बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केएमसीमा सफलतापूर्वक गरियो १४ दिनको नवजात शिशुको जटिल शल्यक्रिया

शनिबार, २३ असोज २०७८, २१ : ४७
शनिबार, २३ असोज २०७८

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा १४ दिनको नवजात शिशुको जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरिएको छ । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

सिनामंगल गैरीगाउँका सरस्वती तामाङको कोखबाट जन्मिएको बच्चामा जन्मजात यस्तो हर्निया देखिएको थियो । चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बिचमा हुने डायफ्राम  मांसपेशीमा प्वाल थियो । पेट र छातीलाई छुट्ट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेट भित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण बच्चालाई श्वास फेर्न गाह्रो भएको थियो । सामान्यतया ३७ हप्तामा बच्चा जन्मिने भए पनि सरस्वतीले ३५ हप्तामै छोरालाई जन्मदिएकी थिइन् ।

थापाथली अस्पतालमा नर्मल डेलिभरी भएको सो बच्चालाई रेफर गरेर केएमसी ल्याइयो । केएमसीका बाल तथा नवजात शिशु सर्जन डा.आशिस लाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको हो । ‘डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याई प्वाल टालेका छौँ,’ डा.श्रेष्ठले भने, ‘यो निकै जटिल र दुर्लभ समस्या हो । अप्रेशन सफल भयो, अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’

समय नपुगी जन्मिएको बच्चा, आमाको दूध भन्दा अन्य कुरा खुवाउँदा समस्या हुने र बेहोस पर्दा होस खुल्न गाह्रो हुने जस्ता करणले यस्तो शल्यक्रिया निकै जटिल हुने डा.श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘एक त यो निकै जटिल अप्रेशन हो, केएमसीमा हामीले पहिलो पटक यस्तो अप्रेशन गरेका हौँ । त्यसमाथि ५ हजार ज्युँदो बच्चा जन्मिदा सरदर एक जनामा मात्र यस्तो हर्निया देखिने हुनाले यो दुर्लभ केश हो ।’

यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भएर बच्चाको ज्यान जाने जोखिम हुने चिकित्सकहरूको भनाई छ । तर, अप्रेशन सफल भएर जोखिम टरेपछि बिरामीका आफन्त हर्षित छन् । जटिल अवस्थामा पुगेको बच्चा निको भएको भन्दै बुबा रमेश तामाङले खुसी व्यक्त गरे । अप्रेसनपछि नवजात शिशु विशेषज्ञ डा.सुनिल राजा मानन्धरको प्रत्यक्ष निगरानीमा बच्चालाई दुई हप्ता अस्पतालमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि शुक्रबार डिस्चार्ज गरिएको छ ।

सफल स्वास्थ्य व्यवसायी मानिने डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले दक्ष डाक्टर र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर उपचार सेवालाई विस्तार गर्दै लगिएको छ । केही साता अघि मात्र केएमसीले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप