अन्तरवार्ता

पूरा कार्यकाल म नै मुख्यमन्त्री बन्नुपर्छ भन्ने पक्षमा छैन : महेन्द्रबहादुर शाही

person explore access_timeअसोज २४, २०७८ chat_bubble_outline0

कर्णाली प्रदेशकामुख्यमन्त्री महेन्द्रबहादुर शाहीनेकपा एमालेका कारण मुलुकको राजनीतिले नयाँ कोर्स लिएको बताउँछन् । राजनीतिले नयाँ कोर्स लिएसँगै विभिन्न प्रदेशमा सरकार परिवर्तन भएको उल्लेख गर्दै उनले कर्णालीमा भने अहिलेसम्म आफ्नो नेतृत्वको सरकार कायम रहेर राजनीतिक स्थिरता र विकासका योजनालाई उत्तिकै महत्त्वका साथ अघि बढाइरहेको बताए ।

यद्यपि, पूरा अवधि आफू नै मुख्यमन्त्री रहिरहनुपर्छ भन्ने सोच आफूमा नरहेको उनले बताए । पाँच दलीय गठबन्धनले गर्ने निर्णयका आधारमा केन्द्र र प्रदेशका सरकारमा कसले नेतृत्व गर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । भोलि गठबन्धनले कर्णाली प्रदेश सरकारका बारेमा केही नयाँ निर्णय गरेमा आफूलाई मान्य हुने पनि उनले बताए ।  प्रस्तुत छ, मुख्यमन्त्री शाहीसँग राष्ट्रिय राजनीति, प्रदेशको राजनीति लगायत समसामयिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानी–

एमाले र माओवादी केन्द्रबीचको एकता विघटनको अवस्थामा पुगेपछि समग्र राजनीतिमा कस्तो प्रभाव परेको जस्तो लाग्छ तपाईंलाई ?

 संविधान जारी गरिसकेपछि त्यसको कार्यान्वयनका लागि (पहिलो र दोस्रो)  निर्वाचनका जाँदा जनताले मिश्रित खालको जनादेश दिए ।  कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउने देखियो ।

संविधान निर्माणसम्म त ठीकै छ । हामीले समावेशी भन्यौं । कार्यान्वयनमा जाँदा स्थिर सरकार नबनाउँदासम्म संविधान कार्यान्वयनमा जान सकिँदैन भनेर माओवादीले नै यो प्रस्ताव अगाडि बढायो । त्यसपछि हामीले नेपालका दुई ठुला दल नेकपा एमाले र माओवादी मिलेर जाने पहल ग-यौँ । सोही अनुरुप दुईवटा पार्टी बीचको एकता बनाएर अगाडि बढ्यौं पनि ।

नेपालमा राजनीतिक स्थिरता कायम हुन्छ भन्ने तरिकाले पहिला गठबन्धनमा जाने, त्यसपछि पार्टी एकता गरेर अघि बढ्यौं । र, फलस्वरुप दुईतिहाई बहुमत पनि प्राप्त भयो । तर, विडम्बना के भइदियो भने नेकपा फेरि विभाजनको चरणमा पुग्यो जुन, देशका लागि दुर्भाग्य नै मान्नुपर्छ  ।

उहाँहरुले (एमाले) सत्तामा पुगेपछि सबै कुरा च्यातेर प्रतिगमनको बाटो पक्डनुभयो । आफू निरङ्कुश शासक बन्ने सपना देख्नुभयो । त्यसैले हामी त्यसको विरुद्धमा रहेर देश बचाउनतिर लाग्यौं ।

यसले असर पार्छ नै । एकताबद्ध भएर संविधान कार्यान्वयनमा जानुपर्नेमा पार्टी विभाजन भयो । फेरि अस्थिरता ल्याउँछ मुलुकमा, अब के होला ? यो मुलुक नबन्ने भयो भन्ने जनताको ठुलो चिन्ता छ ।

विभाजन हुनुको मुख्य कारणचाहिँ आफ्नै मुद्दा हो । पार्टी एकताका लागि सबैको साझा प्रतिबद्धता संविधानको अक्षरशः कार्यान्वयन गर्ने थियो । नेकपाको राजनीतिक कार्यदिशाका बारेमा महाधिवेशनमा छलफल गरेर टुङ्गोमा पु-याउने कुरा थियो ।

सोही अनुसार केपी शर्मा ओली पार्टीको अध्यक्ष र सरकारको प्रमुख पनि बने । दुबै पद सम्हालेका उनले दुईवटा पार्टी बीचको सम्झौतामा ध्यान दिएनन् । कार्यान्वयनका कुरामा उनी उल्टो दिशातिर लागे । संविधान खारेज गर्ने, प्रतिगमनको बाटो पक्डने कार्य ओलीबाट भयो । संविधान कार्यान्वयनको क्रममा चालेका कदम उल्टो र देशलाई दुर्घटनातर्फ धकेल्ने बाटोमा हिँड्दै थिए । देशमा समानुपातिक र संघीयताका बारेमा प्रतिकुल अभिव्यक्ति पनि नदिएका होइनन् ।

प्रदेशहरू भनेको संघका इकाईहरु मात्र हुन् भन्ने संविधान विरोधी अभिव्यक्ति दिन थाले । र प्रतिगमनको बाटो पक्रेर आफू एकात्मक निरङ्कुश शासक बन्ने सपना बुने । त्यसपछि मुलुकको रक्षा गर्ने, देशलाई दुर्घटनाबाट बचाउन, संविधानको अक्षरशः कार्यान्वयन गर्न हामी प्रतिगमनका विरुद्धमा संघर्षमा जानु प-यो । र, हामी एक ठाउँमा रहन सकेनौँ ।

हामीले अहिले प्रतिगमनलाई रोकेका छौं, काँग्रेससँग गठबन्धन गरी देश जोगिएको छ ।

राजनीतिक स्थिरताका लागि वाम एकता भनेर अघिल्लो निर्वाचनमा तपाईंहरु गठबन्धनका साथ चुनावमा जानुभयो तर राजनीतिक स्थिरता त भएन नि, अब चुनावमा तपाईंहरु अर्को गठबन्धन बनाएर जाने तयारी गरिरहनु भएको छ । जनतालाई कसरी विश्वस्त तुल्याउनु हुन्छ ?

यो त राजनीतिक एजेण्डाको कुरा हो नि...! जोसँग राजनीतिक एजेण्डा मिल्छ, उसैसँग सहकार्य हुन्छ । अघिल्लो चुनावमा जनताको बीचमा जानेबेलामा एमाले र माओवादीको राजनीतिक मुद्दा मिल्यो । उहाँहरुले अब हामीहरुले कम्युनिष्ट एकता गर्ने, अगाडि बढ्ने हो भनेर भन्नुभयो । त्यसपछि मुलुकमा आर्थिक समृद्धि, संविधान कार्यान्वयन र असल सुशासन कायम गर्ने भन्ने कुरामा हाम्रो सहमति भयो ।

उहाँहरुले (एमाले) सत्तामा पुगेपछि सबै कुरा च्यातेर प्रतिगमनको बाटो पक्डनुभयो । आफू निरङ्कुश शासक बन्ने सपना देख्नुभयो । त्यसैले हामी त्यसको विरुद्धमा रहेर देश बचाउनतिर लाग्यौं ।

देशको रक्षाका निमित्त, देशलाई प्रतिगमनमा जान दिनुहुँदैन भनेर अहिले एक खालको गठबन्धन बनेको छ । अब, यही विषयलाई लिएर देशको रक्षा, तीव्र विकास, आर्थिक समृद्धि र सुशासन कायम गर्नतर्फ ध्यान दिन्छौं ।

यही, मुद्दामा हामी संयुक्त गठबन्धनमा जाने, जनताको बीचमा जाने र गइरहेका पनि छौं । हिजो पनि त्यसैका लागि गयौं । तर, एमालेको नेतृत्वले धोका दियो । अब, देशको रक्षा गर्ने नयाँ शक्ति, नयाँ गठबन्धन तयार भएको छ । अहिले केपी ओली एक ठाउँमा अन्य राजनीतिक दलहरु एक ठाउँमा छन् । त्यसैले जनताको विश्वास, जनमतचाहिँ यो गठबन्धनको पक्षमा जानुपर्छ । किनकि यो भनेको राष्ट्रको पक्षमा हुन्छ । 

साढे तीन वर्षसम्म प्रदेश सरकारको नेतृत्व गर्नुभयो, पिछडिएको भनिँदै आएको कर्णालीलाई तपाईंको नेतृत्वले कस्तो उपलब्धि दियोजस्तो लाग्छ ?

पहिलो कुरा यहाँका समस्याका बारेमा व्यापक छलफल ग-यौँ । दुईवटा कुरा कर्णालीमा मुख्य समस्या हुन् भनेर निष्कर्ष निकाल्यौं । एउटा, पूर्वाधारका हिसाबले कर्णाली पछाडि छ । सडक छैन । पिठ्युँमा भारी बोक्नुपर्ने अवस्था छ । बत्तीको समस्या छ । खानेपानी, सिंचाई, शिक्षा क्षेत्रको भौतिक पूर्वाधारको अवस्था थिएनन् । स्वास्थ्यका पूर्वाधारहरु छैनन् भनेर कर्णालीको ५० प्रतिशत बजेट त्यतातिर लगाउने प्रयास भयो ।

अहिले कर्णाली प्रदेशका ७१८ वडामा पुगेपछि सडक पुगेको देखिन्छ । संघले हेरेको भेरी र कर्णालीजस्ता ठुला राजमार्ग हुन् । अन्य बाटो स्थानीय र प्रदेश सरकारले बनाएको हो । स्थानीय पालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म पुग्ने बाटो बनाएको  प्रदेश सरकारले हो । वीरेन्द्रनगरको ‘प्लानिङ’ एरियाभित्र पनि प्रदेश सरकारले सडकहरु बनाइरहेकोछ । हाम्रो पहिलो काम भनेको सडक हो ।

त्यसपछि विद्युतको कुरा हो । अहिले कर्णाली उज्यालो कार्यक्रम भनेर राखिएको छ । राष्ट्रिय प्रसारण लाईन पुगेका ठाउँ बाहेकमा हामीले वैकल्पिक उपाय खोजेका छौं । करिब ३ मेगावाट बत्तीचाहिँ हामीले लघुजलविद्युत आयोजनाबाट, सौर्य ऊर्जाबाट गरेर उज्यालो दिने प्रयास गरिरहेका छौं ।

कर्णाली अँध्यारोतिरबाट उज्यालोतिर जाँदै छ । स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने प्रदेश अस्पतालमा तीनवटा मात्र आईसियु बेड थिए । सामान्य बेडमात्रै थिए । एउटै हलमा आईसियु बेड राखिएका थिए ।

अहिले हेर्नुभयो भने १७/१८ वटा त एचडियु बेड छन् । अहिले आईसियु, भेन्टिलेटर मात्रै हेर्ने हो भने पनि १०० बढी छन् ।

साढे तीन सय बेडको अस्पताल बनाएका छौं । जिल्ला अस्पतालमा पनि विस्तार भइरहेका छन् । भवनहरु बनाइरहेका छौं ।  चिकित्सकको समस्या समाधानतर्फ लागिरहेका छौं ।

शिक्षा र खानेपानीका क्षेत्रमा पनि निकै उपलब्धि भएका छन् । ‘एक पालिका, एउटा नमुना स्कुल’ भनेर प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको छ । ‘एक घर, एक धारा’ नारा दिएर खानेपानीको समस्या समाधानतर्फ हामी लागेका छौं ।

त्यसपछि चाहिँ तारसिंचाई । जहाँ तार छैन, त्यहाँ लिप्टिङ् गरेर भए पनि सिंचाई पु-याउने कामहरु भएका छन् । विकास भन्ने बित्तिकै सडक खन्नु, टेलिफोनका टावर राख्नु, बत्ती बाल्नुमात्रै होइन ।

अहिले सडक त खनौंला, गाडी गुड्लान् तर, जनताले गाडीमा बस्ने टिकट काट्न सक्ने क्षमता राख्दैनन् । सडकसँगै जनता गाडीमा चढ्न सक्ने बनाउनुपर्छ । एयरपोर्ट त बनाउँला तर, प्लेन चढ्न सक्ने जनताको क्षमता छैन । टेलिफोनका टावर राखौंला तर, जनताले मोबाइल किन्न सक्ने, रिचार्ज किन्न सक्ने क्षमता छैन भने त्यो विकासको कुनै अर्थ हुँदैन ।

कर्णालीको पहिलो समस्या भनेको गरिबीको समस्या हो । अब, यसलाई आर्थिक सम्पन्न कसरी बनाउने भनेर जनतालाई बिउ पुँजीको रुपमा (अनुदान होइन) लगानी गर्ने । हाम्रो पैसा जति छ त्यति नै रहिरहन्छ । कहिल्यै पनि खर्च हुँदैन । अनुदान दिँदा दुरुपयोग भयो । अनुदानको नाममा रकम लिने तर काम केही नदेखिने । ठुलो दुरुपयोग भएर अनुदानको शीर्षक नै हटाइयो । किसानले लोन लिएका छन् भने ब्याज हामीले तिरिदिने, यस्तो कार्यक्रम ल्याएका छौँ र प्रभावकारी भएको छ । त्यसपछि किसानले उत्पादनमा लगानी लगाउँछ ।

आवश्यकता पूँजीवादी व्यवस्थामा असीमित हुन्छन् । यद्यपि, आधारभूत आवश्यकताको व्यवस्था राज्यको तर्फबाट गर्नुपर्छ । त्यो भन्दा माथि जानका लागि त निजी क्षेत्र, स्वयम् त्यो व्यक्तिले श्रम त गर्नुप-यो नि ! वातावरण त राज्यले बनाउँछ ।

अहिले हामीले महिला आयआर्जनको कार्यक्रम भनेर पौने अरब रकम छुट्याएका छौं । त्यो रकम कर्णालीमा सबै बेरोजगार महिलाको नाममा शेयर राखिएको हो । त्यहाँबाट व्यवसाय छनोट गर्ने र ऋण लिन्छन् ।

हाम्रो उद्देश्य के हो भने कर्णालीमा महिला आज च्यातिएका लुगा लगाएका हुन्छन्, ती महिला अबको १० वर्षमा स्कुटी र त्यसको १० वर्षपछि कारमा चढ्न सक्ने हैसियत निर्माण गर्न सकिन्छ कि भन्ने हो ।

अहिले हामीले एउटा महिलालाई पाँच लाख रकम दियौँ भने अबको पाँच वर्ष पछाडि १ करोड रकम कमाउन सक्दैनन् त ? सम्भव छ, मेहनत भयो भने ।

दलित लक्षित कार्यक्रम लगायतका कार्यक्रमहरुले आयस्रोत वृद्धि गर्ने कुरामा हामीले प्राथमिकता राख्यौं । छोरीका नाममा बैंक खाता लगायतका महत्वपूर्ण काम हामीले गरेका छौं । यस्ता खालका कार्यक्रमलाई प्रभावकारी बनाउन सक्यौँं भने आर्थिक स्रोतमा वृद्धि गर्न सकिन्छ ।

कुनै परिर्वतन भएको छैन भन्ने होइन । हिजो मासु खान दसैँ पर्खनेहरू आज केही नभए पनि जतिबेला पनि मासु खान्छन् । त्यत्रो पैसा गाउँमा, जनताको पकेटमा पुग्यो । त्यसैले परिवर्तनमा ठुलो सुधार आएको छ । तर, जनताका चाहना र सपना ठुल्ठुला छन् । ती सपना पूरा गर्नका लागि केही समय लाग्छ ।

तपाईं भन्ने गर्नुहुन्छ, कर्णाली भनेको सुनको टुक्रा हो । सुनको टुक्रालाई सिरानीमा राखेर कर्णालीका युवाहरुले नुनको खोजी गर्ने अवस्थाचाहिँ कहिले अन्त्य हुन्छ नि ? तपाईंं  मुख्यमन्त्री बन्दै गर्दा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ भन्ने नारा तय गरेर अघि बढ्नुभयो । यो नाराले कत्तिको सार्थकता पाएको ठान्नुहुन्छ ?

तीन वर्ष अघिको कर्णाली र अहिलेको कर्णालीको अवस्थालाई मूल्याङ्कन गर्नुपर्छ । हिजोको तुलनामा अहिले जनताको जीवनस्तरमा परिवर्तन आएको छ । तर, त्यत्तिले पुग्दैन, असीमित आवश्यकता पूरा गर्नका लागि त पुँजीवादी व्यवस्था चाहियो । कुरा स्वाभाविकचाहिँ हो ।

आवश्यकता पूँजीवादी व्यवस्थामा असीमित हुन्छन् । यद्यपि, आधारभूत आवश्यकताको व्यवस्था राज्यको तर्फबाट गर्नुपर्छ । त्यो भन्दा माथि जानका लागि त निजी क्षेत्र, स्वयम् त्यो व्यक्तिले श्रम त गर्नुप-यो नि ! वातावरण त राज्यले बनाउँछ ।

अल्पमतमा परेको सरकारलाई बहुमतसिद्ध गर्नु मेरो दायित्व नै थियो । त्यसपछि मैले एमालेभित्रकै सांसदहरुसँग कुरा गरेँ । त्यसपछि चारजना सांसद ‘फ्लोरक्रस’ गर्न तयार हुनुभयो । मतदान गर्नुभयो । नेपाली काँग्रेससँग छलफल गरेँ । ऊ पनि तयार भयो ।

हाम्रो मानसिकता के छ भने खाली मजदुर बन्ने । काम गर्ने अनि ज्याला लिने । हाम्रो चेतना मालिक बन्ने नै छैन । मानौं एउटा बाख्रा फार्म खोलौँ, त्यो मालिक हो । काम गर्ने मजदुर त बाहिरबाट ल्याउनुप-यो नि !

यो भनिरहँदा लामो समयसम्म संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका एजेण्डाका लागि तपाईंहरुले संघर्ष गर्नुभयो । अहिले प्रदेश सरकारको नेतृत्वमा हुनुहुन्छ । ती एजेण्डाहरुलाई कति सार्थक अवस्थामा लैजान सकियो भन्ने ठान्नुहुन्छ नि ?

यसमा के छ भने हामी संविधान कार्यान्वयनको चरणमै छौं । पुर्ण रुपमा लागु गर्न चाहिँ केही समय लाग्छ । जहाँसम्म लाग्छ, अहिले संविधानमा जे व्यवस्था छन्, ती व्यवस्थाहरु अक्षरशः लागु भइरहेका छन् ।

अब, वर्तमान राजनीतिक परिदृश्य तर्फ लागौं । लुम्बिनी, गण्डकी प्रदेशमा सरकार परिवर्तन भइसकेको छ, तर कर्णाली प्रदेशमा सुरुदेखि नै तपाईं नेतृत्वको सरकार संकटमा रहेको मानिए पनि यो प्रदेशमा राजनीतिक स्थिरता कायम नै रह्यो, तपाईंको विचारमा यसको कारक के हो ?

मुख्यगरी माओवादी पार्टीप्रति जनताको विश्वास छ । परिवर्तनको मुख्य नेतृत्व गर्न सक्ने भनेकै माओवादी पार्टीले हो । यही पार्टीका कारण मुलुकमा गणतन्त्र आएको छ ।

संघीयता, समावेशीता लगायतका प्रमुख एजेण्डा भनेकै माओवादीका हुन् । अहिले अन्य पार्टीले भन्लान् तर, स्वच्छ आँखाले हेर्ने हो भने एजेण्डा सबै माओवादीकै हुन् । विश्वास छ ।

र, अन्य राजनीतिक दलहरु पनि के कुरामा विश्वस्त छन् भने माओवादीसँग एउटा विचार र राजनीतिक एजेण्डा छ । त्यो भएर उसको भविष्य छ भन्ने बुझेका छन् । अन्य पार्टीको खाली चुनावमात्र, सरकारमा जाने, राज्यसँग भएको स्रोत, साधनको प्रयोग गर्ने । त्यो भन्दा अलग धारणा, विचार के हो ? भनेर सोध्दा उनीहरु थाहै पाउँदैनन् । एउटा कुरा त्यो हो ।

दोस्रो कुराचाहिँ हामी कर्णालीमा निकै कमजोर अवस्थामा थियौं । एकल सरकार एमालेको बन्थ्यो । बीचमा मलाई नै जानकारी नगराईकन एमाले संसदीय दलको नेता (यामलाल कँडेल)ले समर्थन फिर्ता लिनुभयो ।

अब, अल्पमतमा परेको सरकारलाई बहुमतसिद्ध गर्नु मेरो दायित्व नै थियो । त्यसपछि मैले एमालेभित्रकै सांसदहरुसँग कुरा गरेँ । त्यसपछि चारजना सांसद ‘फ्लोरक्रस’ गर्न तयार हुनुभयो । मतदान गर्नुभयो । नेपाली काँग्रेससँग छलफल गरेँ । ऊ पनि तयार भयो ।

केन्द्रमा केपी ओलीको प्रतिगमनकारी कदम तीव्र रुपमा चलिरहेको थियो । त्यसैले पनि वातावरण ‘पोजेटिभ’ बन्यो । यथार्थमा भन्दा केपी ओलीकै कारण मलाई यहाँसम्म टिक्ने वातावरण बनेको हो ।

अर्को कुरा, एमालेभित्रकै सांसदले विद्रोह गर्ने स्थिति सिर्जना भयो र काँग्रेस पनि माओवादीसँग मिल्नुको विकल्प छैन भन्ने कुरा ओलीकै कारण सिर्जना भयो ।

त्यसपछि हामीले कर्णालीबाट सुरु ग–यौँ । यहाँबाट सुरु गर्ने बित्तिकै केन्द्रमा बहस भयो । त्यसपछि माओवादी केन्द्रलाई समर्थन गर्ने भन्ने कुरा राष्ट्रिय ‘लेभल’मा सहमति भयो । यसैले गर्दा नै सहज भएको हो र, नयाँ समीकरणको सरकार कर्णालीमा बन्यो, केन्द्रमा पनि यसैगरी बन्यो । त्यसपछि अन्य प्रदेशमा पनि बन्दैछ ।

मलाई कुनै पनि व्यक्तिगत फाईदा चाहिएको छैन । हिजो कुनै समय मेरो टाउकोमा घन बाँधेर खुकुरीको धारमा मेसिनगनहरु थिए । मृत्युको बाटोमा थिएँ । मृत्युको बाटो लेख्या मान्छे । जनताको सुख, समृद्धिका लागि मैले जस्तोसुकै यातना सहन किन नपरोस्, चाहे मैले मृत्यु रोज्न किन नपरोस्, मेरो कारणले जनताले पानी खान पाउनुपर्छ ।

समीकरणको कुरा गरिरहँदा, कर्णालीको समृद्धिको हलो जोत्ने जिम्मा तपाईंको काँधमा आयो तर, त्यो हलोलाई सही मार्गमा जोत्न सक्नुभएन, समृद्धिको हलो सत्ताको खेलमै अड्कियो भन्दा कसो होला ?

प्रदेशको पहिलो संसद बैठकमा सबै पार्टीका दलका सांसदले के भनेका थिए भने, हाम्रो प्रतिपक्ष भनेको अविकास हो । यहाँको गरिबी हो । हामी सबै सत्तापक्ष हौं भन्ने विचार थियो । जुन, विचार भाषणमा व्यक्त गर्नुभयो, त्यो विचार कार्यान्वयनमा उल्टो गर्नुभयो । ‘डे वान’ देखिनै सत्तापक्षकै सांसदहरु (नेकपा तत्कालीन) सपोर्ट गर्नेभन्दा पनि असहयोग गर्ने बाटोमा लाग्नुभयो । केही साथीहरुका कारण सत्ताभित्रै समस्या भयो । अहिले अझ, प्रतिपक्ष कडा ढङ्गले आएको छ । बजेटै पास गर्न दिएन ।

त्यो नियत भनेको सरकारलाई असहयोग गर्ने हो । उहाँका (एमालेका) आफ्ना मुद्दा थिए होलान् । चारजना सांसदले ‘फ्लोरक्रस’ गर्नुभयो । आक्रोश थियो, आवेग थियो । त्यो त ‘पोलिटिकल’ कुरा हो । ‘हाम्रा सांसद लिनुभयो । कब्जै गरेर लिनुभयो’ भन्ने भए–नभएका आरोप लगाउने उहाँहरुको नियति थियो ।

मान्छे निर्जीव चिज हो र ? कुनै ढुङ्गो, धातु त होइन नि !  उठाएर लिने । मान्छे हुन्, कोही चोरेर चोरिन्छ ? न कोही गुजारिएर गुज्रिन्छ । लामो राजनीतिक पृष्ठ छ । मेरा सांसद फिर्ता नगरेसम्म संसद अगाडि बढ्नै दिँदैनौं भनेर प्रतिपक्ष निकै कस्सियो । ठिक छ, त्यो छलफल गरौंला, पहिला बजेट पास गरौं भन्दा मानेनन् ।

मलाई हिनताबोध चाहिँ के कुरामा छैन भने असहयोगको बाबजुद पनि, यति ठुलो चुनौती ममा हुँदा पनि, सारा मेरा विरुद्धमा उभिँदा, महेन्द्रबहादुर शाहीलाई कसरी सिध्याउने ? भन्ने अभियानमा लाग्दा–लाग्दै पनि मैले कर्णाली प्रदेशलाई यहाँसम्म ल्याउनु भनेको मेरो लागि धेरै राम्रो, भाग्यको कुरा हो । मैले यसलाई गर्व ठानेको छु ।  

मैले भन्दै आएको छु, मलाई कुनै पनि व्यक्तिगत फाईदा चाहिएको छैन । हिजो कुनै समय मेरो टाउकोमा घन बाँधेर खुकुरीको धारमा मेसिनगनहरु थिए । मृत्युको बाटोमा थिएँ । मृत्युको बाटो लेख्या मान्छे । जनताको सुख, समृद्धिका लागि मैले जस्तोसुकै यातना सहन किन नपरोस्, चाहे मैले मृत्यु रोज्न किन नपरोस्, मेरो कारणले जनताले पानी खान पाउनुपर्छ । औषधि खानुपर्छ । स्कुल जानुपर्छ । नयाँ लुगा लगाउन पाउनुपर्छ, भारी बोकेर हिँड्नेहरु गाडी चढेर घर जान पाउनुपर्छ, अँध्यारोबाट उज्यालोतिर लाग्नुपर्छ भनेर लागिरहेँ । म जनताका लागि जन्मिएको हो ।

यही उद्देश्यका साथ अगाडि बढ्नुपर्छ भन्ने तरिकाले अघि बढिरहेको छु । म कसैबाट डराएको छैन । म निर्धक्कका साथ विवेकको प्रयोग गरेर हरेक चुनौती सामाना गरेर निरन्तर आफ्नो यात्रामा अघि बढिरहेको छु । यात्रा बदलिएको पनि छैन ।

यही कुरा गरिरहँदा, कर्णालीमा मुख्यमन्त्री परिर्वतन हुने हल्ला जारी छ । भन्नुको तात्पर्य, कार्तिक ५ गतेचाहिँ तपाईंले काँग्रेस नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ रे । के यस्तो सहमति भएको हो ?

हिजो (वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा काँग्रेससँग सम्झौता गर्दैगर्दा) राष्ट्रिय समीकरण बनेको थिएन । चारवटा पार्टीको जो गठबन्धन बन्यो, त्यो त्यतिबेला थिएन । यहाँमात्र गठबन्धन गरेका थियौं । तर, अहिले राष्ट्रिय राजनीति बदलिएको छ ।

माओवादी पार्टीले नै पाउने भए पनि अर्को कोही कमरेडले चलाउँछ भने चलाओस् !  म तयार छु । मैले के गरेँ र मेरो क्षमता के हो भन्ने कुरा दुनियाँले चिनिसके, बुझिसके । जति वर्ष म भए पनि आखिर त्यही त हो नि....!

अर्को कुरा, प्रदेश सरकारहरुका बारेमा पनि छलफल चल्दै छ । अब, नेपाली काँग्रेसले कतिवटा प्रदेश लिने, अन्य दलले कुन प्रदेश लिने भन्ने कुरा केन्द्रमा भइरहेको छ ।

त्यसो हुँदा कर्णाली प्रदेशमा माओवादीले नलिने भन्ने भयो भने अन्य कुनै दलको भागमा पर्नसक्छ । जसको भागमा पर्छ, बाँकी नेतृत्व कर्णाली प्रदेशको नेतृत्व उसैले गर्छ । यो हामीले टुङ्ग्याउने होइन, हाम्रो हातमा रहेन ।

भन्न खोजेको तपाईंंहरुको सम्झौताको अब अर्थ छैन ?

त्यो त अब, माथिल्लो कमिटीबाट निर्देशित हुने न हो । हिजोदेखि त्यसरी नै चलिआएको हो । हामी निर्देशन कुरिरहेका छौं । माथिको गठबन्धनको निर्णयको पर्खाइमा छौं । त्यही निर्णय कार्यान्वयन गर्ने हो ।

फेरि महेन्द्रबहादुर शाहीलाई घात गरेको आरोप लाग्ला नि ?

मैले छोड्दै छोड्दैन भनेपछि अर्कै कुुरा रहन्छ । मैले त छोड्छु भनेकै छु त !

माओवादी पार्टीले नै पाउने भए पनि अर्को कोही कमरेडले चलाउँछ भने चलाओस् !  म तयार छु । मैले के गरेँ र मेरो क्षमता के हो भन्ने कुरा दुनियाँले चिनिसके, बुझिसके । जति वर्ष म भए पनि आखिर त्यही त हो नि....!

पूरा कार्यकाल म नै मुख्यमन्त्री बन्नुपर्छ भन्ने पक्षमा छैन ।

तपाईंको नेतृत्वमा रहेको सरकारका केही मन्त्रीमाथि विभिन्न प्रश्न उठ्ने गरेको छ, त्यसलाई कसरी हेर्नुभएको छ ?

मुख्य कुरा के हो भन्दा केही घटनाहरु हिजो पनि भए । ती घटनाहरु कानुनसम्मत् थिए । तर, जुन अहिले कुर्मराज शाही (भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री) को बारेमा कुरा उठिरहेको छ । उहाँलाई बलात्कारको आरोप लाग्यो । तर, स्वयं व्यक्तिले मलाई बलात्कार भएको छैन भनेर पत्रकार सम्मेलन गर्नुभएको छ ।

यी सबै कुरा केटाकेटी खेल्याजस्तो भए  । अहिले बर्खास्त गर्नका लागि मैले कि त कृषिमन्त्रीविरुद्ध प्रहरीकहाँ मुद्दा दर्ता भएको हुनुपर्छ । बयानका लागि प्रहरीले झिकाएको हुनुपर्छ । अभियुक्त भईसकेपछि सरकारले १ मिनेट पनि राख्दैन । बर्खास्त गर्छ । तर, अहिले अभियुक्त चाहिँ भएको छैन । खाली नैतिक प्रश्नमात्रै हो । त्यो त स्वंय व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिने कुरा हो । यसमा कुनै कानुनी कारवाहीको आधार हामीसँग छैन ।

अब, प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन चल्न नदिने रणनीति अपनाएको देखिन्छ, सदन चल्न नसकेको अवस्थामा सरकार कसरी अघि बढ्छ ?

  —अहिले अधिवेशन बोलाउनेबारे छलफल भइरहेको छ । अहिले सरकारले सदनलाई विजनेश दिन सक्दैन । पहिला हामीले विजनेश तयार पार्छौँ । त्यसपछि यो बारेमा सोचौँला ।

सुरुमा तपाईंले कर्णालीको अर्गानिक बस्तुलाई विश्वबजारमा पु-याउने भनेर भन्नुहुन्थ्यो । यस दिशामा के उपलब्धि भयो ?

—अहिले कर्णाली प्रदेशको अदुवा युरोप गइरहेको छ । जति उत्पादन हुन्छ, सबैको बजारीकरण भइरहेको छ । स्याउ, मार्सी चामल पनि बाहिर बजारमा गएको छ । बरु, जति डिमाण्ड भएको छ, त्यो उत्पादन हुन सकिरहेको छैन । बरु, त्यतातिर ध्यान दिनुपर्छ ।

भिडियो :

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।