शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहकारीका नाममा ठगी : एकै परिवारको ६४ करोड डुब्यो

कसरी ठगे सिभिल सहकारीका सञ्चालक पूर्वसांसद इच्छाराजले ?
शनिबार, २३ असोज २०७८, १५ : ०३
शनिबार, २३ असोज २०७८

काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन् । फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभमा जम्मा गरेका थिए । सो सहकारी नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङको हो ।

सहकारीले महर्जनलाई दुई वर्षदेखि सावाँ र ब्याज दिएको छैन । यहीबीचमा सहकारीका सञ्चालक तामाङलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । सहकारीबाट ठगिएकाहरु आफ्नो पैसा पाउने आशामा तामाङलाई थुनिएको प्रहरी कार्यालयमा भिड लाग्न थालेका छन् । र, यही भीडमा भेटिए देवनारायण महर्जन ।

डुबेको पैसा पाउने आशामा महर्जन शुक्रबार महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा पुगे । ब्यूरोका अधिकारीले ‘जाहेरी दिनु’ भनेपछि पूर्वसांसद तथा सिभिल सेभिङ्गस एण्ड क्रेडिट को अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ बिरुद्ध देवनारायणले पनि लाइनमा बसेर जाहेरी दर्ता गराए ।

‘६ लाख फिक्स डिपोजिटमा र १ लाख बचत खातामा राखेको थिएँ’ रातोपाटीसँग कुरा गर्दै देवनारायणले भने, ‘पैसा राखेको ४ वर्ष भयो । दुई वर्ष यता सावाँ ब्याज केही पनि पाएको छैन ।’

पूर्वसांसद समेत रहेका तामाङलाई सीआईबीले असोज १८ मा सुुन्धाराबाट पक्राउ गरेको हो । उनी पक्राउ परेपछि सीआईबीमा उनीविरुद्ध जाहेरी दिनेहरूको लाइन छ । तामाङलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

कालिमाटीमा रहेको सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभ २०५७ मा खुलेको थियो । इच्छाराज २०६५ सम्म सो सहकारीको अध्यक्ष थिए । अहिले पनि उनी सहकारीका हर्ताकर्ता हुन् । सो सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ हुन् । इच्छाराज अहिले कार्यकारी अधिकारसहितको सल्लाहकारको भुमिकामा छन् । अर्थात, सहकारीमा उनले जे भन्यो, त्यही हुन्छ ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकमको सावाँ र ब्याज फिर्ता नदिएर ठगी गरेको भन्दै ब्यूरोले उनको समूहविरुद्ध अनुसन्धान गरिरहेको छ । वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष तामाङसहित १२ जना प्रहरीको हिरासतमा छन् ।

सहकारीमा राखेको रकम लामो समय नदिएर इच्छाराजसहितले ठगेको आरोपमा अहिलेसम्म २४३ जनाले उजुरी गरेका छन् । ‘हालसम्म २४३ जनाले जाहेरी दिनुभएको छ’ सीआईबीका एसपी श्यामकुमार महतोले रातोपाटीसँग भने, ‘जाहेरीअनुसार १ अर्ब २६ करोड ५५ लाख ठगी भएको देखिएको छ ।’

जाहेरी आउने क्रम रोकिएको छैन । सिभिल सेभिङ्समा ७ सयभन्दा बढी निक्षेपकर्ताले ७ अर्बभन्दा बढी रकम जम्मा गरेका छन् । जम्मा गर्नेहरुमध्ये धेरैले पैसा फिर्ता पाएका छैनन् । सहकारीका पैसा इच्छाराज समेतको समूहले २१ वटा कम्पनी स्थापना गरेर त्यहाँ लगानी गरेको र सहकारी टाट पल्टाएको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एकै परिवारको ६४ करोड डुब्यो

सिभिल सेभिङ्गसमा एकै परिवारको ६४ करोडसम्म डुबेको भेटिएको छ । विष्ट परिवारले सहकारीमा राखेको ६४ करोड लामो सयमदेखि फिर्ता पाएका छैनन् । सिभिल सेभिङ्गसमा राखेर पैसा डुबाउनेमा मालीदेखि पूर्व जर्नेलसम्म छन् ।

म्याग्दी घर भएका चमाया गर्बुजाले २०७४ असार २७ मा  १ लाख ७० हजार डिपोजिट गरेकी थिइन । १२ दशमलव ३६ प्रतिशत व्याज दिने भनेको सहकारीले हालसम्म उनलाई सावाँ–ब्याज केही पनि दिएको छैन् । सीआईबीमा उजुरी दिन आएका चमायाका ज्वाइँ हिरा बहादुर थापा भन्दै थिए,‘इच्छाराजलाई पक्राउ गरेको थाहा पाएर उजुर गर्न आएको ।’

सहकारीको रकम इच्छाराजले सिभिल बैंकमा पनि लगानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई बताए । सिभिल सेभिङ्गसको सवैभन्दा धेरै रकम लगानी भएको देखिएको सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको छ ।

थुनामा को–को छन् ?

सिभिल सेभिङ्गसका वर्तमान अध्यक्ष केशवलाल इच्छाराजका मामा ससुरा हुन् । अध्यक्ष सँगै उनि सहकारीमा लोन शाखा प्रमुखको जिम्मेवारीमा थिए ।

सहकारी ठगी आरोपमा इच्छाराजसहित १२ जना थुनामा छन् । वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिसमेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकार प्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन र जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई थुनामा राखेर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, पूर्व लेखा समिती सदस्य हरिहर लामिछाने र सिभिल होम्सका बरिष्ठ प्रबन्धक विजय विक्रम शाह पनि छन् । पक्राउ परेका मध्ये  मायोनानी महर्जन र  एलिना तुलाधरलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा राखिएको छ । इच्छाराजलाई सोह्रखुट्टे प्रहरीमा र अरुलाई सिआईबीको हिरासतमा राखिएको छ ।

२१ वटा कम्पनीमा अवैध लगानी

सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभबाटै अघि बढेका इच्छाराजले २१ वटा कम्पनी स्थापना गरेका छन् । ती कम्पनी व्यक्तिगत छन् । सिभिल सेभिङ्गसमा सर्वसाधारणले गरेको बचत रकम अवैध तरिकाले पारिवारिक सदस्यहरु सञ्चालक रहेका ती कम्पनीमा लगानी गरेको भेटिएको ब्यूरोका एसपी महतो बताउँछन् ।

ललितपुरको धापाखेलमा रहेको सिभिल होम्स प्रालि ती कम्पनी मध्येको एउटा हो । परिवारका मान्छेका नाममा धापाखेलमा सस्तो मूल्यमा जग्गा किनेर  सिभिल होम्सले महँगा घरहरु बनाएको थियो । त्यहाँ ११ सय भन्दा बढी घर बनाएर सर्वसाधारणलाई सो कम्पनीले चर्को मुल्यमा बेचेको थियो ।

तर, घर बेचेर आएको रकम सिभिल होम्सले सहकारीलाई फिर्ता गरेको देखिएको छैन । आफ्नो स्वामित्वमा रहेका सबै कम्पनी इच्छाराजले घाटामा गएको देखाएर करसमेत छलेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सिभिल सेभिङ्गसको रकम लगानी गरेको देखिएका कम्पनीहरु यस्ता छन् :

–कामेन कन्सल्टिङ इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि ।

–बाघभैरव कन्सल्टेन्सी प्रालि ।

–सिभिल मर्चेन्ट वित्तिय संस्था लि

–सिभिल होम्स प्रालि ।

–कोट्सेभैरव हाउजिङ्ग एण्ड डेभलपर्स प्रालि ।

–सिभिल इन्टरनेशनल कन्सलटेन्ट प्रालि ।

–सिभिल इष्टेटस प्रा.लि ।

–सिभिल मर्चेन्ट इन्भेष्टमेन्ट कम्पनी लिमिटेड ।

–सिभिल क्यापिटल मार्केट लि ।

–सिभिल अपार्टमेन्ट प्रालि ।

–सिभिल इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि ।

–सिभिल बैंक लि ।

–सिभिल फर्निचर एण्ड ट्रेडिङ्ग कम्पनी प्रालि ।

–सिटी बस्ती विकास कम्पनी प्रालि ।

–सिने डोसेफ कम्पनी प्रालि

–ब्रिउ एण्ड भ्यू बार एण्ड रेष्टुरेन्ट कम्पनी प्रालि ।

–सिभिल आर.एम.सी. एण्ड प्रिकास्ट इण्डष्ट्रिज प्रालि ।

–सिभिल होटल प्रालि, सिभिल मोडन कन्स्ट्रक्सन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप