बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा पर्यटक तान्न नयाँ अफर, विकास कोषको बेग्लै योजना

अर्बको लगानीमा होटल, कारोबार अति न्यून
आइतबार, २४ असोज २०७८, १० : ०९
आइतबार, २४ असोज २०७८

बुटवल । कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फेरि पुरानै लयमा ल्याउन सरोकारवालाहरूले पहल थालेका छन् । १८ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लुम्बिनी क्षेत्र सुनसान रह्यो । बिस्तारै कोरोना सङ्क्रमण घट्दै गएको र अन्तर्राष्ट्रिय नाकासमेत खुला भएका कारण व्यवसायीहरू अब व्यापार वृद्धि हुने अपेक्षामा छन् ।

लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउन व्यवसायीहरूले अग्रसरता देखाएका छन् । कोरोना महामारीमा पनि लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटक आइरहेका थिए । बिस्तारै सबै क्षेत्र खुल्न थालेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

महामारीका कारण लुम्बिनीमा हुने मोलम पूजा, त्रिपिटक च्यान्टिङ, फुल मून डे, महायान र थेरावाद समुदायका विभिन्न क्रियाकलाप कम हुँदै गएकोमा यसलाई तत्काल अगाडि बढाउने प्रयास भइरहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी  डा. हरिध्वज राईले रातोपाटीलाई बताए ।

उनका अनुसार लुम्बिनी विकास कोषले कोरोनाका कारण मृत्यु भएका बौद्ध धर्मावलम्बीहरूको सामूहिक पूजा गर्ने विषयमा पनि छलफल भएको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउन बौद्ध धर्मालम्बीहरुलाई विभिन्न मुलुकबाट भित्र्याउने योजना अगाडि सारिएको छ ।

लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार लकडाउन भएपछि अहिलेसम्म विदेशी पर्यटक जम्मा २९३ जना (पासपोर्ट लागु हुने देशबाट) आएका छन् भने भारतबाट ३७ हजार २ सय पर्यटक आएका छन् । नेपालीचाहिँ १ लाख ७९ हजार ७३ जना लुम्बिनी क्षेत्रको भ्रमणमा आएका छन् ।

यहाँ आउने आन्तरिक पर्यटकहरू केही घण्टा घुमेर फर्कने गर्दछन् । यस्तै, भारतबाट आउनेहरू पनि अधिकांश उतैबाट खाजा लिएर आउने र केही घण्टा घुमेर जाने भएकोले यहाँको आर्थिक गतिविधिमा खासै प्रभाव नपार्ने डा. राईले बताए ।

आइतबारदेखि सुनौली–बेलहिया नाका सञ्चालनमा आएको छ । नाका खुला भएसँथै युरोपियन मूलका केही पर्यटक आउन थालेको होटल व्यवसायी खेम श्रेष्ठले बताए । जसबाट केही आशा पलाएको उनको भनाइ छ ।

होटलमा विभिन्न प्याकेज

झन्डै दुई वर्ष थला परेका होटलहरुले लुम्बिनीमा पर्यटक भित्र्याउनका लागि दसैँका अवसरमा नयाँ प्याकेज ल्याएका छन् । जेनतेन भाडा तिर्ने र थोरै कामदार राखेर चलाएका लुम्बिनीका होटलहरु पर्यटक तान्न प्रयासरत छन् । कम नाफा खाएर भए पनि प्याकेज घोषणा गर्नुपरेको होटल व्यवसायीहरू बताउँछन् ।

लुम्बिनी होटेल संघले एक रात दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ । असोज १५ देखि लागू हुने गरी दुई हजार १९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम घोषणा भएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिए ।

लुम्बिनी होटल एशोसिएसनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए । उनले लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर गरेर भए पनि व्यवसायलाई फेरि लयमा ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनादेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्यजस्तै भएपछि होटल व्यवसायीहरू सबैभन्दा ठुलो मारमा परेका थिए । होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानीको व्यवस्था कायम राख्नुपर्ने तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्ने विश्वास लिएको उनले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले विभिन्न क्षेत्रमा लुम्बिनीको प्रवर्द्धन गरिरहेको बताउँछन् । यसको साथै पर्यटकको बसाई अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रूप दिन लागिपरेको बताए ।

यस्तो छ लुम्बिनीका होटलमा प्याकेज

संघका महासचिव लीलामणि शर्माका अनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिने छ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमणका साथ रात्रिभोजन गराई विश्राम दिइनेछ ।

प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र बिदाइको कार्यक्रम छ । उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूप बत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट व्यवस्था गरिने छ ।

लुम्बिनीका होटल व्यवसायी खेम श्रेष्ठले मायादेवी मन्दिर रातको ११ बजेसम्म खोल्न पर्यटन व्यवसायीले माग राखेको बताए । उनले राति अबेरसम्म मायादेवी मन्दिर खोल्दा लुम्बिनीमा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने भएको र त्यसको प्रत्यक्ष फाइदा होटल व्यवसायीले लिन सक्ने बताए ।

अर्बको लगानीमा होटल, कारोबार अति न्यून

लुम्बिनी केन्द्रमा राखेर अर्बौं लगानी गर्दै एकपछि अर्को होटल बन्ने क्रममा एकाएक कोरोनाले ब्रेक लगाएको छ ।

कोरानाले भएका होटल नै बन्द गर्नुपर्ने अवस्था आएपछि नयाँ होटल खुल्ने क्रम ठप्प भयो । भएका होटलमा अर्बौं रुपैयाँ लगानी भए पनि राज्यका तर्फबाट महामारीका समयमा कुनै सम्बोधन भएको गुनासो छ ।

पर्यटन व्यवसायीहरूले रूपन्देहीका होटलमा मात्र झण्डै २५ अर्बको लगानी भएको दाबी गर्दछन् । यहाँ सानाठूला गरी दुई हजार ५०० होटल रहेको होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा छन् । अझै केही होटल स्टार लेभलका छन् । लुम्बिनीमा पनि यस्तै ठुला होटल सञ्चालनमा छन् ।

भैरहवामा निर्माण सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले होटलमा लगानीकर्ता आकर्षित भएको संघ पूर्वअध्यक्ष समुन्द्र जिसीले बताए ।  

पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए । उनले लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिम चरणमा रहेका केही ठूला पूर्वाधारका कारण पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर अन्योलमा रहेको बताए ।  

होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेष्टुरेण्ट रहेको बताए । तीनवटा होटल निर्माणाधीन अवस्थामा छन् ।

यो क्षेत्रमा लगानी गर्नका लागि गौतमबुद्ध विमानस्थलसँगै बुटवल–भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, बेथरी–बेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ ६ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्रलगायतले आकर्षण गरेको व्यवसायीहरू बताउँछन् ।

लुम्बिनीमा होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै ७० भन्दा बढी मध्यम खालका होटल सञ्चालनमा रहेको संघले जनाएको छ ।

लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता रहेको अध्यक्ष श्रेष्ठले बताए ।  

समस्याका चाङ

लुम्बिनी ५ नम्बर गेटनिर खेम श्रेष्ठको शुभारम्भ होटल छ । भाडा मासिक १ लाख ५० हजार तिनुपर्नेछ । १६ वटा रुम रहेको उक्त होटल अहिले बल्लबल्ल चलेको छ । थोरै स्टाफ राखेर चलाउनु परेको छ ।

भाडा, स्टाफ खर्च र विद्युत्, पानी आदिको खर्च धेरै आउँछ तर पर्यटक छैनन् ।

‘लुम्बिनीमा खाना खाने र बास बस्ने पर्यटन नआएपछि होटल कसरी चल्छ ?’, श्रेष्ठले गुनासो गर्दछन् । कोरोनाका कारणले अहिले व्यवसायीले बैङ्कको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैङ्कको ब्याजमा सहुलियत दिनुपर्ने र पुनःकर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले कोभिडले पारेको प्रभावको राहतका लागि प्रभावितहरू संगठित भएर एकै स्वरमा आवाज उठाउनु पर्ने बताए । उनले विमानस्थल छिटै सञ्चालनमा ल्याउँदा होटलको कारोबार वृद्धि हुने भए पनि व्यवसायीलाई तत्काल राहत चाहिने बताए । उनले व्यवसायीहरूले प्याकेज घोषणा गरी आन्तरिक पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम ल्याउन माग गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप