बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मान्छेको ज्यान लिने ‘पासो’ बेचेर करोड कमाउने अन्धविश्वासले निम्त्याएको अपराध

दोस्रो टार्गेटमा थिइन् कमला
आइतबार, २४ असोज २०७८, १६ : २७
आइतबार, २४ असोज २०७८

ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा टहरामा बस्थिन्, कमला तामाङ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला लामो समयदेखि पतिसँग अलग थिइन् भने टहरोसँगैको जग्गामा उनको तरकारी खेती थियो ।  पेट पाल्न मजदुरी पनि गर्थिन् । छोरा छोरी ठुला भैसकेका छन् । तर, उनी एक्लै बस्थिन् ।

भदौ २५ गते बिहान उनी मृत फेला परिन् । मजदुरी गर्दा चिनजान भएका २० वर्षीय सुमन मगरसहित ३ जना मिलेर कमलाको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । हत्या आरोपमा प्रहरीले मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगरलाई पक्राउ गरेको छ ।

‘पासो’ बेचेर कमाउने अन्धविश्वास

सविन प्रजाले कसैको मुखबाट यस्तो कुरा सुने, ‘मान्छे झुण्डिएको वा मारेको डोरी करोडमा बिक्छ, त्यस्तो डोरी ऐनामा देखिँदैन ।’ चट्याङ परेको ढुंगा र दाहिने शंख समेत करोडमा बिक्ने सुनेपछि मकवानपुर घर भएका २३ वर्षीय सविनले सो कुरा सुमन मगरसँग सेयर गरे । उनीहरु हरिसिद्धिमा डेरामा बस्थे ।

मोरङ शनिश्चरे घर भएका २० वर्षका सुमनसँग गरेको कुरा सविनकी पत्नी प्रविना माझीले पनि सुनेकी थिइन् । पैसाको अभाव थियो, उनीहरुले डोरीले घाँटी कसेर मान्छे मार्ने योजना बनाए । उनीहरु ‘पासो बिक्छ’ भन्ने अन्धविश्वासमा थिए । ‘सविनकी पत्नीसहित ३ जना बसेर उनीहरुले मान्छे मार्ने योजना बनाएका थिए,’ एसएसपी खापुङले भने, ‘हत्यापछि ‘पासो’ बेच्ने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ ।’ उनीहरुको पहिलो टार्गेट थिए, ‘सडकमा भेटिने जँड्याहा ।’ केहिदिन उनीहरुले सडकमा मातेर हिँड्ने मान्छेका निगरानी गरे तर, फेला परेनन् ।

सुमन र सविन भदौ २३ मा कमला तामाङ ‘पातली’को टहरोमा पुग्छन् । कमला र सुमनबीच राम्रो सम्बन्ध थियो । सुमन उनको टहरामाई बेला बेला जाने र मादक पदार्थ खाने गरेको कुरा सविनले कमलाको टहरामा पुगेको दिन थाहा पाए । सल्लाह गरेर कमलालाई उनीहरुले दोस्रो निशाना बनाउने योजना बनाए ।

घाँटी कसेर हत्या

भदौ २४ मा दिउँसो ४ बजे सविनले सुमन मगरलाई फोन गरेर हरिसिद्धिस्थित आफ्नो कोठामा बोलाए । ‘पासो’ बेचेर कमाउने योजनाका बारेमा छलफल गरेर उनीहरुले कमलाको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमनले सविन पत्नी प्रविनाको मोबाइलबाट फोन गरेर कमलालाई भने, ‘हामी आउँछौं रक्सी र मासु ल्याउनु है ।’

इनारमा पानी निकाल्न राखिएको नाइलनको डोरी ३ फिट लिएर सुमन र सविन साँझ साढे ६ बजे कमलाको टहरामा पुग्छन् । छुट्टै बस्ने कमलाको छोरा खान खानेगरी आउन लागेका थिए । खाना खाएर ‘छोरा गएपछि आउनु’ भनेर कमलाले दुवैलाई बाहिर पठाइन् । राति ९ बजे उनीहरु फेरि टहरामा गए ।

सुमन, सविन र कमलाले सँगै बसेर रक्सी पिए । मदिरा पिउँदा कानेखुसी गरिरहेको तर, कमलाले थाहा पाइनन् । सविन र सुमन भुइँमा, कमला खाटनमा सुतिन् । कमला र सुमनको बीचमा शारीरिक सम्बन्ध समेत भएको अनुसन्धानबाट खुलेको छ ।

शारीरिक सम्बन्धकै क्रममा सुमनले सलले कमलाको हात र खुट्टा बाँधिदिए । सविनलाई कमलाको घाँटीमा डोरीले कस्न लगाए । सुमनले कमलाको गोडा च्यापे, मुख थुने । हत्यापछि नाइलनको डोरी ‘पासो’, गहना र कमलाको मोबाइल लिएर उनीहरु सविन प्रजाको कोठामा गएको अनुसन्धानबाट खुलेको छ । यस्तै मोबाइलको सिमकार्ड बाटोमा फालिदिए ।  भोलिपल्ट नुहाई धुवाई गरेर ‘पासो’लाई पुजा गरे । उनीहरुले सुनेका थिए–‘मान्छेको ज्यान लिएको पासो ऐनामा देखिँदैन ।’ तर, ऐनामा पासो देखियो ।

त्यसपछि, उनीहरुले सो पासो कुलोमा लगेर फ्याँकिदिए । कमलाको हत्या गरेर फुकालेर लगेको गहना पनि नक्कली भएको थाहा पाएपछि फालिदिए । सविन पत्नी प्रविनासँगै मकवापनुरतिर भागे । मकवानपुरको राङसिराङ गाउँपालिका–५ प्याङचे टोल घर भएका उनीहरुलाई अपराध महाशाखाको टोलीले मनहरीबाट पक्राउ गरेको थियो । सुमन ललितपुरबाटै पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप