दसैँ विशेष

नारीको उपासना : भेनसकी देवीदेखि ‘जीवित देवी’ कुमारीसम्म

कुमारी प्रथाको नालीबेली

person explore access_timeअसोज २१, २०७८ chat_bubble_outline0

यो सामग्री अध्ययन समाजको दोहोरो चरित्रबाट थालौँ । आज (घटस्थापना) देखि वर्ष २०७८ को दसैँ पर्व सुरु भएको छ । विजया दशमीसम्म हामी देशैभरका शक्तिपीठ र घरमै नारी शक्तिको पूजाआजा गरी यो पर्व मनाउँदैछौँ । नारी शक्तिको पूजा हुने यही भूगोलमा हरेक पल नारीहरू हिंसाको सिकार भइरहेका छन् । नारीमाथि पूजा र हिंसा एकसाथ भइरहेछ, अर्थात हाम्रो समाज दोहोरो चरित्र देखाएर आफैंमाथि प्रश्न उज्याउँदो छ ।

अब विषयतिरै लागौँ । हामी पृथ्वी अर्थात धर्तीलाई माता भन्छौँ । किनकि, जमिनले उमार्छ । जसले जन्माउन सक्छन्, उनीहरू माता हुन् । त्यसैले त नारीलाई धर्तीसँग तुलना गरिन्छ । संसारका हरेक प्राणीलाई नारीले नै जन्म दिन्छिन् । जन्माउनका लागि उनीहरूसँग शक्ति हुन्छ । जन्माउने शक्ति भएका उनै नारी शक्ति अर्थात नवदुर्गाको पूजा दसैँका बेला भव्यतासाथ हुन्छ । घटस्थापनादेखि विजया दशमीसम्म क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।

शाक्त धर्म र नारी पूजाको सम्बन्ध

हिन्दु धर्मका अनेकन सम्प्रदायमध्ये शाक्त पनि एक हो । शाक्त सम्प्रदायले आधारभूत रूपमा देवी अर्थात स्त्री शक्तिको पूजा गर्छ । काली, दुर्गा, लक्ष्मी, मालिका, कालिका इत्यादि देवीहरूको उपासना गर्नेहरू शाक्त सम्प्रदायमा पर्छन् । देवीलाई शक्ति, बल र ऊर्जाको पर्याय मानिन्छ । तसर्थ, स्त्री शक्तिलाई पूजा गर्ने सम्प्रदाय नै शाक्त सम्प्रदाय हो । 

नारीमा भएको अद्भुत शक्ति, बल र ऊर्जाको सटिक ब्याख्या विश्लेषण गर्न मानिसहरूलाई मुस्किल पर्‍यो । त्यसैले नारीभित्र दैवी शक्ति भएको विश्वास गर्न थालियो । त्यसपछि स्त्री शक्तिको पूजा गर्ने परम्परा शुरुवात भयो । यही परम्परा हिन्दु धर्ममा शाक्त सम्प्रदायका रूपमा विकास भयो । शक्तिको पूजा गर्ने सम्प्रदाय नै शाक्त सम्प्रदाय हो भने यसैको उपासना गरेर मोक्षको बाटो खोज्नेहरू शाक्तमार्गी हुन् ।

कहिलेदेखि सुरु भयो ?

इतिहासकारहरूका अनुसार स्त्री अर्थात शक्ति पूजा परम्परा नवपाषण युग (१० हजारदेखि ५ हजार बीसी) अघि देखि नै शुरुवात भएको विश्वास गरिन्छ । यूरोपका विभिन्न गुफाहरूबाट आजभन्दा करिब २५ हजार वर्षअघि कुँदिएका नारीका मूर्तिहरू भेटिएका छन्, जसलाई भेनस देवीको मूर्ति भनिएको छ ।

अष्ट्रियाको विलेनड्रस्थित गुफामा भेटिएको भेनस देवीको मूर्ति

यो पुरातात्विक प्रमाणले पनि स्त्री शक्तिलाई पूजा गर्ने परम्परा हजारौँ वर्ष अघिदेखि नै थियो भन्ने संकेत मिल्छ । त्यसपछिको सभ्यता युग (एज अफ सिभिलाइजेशन) मा बनेका प्रशस्त नारी मूर्तिहरू पनि हामीसँग सुरक्षित छन् । हिन्दु धर्ममा शक्ति पूजा गर्ने ठूलो सम्प्रदाय उत्तर वैदिक काल (इसापूर्व एक हजारदेखि ६ सय बीसी) मै विस्तार भएको देखिन्छ । त्यतिबेला देखि नै शक्ति पूजाका सिद्धान्त र विधिहरू बन्न थाल्यो । पछिल्लो समयमा सप्तमात्रिका, अष्टमात्रिका, नवदुर्गा, दशमहादुर्गा आदि अनेकौं नामका देवीको पूजाआजा हुन थाल्यो । यस्तै, सतीदेवीको शरीरका अंश जहाँजहाँ खसे भनियो–त्यहाँ हजारौं शक्तिपीठहरू स्थापना गरियो ।

नेपालमा शाक्त धर्म

नेपालका किरातकालदेखि नै शक्ति पूजाको परम्परा रहेको पाइन्छ । तर, मध्यकालदेखि चाहिँ व्यापकरूपमा शक्ति पूजा विस्तार र लोकप्रिय भयो । नेपालका अधिकांश शक्तिपीठ मध्यकाल (नवौँदखि १८ औं शताब्दी) अवधिमा स्थापना गरिएका हुन् ।

पाटनस्थित च्यासलहिटीमा भेटिएको २१ सय वर्ष पूरानो गजलक्ष्मीको मूर्ति, जुन नेपालमा अहिलेसम्म भेटिएको सबैभन्दा पूरानो मूर्ति हो ।

पूर्वको पाथिभरादेखि पश्चिम नेपालको कनकासुन्दरी, बाजुराको बडिमालिका, दक्षिणकाली, भद्रकाली, स्वेतकाली, रक्तकाली या बालकुमारी, दाङ/प्यूठानतिर देउतीबज्यै, गण्डकी प्रदेशमा रहेका कालिका/मालिका आदि शक्तिपीठहरू मध्यकालमै स्थापना गरियो । त्यसैले मध्यकालमा नै नेपालमा शक्ति पूजा र शाक्त सम्प्रदाय व्यापक विस्तार भएको जानकारी पाइन्छ ।

मध्यकालमा मल्ल राजाहरूको इष्टदेवी पनि शक्ति नै थिइन् । शाह, राणा र धेरै जनजातिहरूको देवी पनि शक्ति नै मानियो । अहिलेसम्म पनि शक्तिपूजा प्रतिको आकर्षण घटेको छैन । देवी मन्दिरहरूमा जानेको घुइँचो हेर्दा शक्ति पूजा अहिले पनि उत्तिकै लोकप्रिय देखिन्छ ।

कुमारी

नेपालको संस्कृति बुझ्न काठमाडौं आइपुग्ने हरेक व्यक्तिले जीवित देवी मानिने कुमारीबारे जिज्ञासा राख्छन् र दर्शन गर्न काठमाडौं दरबार क्षेत्रस्थित कुमारीघर पुग्छन् । कुमारी परम्परा पनि शाक्त सम्प्रदाय अन्तर्गतकै हो ।

पार्वतीका धेरै नाममध्ये एउटा कन्याकुमारी पनि हो । नेपाल र भारतमा जति पनि देवीथान, शक्तिपीठ र देवीका नाम छन् – ती सबै पार्वतीका विभिन्न नाम हुन् । पार्वती मूल तत्व र अरू सबै पार्वतीका अंश या अवतारका नाम हुन् । सबै देवीहरू पार्वतीबाटै उत्पत्ति भएका र पार्वतीमै विलिन हुन्छन् भन्ने शाक्त सम्प्रदायको विश्वास छ । त्यसैले शाक्त सम्प्रदायको आदिशक्ति अर्थात शक्तितत्व पार्वती नै हुन् । नेपालकी कुमारीलाई पार्वतीकै रूप मानिन्छ ।

कुमारी र कुमारी घर

हिन्दु धर्ममा कुमारी पूजा परम्परा उत्तरवैदिक कालदेखि नै शुरू भएको संकेतहरू पाइन्छन् । एकाघर या रक्त सम्बन्धका कुनै कन्यामा खुट्टा लाग्दा ढोगिदिने चलन छ । यो नयाँ चलन होइन । त्यसैले नेपाली समाजमा सुरुदेखि नै स्त्री शक्तिलाई देवीको रूपमा लिने गरिएको पाइन्छ । हिन्दु संस्कृतिमा स्त्रीलाई कुमारी या शक्तिकै रूपमा हेर्ने गर्छौं । हिन्दुहरूको हरेक घरमा कन्यालाई पूजा नगरी या टीका नलगाई अधिकांश धार्मिक कार्य सम्पन्न हुँदैन ।

कन्या कति वर्षसम्म कुमारी हुने भन्ने सवालमा एकाथरी पुस्तकहरूमा अजात पुष्पा अर्थात रजस्वला नभएसम्म भन्ने व्याख्या छ । कतै ८ वर्षसम्मको कन्या गौरी, १० वर्षमा रोहिणी र १२ वर्षकी कन्यालाई कुमारी भनिएको छ । नेपाली समाजमा चाहिँ बिहे नभएसम्म कुमारी र भएपछि देवी मान्ने प्रचलन छ । कतै चाहिँ सोह्र वर्षसम्म कन्या हुन्छन् भन्ने सन्दर्भ कथा पाइन्छ । यी मापदण्ड पौराणिक साहित्यमा व्याख्या गरिएको पाइन्छ ।

दक्षिण एसियामा नारी पुज्ने परम्परा

यो चलन उत्तर वैदिक कालदेखि नै सुरु भएको पाइन्छ । तर, जीवित कन्यालाई कुमारी बनाएर मन्दिरमा राखी पूजा गर्ने चलन कुनै बेला भारतमा पनि थियो भनिन्छ । पञ्जाब लगायत स्थानमा यस्तो चलन थियो, तर अहिले हराइसकेको छ । बंगालमा अहिलेसम्म यो चलन भएपनि निश्चित समयका लागि मात्रै कन्यालाई कुमारी देवीका रूपमा मानिन्छ । नेपालको जस्तो अविच्छिन्न परम्परा छैन ।

नेपालमा कुमारी पुज्ने परम्परा कहिलेदेखि सुरु भयो भन्नेबारे विवाद छ । सबैभन्दा पहिले पाटन र भक्तपुरमा सुरुवात भएको भनिएपनि आधिकारिक प्रमाणहरू भेटिएका छैनन् । भक्तपुर र पाटनमा पनि कुमारी राख्ने प्रचलन छ । त्यहाँ विशेष पर्व, जात्रा र समारोहहरूमा मात्र कुमारीलाई ल्याइन्छ र दर्शन गराइन्छ । कुमारी बनाइएकाहरू अरूबेला घरमै हुन्छन् ।

तर, काठमाडौंकी कुमारीलाई विशेष सम्मान प्राप्त छ । यसको मुख्य कारण काठमाडौंकी कुमारीलाई नै राजकीय सम्मान प्राप्त हुनु हो ।

जयप्रकाशलाई पृथ्वीनारायणको डर र कुमारीघर

पुरातात्विक प्रमाणअनुसार काठमाडौं उपत्यकामा कुमारी घर बनाएर व्यवस्थित पूजा परम्परा चलाउने राजा जयप्रकाश मल्ल थिए । मल्लले कुमारीघरको निर्माण १८१३ फागुनदेखि सुरु गरेर १८१४ भदौमा सम्पन्न गराएका थिए ।

जयप्रकाश मल्ल राजा भएदेखि नै कान्तिपुर राज्यमा संकट पैदा भएको थियो । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान तीव्र हुँदा कीर्तिपुरमाथि बारम्बार आक्रमण भइरहेको थियो । साँघु, चाँगु र नाल्दुम लगायत काठमाडौं उपत्यका वरपरका क्षेत्रमा गोर्खाली फौजले विजय प्राप्त गरिसकेको थियो । त्यस्तो स्थितिबाट उपत्यकाका राजाहरू आफ्नो राज्य गुम्ने डरमा खुम्चिइसकेका थिए । राज्य बचाउन उनीहरू चिन्तित हुँदै गए ।

जयप्रकाश मल्ललाई निकट तान्त्रिकहरूले शत्रु विजय अर्थात गोर्खाली सेनालाई पराजित गर्ने सिद्धि प्राप्त गर्न शुद्र कन्या पुज्नुपर्ने सुझाव दिए । त्यही सल्लाहअनुसार जयप्रकाश मल्लले वैश्य कन्या कुमारीको मन्दिर स्थापना गरी पूजा चलाउन थालेका हुन् ।

यस सन्दर्भमा केही मिथकहरू पनि छन् । जो यस्तो छ : ‘जयप्रकाश मल्लले तुलजादेवी भवानीसँग पासा –एक प्रकारको जुवा) खेल्थे र त्यस्तो खेल कुनै दिन छोरी या श्रीमतीले देखे । अरूले देखेपछि भवानी अलप भइन् । त्यसपछि उनी पासा खेल्न नै आइनन् । राजा जयप्रकाशलाई चिन्ता हुन थाल्यो । सपनामा तुलजा भवानीले उनलाई शुद्र कन्यालाई पूजा गर्न थाले आफू कुमारीको स्वरूपमा प्रवेश गर्ने बताए । सोही स्वप्नवाणीअनुसार जयप्रकाश मल्लले कुमारी स्थापना गरी पूजाआजा गर्न थाले ।’

कुमारी पुज्ने सो प्रचलनलाई जयप्रकाश मल्लपछिका राजाहरूले निरन्तरता दिए । गणतन्त्र आएपछि राज्यले नै कुमारीलाई राजकीय सम्मानका साथ पूजाआजा गरिरहेको छ । हरेक नयाँ कुमारी छनोट भएपछि उनलाई राष्ट्रप्रमुखले भेटी राखेर दर्शन गर्ने प्रचलन अद्यावधिक छ ।

शाक्यमा कुमारी प्रथाले निम्त्याएको वैश्य–शुद्र विवाद

कुमारी संस्कृतिसँग शाक्यहरूलाई कसरी वैश्यबाट शुद्र मानियो भन्ने प्रसंग जोडिन्छ । शाक्त फरक–फरक जातका कन्यालाई पूजा गर्दा फरक सिद्धि प्राप्त गर्न सकिने धार्मिक विश्वास छ ।

परम्परागत विश्वासअनुसार व्राह्मण जातकी कन्यालाई पूजा गर्दा वाकसिद्धी, क्षेत्री कन्यालाई पूजा गर्दा राज्यसिद्धी, वैश्य कन्यालाई शत्रुमाथि विजयका लागि र शुद्र कन्यालाई मायामोह तथा उच्चाटन प्राप्तिका लागि पूजा गर्ने चलन छ ।

शाक्यहरूले सुनचाँदीको काम गर्ने र सुनलाई बिगारेर गरगहना बनाउने हुनाले त्यो शुद्र कर्म भएको ठानियो । तर, हिन्दु वर्ण व्यवस्थालाई मान्दा पनि कर्मअनुसार शाक्यलाई शुद्र ठान्ने र अर्कातिर व्यापार गर्ने भएकाले वैश्य नै मानिन्छ । यद्यपी, शाक्यलाई शुद्र नै मान्ने मान्यताको कुनै लिखित प्रमाणहरू छैनन् । तर, जयप्रकाश मल्ललाई शत्रु विजय सिद्धि प्राप्त गर्न आवश्यक शुद्र कन्या शाक्य परिवारबाटै छनोट गर्न थालियो ।

आजपर्यन्त सोही सम्प्रदायबाटै कुमारीका लागि कन्या छनोट गरिन्छ । बज्राचार्य र शाक्यका १८ वटा अर्थात विहार छन् । ती १८ भइलमा आवद्ध शाक्य समुदायबाट कुमारी छनोट गरिन्छ ।

कुमारी छनोट मापदण्ड

कुमारी छनोट गर्न निश्चित मापदण्ड तोकिएको छ । पहिलो मापदण्ड र आधार शाक्य समुदायमा वैध विवाह गरेका दम्पत्तिबाटै ती कन्या जन्मिएको हुनुपर्छ । अन्तरजातीय विवाह गरेका शाक्य दम्पत्तिबाट जन्मिएकी कन्या कुमारी बन्न पाउँदिनन् ।

कुमारी घरमा जीवित देवीका रूपमा रहने बालिका ३२ लक्षणयुक्त हुनुपर्ने मान्यता छ । राजासँग कुमारीको चिना मिल्नुपर्ने अर्को मापदण्ड हो । गणतन्त्र कालमा भने चिना मिलाउने चलन हटेको छ । अहिले चिनामा उल्लेखित राशि, ग्रह, दशा, नक्षत्र इत्यादि हेरेर कुमारी छनोट गरिन्छ । छनोट भएकी कुमारी रजस्वला हुनुअघि अर्को कुमारीद्वारा प्रतिस्थापन गरिन्छ ।

कुमारीको रेखदेख गर्न चिताइदार परिवार बस्छन् । उनीहरूले रजस्वलाबारे जानकारी राख्नुपर्ने हुन्छ । कुमारी परिवर्तन गर्नुपर्ने समय आएपछि सोही चिताइदार परिवारले भइलहरूमा नयाँ कुमारी छान्ने समय भएको भनी खबर गर्छन् । गुठी संस्थानसँग समन्वय गरी कुमारी छनोट गर्ने हुनाले त्यहाँ पनि जानकारी गराइन्छ ।

कुमारी परिवर्तन र पूजा व्यवस्थापन

कुमारीको स्याहारसुसारमा खटिने चिताइदार परिवार, तलेजुका मुल पुजारी, बज्राचार्य गुरुहरू र गुठी संस्थान गरी चार पक्ष मिलेर कुमारी फेर्ने समय भएको जानकारी भइलमा पठाउँछन् ।​ भइलमा सूचना पठाएपछि जो शाक्य परिवारले आफ्नो बच्चा कुमारी राख्न योग्य छिन् भन्ने ठान्छन्, उनीहरूले भइलमा सम्पर्क गर्छन् । हरेक भइलमा प्रस्ताव आएका शाक्य कन्यामध्ये २३ लक्षण र उत्तम चिना लगायतका आधारमा छनोट गरेर कुमारी घरमा पेश गरिन्छ । कुमारी घरले ती १८ कन्यामध्ये एकलाई कुमारी छान्छ ।

गरेपछि बडादशैं अघि नै पुरानी कुमारीलाई ससम्मान विदा गरेर नयाँ कुमारीलाई वसन्तपुरस्थित कुमारी घरमा राखिन्छ । नयाँ कुमारीलाई राख्दा तलेजु भवानीको विशेष पूजाआजा गरी नयाँ कुमारीमा प्राणप्रतिष्ठा गरिन्छ । कालरात्रीमा नयाँ कुमारीलाई गद्दी आरोहण गराइन्छ । राष्ट्रपतिले पूजा गरेर कुमारीलाई राजकीय मान्यता प्रदान गर्नुपर्छ ।

नयाँ कुमारीलाई कुमारीघरमा स्थापना गरेपछि उनको जीवनचर्या अर्को कुमारी छनोट नहोउञ्जेल त्यहाँ नै व्यतित हुन्छ । वर्षभर १३ वटा विशेष अवसरहरूमा मात्र कुमारीलाई कुमारीघरबाट बाहिर लगिन्छ ।उनको शिक्षादीक्षा व्यवस्था पनि कुमारी घरमै हुन्छ । उनलाई पढाउन शिक्षक नियुक्त गरिएको हुन्छ । सरकारी विद्यालयका शिक्षकहरू कुमारीलाई पढाउन कुमारी घरमै जानुपर्छ । दिउँसो १२ देखि ३ बजेसम्म कुमारीलाई शिक्षकहरूले पढाउने गर्छन् । त्यो अवधिमा दर्शनार्थीहरूले कुमारीको दर्शन गर्न पाउँदैनन् ।

विहान ९ देखि १२ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्ममात्र कुमारीको दर्शन गर्न पाइन्छ । कुमारी बिरामी पर्दा पनि उपचार निम्ति डाक्टरहरू कुमारी घरमै पुग्छन् । पारिवारिक सदस्यहरू पनि कुमारी घरमै आएर उनलाई भेट्नुपर्छ ।

कुमारीघरमा पञ्चबुद्ध भगवानको नित्यपूजा बज्राचार्य पुरोहितहरूले गर्छन् । कुमारीको नित्यपूजा  तलेजुका मुल पूजारीले सम्पन्न गराउँछन् । कुमारीलाई तीन प्रकारका पूजा गरिन्छ । ती हुन् :

 १. नित्य पूजा : तलेजु भवानी मन्दिरकै पुजारीले कुमारीको दैनिक अर्थात नित्य पूजा गर्छन् । पूजा निम्ति सम्पूर्ण व्यवस्थापन कुमारी घरमा बस्ने चिताइदार परिवारले मिलाउनुपर्छ ।

२. पर्व पूजा : पर्व र तिथिहरूमा पनि कुमारीको पूजा हुन्छ ।

३. विशेष पूजा : वर्षदिन, पाँच वर्ष, १० वर्ष या नयाँ कुमारी चयन भएपछि कुमारीको विशेष पूजा गरिन्छ ।

धार्मिक सहिष्णुताको अनुपम उदाहरण

कुमारी परम्परालाई नेपालमा धार्मिक सहिष्णुताको महत्वपूर्ण उदाहरणका रूपमा पनि पेश गरिन्छ । मध्यकालदेखि वर्तमान समयसम्म पनि निरन्तर छ ।कुमारीको पूजा २ विधिबाट गरिन्छ । बुद्ध धर्म मान्ने बज्राचार्य गुरुहरूले आफ्नो परम्पराअनुसार कुमारीको तीनवटै पूजा गर्छन् । हिन्दु सम्प्रदायबाट तलेजुका मुल पुजारी –कर्माचार्य) ले पूजा गर्छन् । यसैकारण कुमारीघरको पहिलो तल्लामा बुद्ध धर्मसँग सम्बन्धित मूर्ति र चित्रकलाहरू छन् । माथिल्लो तल्लामा हिन्दु परम्पराअनुसार तलेजुका मुल पुजारी रहन्छन् ।

कुमारीघरमा कुँदिएका कलाकृति

ज्यानबाट रगत निस्किए अयोग्य

रजस्वला हुने अवस्था, दीर्घ रोग या गम्भीर चोटपटक लाग्दा ज्यानबाट रगत निस्कँदा कुमारी स्वतः अयोग्य हुन्छिन् । अहिलेसम्म दुर्घटनाका कारण रगत निस्कँदा कुमारी फेर्नुपरेको छैन ।

कुमारी घरको वास्तुकला

कुमारी घरको महत्व रहनुमा त्यहाँको धार्मिक/सांस्कृतिक पक्षले जति योगदान पुर्‍याएको छ, सो संरचनाको वास्तुकलाले पनि उत्तिकै महत्व राखेको छ । कुमारी घर निर्माणमा विहार वास्तुकला अपनाइएको छ । यस्ता वास्तुकला इसापूर्व छैठौं शताब्दी अर्थात आजभन्दा २६ सय वर्षदेखि नै नेपालमा प्रयोगमा छ ।

विहार वास्तुकला अनुसार बनेको कुमारी घर बाहिरबाट हेर्दा किल्लाजस्तो देखिन्छ । प्रवेशद्वार एउटामात्रै छ र त्यसको दायाँबायाँ सिंह/सिंहिनीका मूर्तिहरु राखिएको छ । मुलढोकाबाट प्रवेश गरेपछि सानो चोकमा पुगिन्छ । आँगनका दायाँबायाँतर्फ बस्ने ठाउँ छन्, जसलाई फल्चा भनिन्छ ।

सानो चोकबाट भित्र छिरेपछि मुलविहारको मध्यभाग अर्थात ठूलो आगन (कोर्टयार्ड) मा पुगिन्छ । आगन वरिपरि घुम्ने बाटो बनाइएको छ । आगनको मध्यभागमा सानो स्तुपा छ, जसको गर्भगृहमा मुख्य देवता अर्थात भगवान बुद्धको मूर्ति छ । विहार वास्तुकलामा आगनका वरिपरि भएका घरहरु दुईतले हुन्छन् । तर, कुमारीघर भने तीन तलाको छ ।

अद्भूत काष्ठकला र टेराकोटा आर्ट

विहारमा धातुकला र काष्ठकलाको राम्रो संयोजन देख्न पाइन्छ । कुमारी घरको मुख्य विशेषता नै यहाँको विहंगम काष्ठकला हो । झ्याल ढोकाका बुट्टा, त्यसमाथि राखिएका तोरणमा आकर्षक काष्ठ कलाकारिताले कुमारी घर पुग्ने मानिसलाई प्रफुल्लित तुल्याउँछ । ती अकिांश तोरणमा महिषमर्दिनी दुर्गा कुँदिएको छ । टुँडालहरु त्यत्तिकै कलात्मक छन् ।

टेराकोटा आर्ट (माटोबाट बनाइएका कलाकृति) कुमारी घरको अर्को विशेषता हो । विहारको मध्यभाग घुम्ने बाटोको जमिनतर्फको भित्तामा विभिन्न जनावर, वनस्पति, चराचुरुङ्गी, स्वर्ग, पाताल इत्यादिलाई प्रतिबिम्बन गरिएको छ । प्रताप मल्लका पालामा बनाइएका भित्तेचित्रले कुमारी घरलाई थप सुन्दर बनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।