शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाकारको दसैँ योजना : गाउँ फर्कनेदेखि गान्तोक घुम्नेसम्म !

मङ्गलबार, २६ असोज २०७८, ०७ : २०
मङ्गलबार, २६ असोज २०७८

नेपालीको महान् चाड दसैँ घरआँगनमा भित्रिसकेको छ । गत बर्ष कोरोनाको त्रासका बीच दसैँ सेलिब्रेसन गरेका हामीले यो बर्ष भने केही राहत महसुस गर्न पाएका छौं । यतिबेला कलाकारदेखि सर्वसाधारसम्मलाई दसैँको माहोलले छोएको छ ।

दसैँको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न पाइन्छ । यस्तै सक्रियता कलाकारहरुमा पनि देखिएको छ । कोही कलाकारले यो दसैँमा घुम्ने मुडमा बनाएका छन्, भने कोही आफ्नो जिल्ला फर्किएर आफन्तसँग दसैँ मनाउने सुरसार छ । ​केहीकलाकारहरुले योपटकको दसैँ आफ्ना लागि विषेश हुने बताउँदा कतिपयको भने हल्काफुल्कामै बिदा गर्ने मुड रहेको छ । कलाकारको दसैँ योजना उनीहरूकै शब्दमा ।

जीतु नेपाल (हास्य कलाकार)

दसैँको खासै योजना छैन । घर परिवारसँगै मनाउछु । घरमा आमा र दाजु भाउजूहरुसँग टीका थाप्छु । ससुरालीमा सासुआमा र बाहिर केही आफन्त, साथीभाइका बुबाआमाको हातबाट टीका थाप्छु । हल्ला खानपिन, पिङ खेल्नेलगायतका क्रियाकलाप गर्छु ।

दुर्गा पूजा र ठूलाको हातबाट टीका थाप्ने कुरो दसैँको मनपर्ने पक्ष हो । दसैँ आफ्नो गच्छेअनुसार मनाउन, स्वस्थ र सर्तक रहन अनुरोध सबैमा गरें ।

भरतमणि पौडेल (कमेडियन)

दसैँ सानोबेलाको जस्तो अचेल रमाइलो त लाग्दैन । तर, साथीभाइ, छिमेकी, आफन्त भेटेर आर्शिवाद लिन पाउँदा विषेश लाग्छ । ताप्लेजुङको घरमा गएर गतबर्ष झै दसैँ बनाउने योजना छ ।

दसैँका लागि भनेर सपिङ नगरेको ७ बर्ष भयो, यो बर्ष पनि गर्दिनँ । ड्याडी, ममी र आफन्तको हातबाट टीका थापेर आर्शिवाद लिनेछु । आफन्तका लागि म बिचराले के दिन सक्छु र ।

पिङ खेल्छु । घरपरिवारसँग तास खेल्छु । हार्नेले काठमाडौं फर्किने टिकट दिने र मैले हारे जाडोको ज्याकेट किन्ने सर्त तासमा राख्छु । मापसे गर्दिनँ ।

देवीका बन्दना (गायिका)

यो दसँै सधैँझै आफ्नो गृहनगर बुटवलमा मनाउँदैछु । काठमाडौँमा बिभिन्न कार्यक्रम सकेर दसैँका भर्खर बुटवल आएँ । कोरोनाको कारणले गतबर्ष झंै योपटक पनि दसैँको टीका थाप्न आफन्तकहाँ नजाने निर्णय गरेका छौं हामी परिवारले । आफ्ना दाजुभाउजूको हातबाट भने टीका थाप्छु, आर्शिर्वाद लिन्छु ।

बच्चा, परिवारका लागि कपडा किनिदिएकी छु । आमा, दिदी, भाउजूलाई पनि गिफ्ट दिन्छु । मलाई खाना पकाउन मनपर्छ । मासुका परिकार बनाउन मनपर्छ । विभिन्न परिकार बनाएर आफन्तलाई खुवाउँछु ।

आँचल शर्मा (अभिनेत्री)

बर्षमा एकपटक आउने र यसको कारणले सबै परिवार, आफन्त भेट हुने भएकाले दसैँ एकदमै मनपर्छ मलाई । योपटक जूठो परेकाले हाम्रो घरमा दसैँ छैन ।

सुलेमान शंकर ‘इकु’

दसैँको अवसर पारेर दर्शकका लागि ‘इकुपिताङ’ सिरियल लिएर आउँदैछु । आश्रमले गर्दा १६ जना छोराछोरीको बुबा भएको छु । उनीहरुका लागि सपिङ गर्नेदेखि उनीहरुसँग रमाएर दसैँ बनाउने योजना छ । सबै आफन्तको सर्पोट पाएको छु । कोरोनाले गर्दा आफन्त, साथीभाई कम भेट्छु ।

अनु शाह (अभिनेत्री)

दसैँ अहिले भन्दा पहिले रमाइलो लाग्थ्यो । अहिले तिहार मनपर्छ । योपटकको दसैँ काठमाडौँमै मनाउँछु । बुबाआमा, काकाकाकीको हातबाट टिका थाप्छु । आफन्त कसैकोमा पनि नजाने सोच छ । मासुका परिकार घरमै बनाएर खान्छु । परिवारसँग रमाइलो गर्छु । परिवकारका लागि गिफ्ट दिन्छु ।

शिव शंकर रिजाल ‘जोगिन्दर’ (हास्य कलाकार)

दसैँ आमा र मामा भएको ठाउँमा गएर मनाउँछु । गत बर्ष कोरोनाले दसैँ राम्रो भएन । योपटक धुमधामसँग मनाउने विचार छ ।

नवल खड्का (अभिनेता)

दसैँका लागि बिराटनगर आएको छु । अग्रजसँग टीका थाप्दै आशिर्वाद लिने, बर्षाैदेखि भेट नभएका आफन्तजनसँग भेटघाट गर्ने, परिवारसँग रमाइलो गर्ने नै मेरो दसैँ योजना रहेको छ । दसैँका लागि भनेर आफ्ना लागि केही किन्दिनँ । छोरीहरुका लागि किनिदिन्छु ।

डा.डीआर उपाध्याय (गीतकार)

दसैँ आउँदा हृदयमा उमंग छाउँछ । योपटकको दसैँको समय आफन्तसँग भेटघाट र सुमधुर सम्बन्धका लागि खर्चिन्छु । दिनरात लेखन कार्यक्रममा ब्यस्त रहने सोच छ । फेरि १६ विश्व रेकर्डको तयारी दसैँमा सक्नेछु । सादा भोजन लिन्छु ।

सन्तोष लोहनी (निर्देशक)

दसैँको योजना त्यस्तो केही छैन । परिवारसँग रमाएर बिताउने विचार छ । बच्चाहरुका लागि सपिङ गर्दिन्छु । आफन्तको हातबाट टीका थाप्ने, आर्शिवाद लिने र आफूभन्दा सानोलाई टीका लगाएर आर्शिवाद दिन्छु । एक टेलिभिजन कार्यक्रम ल्याउँदैछु । त्यसका लागि होमवर्क, अध्ययन र केही लेखन गर्ने योजना पनि छ ।

उत्तम केसी (कलाकार)

दसैँ भन्ने पर्वले नेपालीलाई उमंगको वर्षा छ । विभिन्न कारणले बर्ष दिन बाहिर रहेका आफन्तलाई दसैँले भेट गराउँछ । असत्यमाथि सत्यको विजयी उत्सवका रुपमा मनाउने गरिएको यो पर्व मलाई एकदमै रमाइलो लाग्छ । गत बर्षको तुलनामा यो बर्ष कोरोनाको प्रभाव कम भएकाले पनि दसैँ रमाइलो लागेको छ ।

दसैँका लागि म केही सपिङ गर्दिनँ । ठूलाबडाको हातबाट टीका थाप्दै आर्शिवाद लिन्छु । यो दसैँ म शाकाहारी खानामा मनाउँछु, मदिरा रहित । अन्य विषेश योजना केही छैन ।

राजु सिंह (संगीतकार)

दसैँ मेरो मनपर्ने पर्वमध्येको एक हो । हरेक बर्ष यो समय मलाई बालापनको दसैँको याद आउँछ । काठमाडौँको घरमै रहेर यो पटकको दसैँ आफन्तसँग मनाउँदैछु । भ्याएसम्म घरपरिवार, आफन्त, मामाघर, ससुरालीमा टीका थापेर आर्शिवाद थाप्छु । घरमा बसेर टीभीमा फुटबल हेर्छु ।

नविन पौडेल (गायक)

अघिल्लो बर्ष कोरोना र त्यस अगाडिका बर्ष सांगीतिक कार्यक्रमले विदेशका कार्यक्रममा ब्यस्त रहन परेकाले मैले परिवारसँग दसैँ राम्रोसँग मनाउन नपाएको धेरै बर्ष भयो । योपटक जन्मघर पाल्पा जान्छु । केही दिन अगाडि नेपाल सरकारबाट सुप्रबल जनसेवाश्री पाएकाले त्यसको खुसी पनि साथीभाइ, आफन्तसँग साट्नेछु ।

गाउँघरमा पिङ खेल्ने, साथीभाइ भेट्ने, घुम्ने, आफन्तसँग टीका थाप्ने लगायतका काम गर्छु । लङ्गुरबर्जा, कौडा, तास खेल्ने, माछामासु खाने रमाइलो गर्ने योजना छ ।    

लक्ष्मी आचार्य (गायिका)

दसैँ मनपर्छ । कोरोनाले गर्दा अघिल्लो बर्ष मनाइनँ । यो पटकको दसैँमा गाउँ जाने, बुबाआमासँग टीका थाप्ने । पश्चिममा धेरै कार्यक्रम आयोजना भएका छन् । सहभागी हुने योजना  छ ।

सपिङ दसैँमै गर्नुपर्छ भन्ने मलाई लाग्दैन । कलाकार भएकाले अन्य समय सपिङ भइरहन्छ । योपटक घरबाहेक टीका थाप्न कहीँ जान्नँ ।

गोविन्द शाही (निर्माता, नायक)

दसैँ सानैदेखि मनपर्ने पर्व हो । योपटकको दसैँ घरबाट बाहिर घुमघाम गरेर बनाउने विचारमा छु । नेपालगञ्ज, दैलेख जान्छु । कृषि फर्ममा पनि गर्ने विचार छ । कोरोनाले गर्दा धेरै समय घरमा बस्नुपर्यो । दशैको लागि मैले सपिङ गरेको छैन । आफन्तका लागि भने गर्दिएको छु ।

भूमिका गिरी (लोक गायिका)

दसैँमा सपरिवार पोखरा टुरको प्लानिङ गरेका छौं । त्यसपछि दाङमा ८३ बर्षकी हजुरआमा हुनुहुन्छ । त्यहाँ गएर उहाँ र आफन्तको हातबाट टीका थाप्छु । मिठा परिकार खाने, पिङ खेल्ने, चंङ्गा उडाउने योजना छ ।

रवि डंगोल (हास्य कलाकार)

यो पटकको दसैँ काठमाडौँबाट अलि टाढा गएर मनाउने सोच छ । ससुराली, दाजुभाइ, आफन्तकहाँ जान्छु । परिवारका सदस्यलाई दसैँका लागि केही किनिदिन्छु । जुवातास खेल्दिनँ । पहिले हल्का मदिरा लिन्थें । योपटक लिन्नँ । खानपिन साधारण हुनेछ ।

हरिश निरौला (हास्य कलाकार)

दसैँ मेरो मनपर्ने चाड हो । योपटकको दसँैमा साथीहरुसँग सिक्किम (गान्तोक) घुम्न जाने प्लान बनाएको छु । परिवार र आफन्तका लागि सपिङ गर्न बाँकी छ । केही न केही सपिङ गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप