बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानबाट काठमाडौंमा बोलाएर अपहरण

दुई पाकिस्तानी पक्राउ
बुधबार, २० असोज २०७८, २० : १३
बुधबार, २० असोज २०७८

पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका छन् । पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा बन्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ठमेलबाट मंगलबार राती दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पाकिस्तान घर भएका जेसोन महम्मद र ताज रिजवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । 

जेसोन महम्मद र ताज रिजवान १५ दिनअघि पाकिस्तानबाट काठमाडौं आएका थिए । यहाँ आएर उनीहरुले ललितपुरको धापाखेलस्थित सिभिल होम्समा घर भाडामा लिए । अनि, पाकिस्तानबाट फैजान अहमदलाई फोन गरेर बोलाए । फैजान विमानबाट काठमाडौं ओर्लिए । सोमबार त्रिभुवन विमानस्थलबाट ओर्लिएपछि फैजानलाई उनीहरुले सिभिल होम्समा लगेर हातखुट्टा बाँधेर राखेका हुन् । 

झ्यालबाट हामफालेर भागेका फैजान स्थानीयको सहयोगमा प्रहरीकहाँ पुगेका थिए । बन्धक बनाएर उनीहरुले पाकिस्तानस्थित घरमा फोन गर्न लगाएर ‘म क्यानडा पुगेँ २० हजार पठाइदिनु’ भन्न दबाव दिएको फैजानले प्रहरीलाई बताएका छन् । 

पक्राउ परेका दुईजनालाई ललितपुर प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीहरुले फैजानलाई विदेश पठाइदिन्छौं भनेर काठमाडौंमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप