शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसले पत्नीलाई दिल्लीको वेश्यालयमा पठाए !

६ वर्षपछि पत्नीकै उजुरीले पक्राउ
बिहीबार, २१ असोज २०७८, १४ : १९
बिहीबार, २१ असोज २०७८

नुवाकोट घर भएकी ३४ वर्षीया महिला ६ वर्षअघि दिल्लीमा बेचिइन् । भारतको नयाँ दिल्ली र आग्राका वेश्यालयमा ६ वर्ष बिताएर उनी अहिले स्वदेश फर्केकी छिन् । आफ्नै पतिले दलालसँग मिलेर उनलाई बेचेको आरोप छ । नेपाल फर्केर उनले पतिविरुद्ध कानुनी लडाइँ सुरु गरेकी छिन् ।

उनकै सुराकका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनका पति र अर्का बिचौलियालाई पक्राउ गरेको छ । महिलालाई बेचेको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भएका पासाङ तामाङ र पीडितकै पतिलाई पक्राउ गरिएको मानव बेचविखन ब्युरोका प्रवक्ता (एसपी) अनुराग कुमार द्विवेदीले रातोपाटीलाई बताए ।

असोज १४ गते पक्राउ गरेर उनीहरुमाथि ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ती महिलालाई पतिकै सहयोगमा सुनौली नाका हुँदै भारतको दिल्ली र आग्रामा लगेर वेश्यालयमा बेचेको ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रेम विवाहदेखि वेश्यालयसम्म

ती महिलाको १९ वर्षअघि प्रेम विवाह भएको थियो । ५ जना बच्चा जन्मिए । कान्छो छोरा ४ वर्षको भएपछि पारिवारिक सम्बन्धमा खटपट आयो । उनी र बच्चालाई पतिले वास्ता गर्न छाडे । एकदिन पतिले फोनमा कसैलाई यस्तो भनेको ती महिलाले सुनिन्, ‘मसँग एउटा कन्या केटी छ, बिहे गर्ने भए कुरा मिलाउँछु ।’ सम्बन्ध नराम्रो भएकाले उनले पनि श्रीमानसँग भन्दा पासाङसँग सुखमय जीवन हुने सपना देखेर सबै स्वाभाविक रुपमा लिइन् । 

फोनमा कुरा गरेको केही दिनपछि २०७१ मंसिरमा पासाङ तामाङले फोन गरेर पीडितलाई दुप्चेश्वर मन्दिरमा भेट्न प्रस्ताव गरे । त्यतिन्जेल पीडित महिला र पासाङको बीचमा चिनजान थिएन । पासाङले उनलाई फकाएर ‘विवाह प्रस्ताव’ राखे । पासाङले ‘तिम्रो दाइसँग कुरा भएको’ भनेर उनलाई बताएका थिए । सुखमय जिन्दगी दिने सपना देखाएर काठमाडौं ल्याए । पतिले उनलाई बैनी भनेर पासाङसँग काठमाडौं पठाउने योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पासाङले उनका पतिलाई १ लाख ६० हजार नगद दिए । त्यसपछि दलालहरुले उनलाई दिल्ली लैजाने प्रक्रिया सुरु गरेका थिए । पासाङले उनलाई गाउँबाट ल्याएर नयाँ बसपार्कस्थित होटलमा राखेर सम्पर्कविहीन भए । होटलमा एकजना महिलासँग भेट गराएका थिए । ती महिलाले घरको ‘काम खोजिदिन्छु महिनाको १० हजार आउँछ’ भनेर अर्का एकजना पुरुषसँग भेट गराइन् ।

तिनै पुरुषले उनलाई काममा लगाइदिने आश्वासनमा सुनौली नाकाबाट गाडीमा राखेर रेलवे स्टेशनमा पु-याए । रेल चढाएर भारतको नयाँ दिल्लीमा लगेपछि त्यहाँ म्हेण्दो तामाङ नाम गरेकी महिलासँग पीडितलाई भेट गराए । त्यसपछि ती पुरुष पनि गायब भए । म्हेण्दोले उनलाई दुईजना पुरुषको साथ लगाएर आग्रा पठाइन् ।

आग्रामा रहेको वेश्यालयमा पुगेपछि उनी ‘जागिर सपना’ बाट ब्यूँझिइन् । ‘आग्रा पुगेपछि मैले बेचिएको थाहा पाएँ’, प्रहरीसँग ती महिलाले भनेकी छिन्, ‘आग्रामा ८ महिना वेश्यालयमा काम गरेपछि मलाई त्यहाँबाट सारेर अर्को ठाउँमा लगेका थिए ।’

वेश्यालयमा ६ वर्ष

आग्रामा ८ महिना काम गरेपछि ती महिलाले दिल्लीस्थित ६४ नम्बरको कोठीमा काम गरिन् । सो कोठी म्हेण्दो तामाङको  हो । त्यहाँ बन्धक बनाएर आफुलाई दैनिक १५ देखि २५ जनासँग यौनसम्पर्क गर्न बाध्य पारिएको पीडितले बताएकी छिन् । सो घटनाको अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकृत भन्छन्, ‘एक जनासँग यौन सम्बन्ध राखेबापत ३५० आईसी लिने र सो रकम कोठी संचालन गर्नेले नै राखेर पीडितलाई खाना खुवाउने गरेको थाहा भएको छ ।’

भारतीय प्रहरीले क्याटलिस्ट नामक संस्थासँगको सहकार्यमा वेश्यालयमा छापा मारेर ती महिलालाई उद्दार गरेको थियो । नेपाली दूतावास र शक्ति समूहसँगको सहकार्यमा उनी १४ जुन २०२१ मा काठमाडौं आएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप