शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एक भएमा कसैले हराउन सक्दैन : सभापति देउवा

आइतबार, २४ असोज २०७८, १८ : ४५
आइतबार, २४ असोज २०७८

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए । पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातान्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । जित हारपछि पनि जित्ने मातिन नहुने र हार्ने आत्तिन नहुने उल्लेख गर्दै उनले पार्टीमा एकता र सद्भाव जरुरी रहेको बताए ।

प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीमा लामो समयसम्म योगदान गरेको र उनले पार्टीबाट लिनेभन्दा पनि दिने काम गरेको भन्दै सभापति देउवाले आचार्यको योगदानलाई पार्टीले सधैँ सम्मान गर्ने धारणा राखे । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उनले यहाँ धेरै सम्भावना रहेको र कोरोनाका कारण अहिले केही प्रभावित पारेको बताए । कोरोना क्रमशः नियन्त्रण हुँदै गएको र बेलायतले पनि नेपालीलाई भिसा दिने निर्णय गरेको उनले बताए ।

 गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश जटिल मोडमा रहेको काँग्रेसको नेतृत्व आवश्यक हुने गरेको बताउँदै इतिहासले पुनः काँग्रेसमाथि जिम्मेवारी प्रदान गरेको बताए । कास्की काँग्रेसका सभापति कृष्ण केसीले निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई प्राप्त जिम्मेवारीलाई गम्भीरताका साथ लिँदै देश र जनताका काममा क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा सभापति देउवाले प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरे । प्रजातन्त्र सेनानी आचार्यले नेपाली काँग्रेस पोखरा–७ एकाइका लागि रु ५० लाख सहयोग हस्तान्तरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप