कसले बढी राम्रा मानिसहरूलाई उमेदवार बनाउँछ र कसले केन्द्रदेखि तलसम्म राम्रा कार्यक्रम दिएको छ भन्ने मूल्यांकन गर्न सक्ने ल्याकत राख्छन्, त्यसैलाई प्राथमिकतामा राख्छन् ।  

विज्ञहरूलाई आरोपित होइन आर्कषण हुने वातावरण बनाउनुहोस् । डा. सूर्यराज आचार्य तथा प्रा. डा. युवराज संग्रौलाले युवाहरूलाई प्रशिक्षण गर्दा उहाँहरूलाई नै पार्टी प्रवेश गरेको आरोपसमेत लाग्यो । विद्धानहरू पार्टीका होइन, देशका हुन्छन् । जुनसुकै दलले उनीहरूको विद्वता लिन सक्छ र लिनुपर्छ । जसले त्यस्ता व्यक्तिहरूको कुरा धेरै सुन्छ, त्यसलाई शिरोपर गर्छ, त्यहीअनुसार चल्न खोज्छ, अन्तत्वगत्वा नागरिक आर्कषण त्यहाँ नै केन्द्रित हुन्छ ।

आधारहीन भाषणबाजी बाहेक अहिलेका अधिकांश नेतासँगसमेत देशहित र नागरिक भलाइमा यसरी काम गर्नेछु भन्ने योजना छैन । अबको ५, १० वा १५ बर्षमा देशको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुन्छ भन्ने आँकलन छैन ।

कम्युनिष्ट नेता वा उनीहरूको वादसँग के योजना छन् जसले ‘किसानको आय प्रतिव्यक्ति ५० हजार डलर होस् ? व्यापार नाफा होस्, साक्षरता सय होस्, औसत आयु ८० बनोस्, कर्मचारी नागरिकका सहयोगी बनुन् । शिक्षा स्वास्थ्य सुलभ, सहज र गुणस्तरीय हुन् ।

रोजगारी तथा विकास निर्माणले गति लिओस् । नयाँ उद्योग खुलुन्, सबैमा देशप्रेम जागोस् । नेपाल न्युन भ्रस्टाचार हुने पाँच वा दश प्रथममा पर्न सकोस्’ । अधिकांशमा त सोच छैन, सोच भएकामा पनि स्पस्ट मार्गचित्र तथा स्वरूप छैन । तसर्थ विद्धानहरूको सृजनात्मक सल्लाह लिनुपर्छ ।

हरेक दलभित्रका नेतृत्वले बासी पुस्तालाई काँसी पठाएर आफूहरूलाई मैदानमा अगाडि सार्दै विकास समर्पित विज्ञताले निर्देशन गर्ने राजनीति (पोलिटिकल मेरिटोक्रेसी) स्थापित गर्नुपर्छ । कोरा संगठन र सदस्यता होइन, समर्थक तथा शुभेच्छुकचाहिँ धेरै कमाउनुपर्छ । यसका लागि विज्ञता विशेषज्ञताको भरपूर सहयोग लिनुपर्छ । यस्तो शुरुवात नभएमा फुटेर बनेका पार्टीहरूले कसैको आडम्बरलाई जोगाउँला तर नागरिक मैत्री राजनीतिक अभ्यासको आचरणलाई जोगाउन सक्ने ल्याकत देखिँदैन ।

रामकुमारी दिदी, दिमाग नतान्दासम्म राजनीति शुद्धीकरणको शुरुवात हुन सक्दैन । आशा छ, तपाईले हात तानेपछि अब दिमाग तान्ने पनि आँट देखाउनु हुनेछ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।